'मेलम्चीको पानी छिट्टै आउँछ'

|

काठमाडौं उपत्यका कंक्रिटको संरचनाले भरिएपछि यहाँ रहेका पानीको मुहान सुक्दै गएको छ। जमिनमुनि रहेको पानी पनि हराउँदै गएको छ। जसका कारण बर्सेनि खानेपानीको अभाव हुँदै गएको छ।

उक्त अभावलाई पूर्ति गर्न सरकारले मेलम्चीबाट खानेपानी ल्याएको थियो। तर‚ गत असार र साउनमा आएको बाढीले आयोजना क्षति पुगी पानी आउन बन्द भएको छ। जसले उपत्यकामा खानेपानीको समस्या ज्यूँका त्यूँ भएको छ।

यस्तै अवस्थामा खानेपानीको व्यवस्थापन भइरहेको छ? कति मात्रामा माग र आपूर्ति भइरहेको छ? कहिलेसम्म समस्या भइरहन्छ? यही विषयमा थाहाखबरकर्मी श्याम राईले काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)का प्रवक्ता प्रकाशकुमार राईसँग गरेको कुराकानीको सम्पादित अंश : 

मेलम्चीको खानेपानी आउन बन्द भएसँगै काठमाडौं उपत्यकामा पानीको कस्तो समस्या छ? कसरी व्यवस्थापन गर्दै हुनुहुन्छ?

काठमाडौं उपत्यकामा दैनिक ४३ करोड लिटर खानेपानीको माग छ। केयुकेएलको दुई लाख ३८ हजार ग्राहक छन्। मेलम्ची खानेपानी आएपछि धेरै सहज भएको थियो। दैनिक १७ करोड लिटर प्राप्त गरेका थियौँ।

त्यहाँको पानी नआउँदा अहिले धेरै समस्या भएको छ। मागअनुसार पानी पुर्‍याउन सकिएको छैन। अहिले सुक्खा सिजन भएकाले विभिन्न स्रोतबाट दैनिक १० देखि ११ करोड लिटर मात्र आपूर्ति गर्न सकिएको छ। त्यसैले हामीले तीनदेखि १२ दिनसम्म ग्यापमा पानी वितरण गर्ने गरेका छौँ। 

केयुकेएलले कुन कुन स्रोतबाट पानी आपूर्ति गरिरहेको छ?

अहिले कुवा र खोलासँगै भूमिगत पानीलाई बढी जोड दिएका छौँ। यही वर्षमा करिब १० वटा ट्युबवेलको व्यवस्था गर्ने भने पनि पाँच वटाको काम सकाएका छौँ। अन्य बिकल्प पनि खोज्दै छौँ। चालु आर्थिक वर्षमै बाँकी जोडिसक्छौँ।

उपभोक्ताहरूलाई खानेपानीको समस्या भइरहँदा चुहावट भएको देखिन्छ, मर्मतमा बेवास्ता भएको हो?

पुरानो पाइपबाट पानी वितरण गरिएकाले समस्या देखिएको हो। केही पाइप पुराना भएर जीर्ण छन्। त्यहाँबाट पानी चुहावट हुन्छ। मर्मत गर्न कानुनी रुपमा सडक विभागबाट अनुमति लिनुपर्छ। औपचारिक अनुमतिको प्रकृयामा जाँदा मर्मत गर्न ढिलाइ हुन्छ।

सकेसम्म तत्कालै चुहावटको मर्मत गर्ने गरेका छौँ। समन्वय अभाव भएकाले पनि आ–आफ्नै ढंगले सडक खन्ने गरिएको छ। यसले पनि समस्या निम्त्याएको छ। तर‚ पनि हामी समन्वय गर्ने प्रयास गरिरहेका छौँ।

पुरानै पाइपलाइनबाट पानी वितरण गर्दा लेदोजस्ता फोहोर पानी आयो भन्ने गुनासो पनि छ नि?

कतिपय पाइपबाट वर्षौंसम्म पानी आएको थिएन। जिआई पाइप प्रयोग भएको थियो। त्यसको प्रयोग हुँदा मेलम्चीबाट आएको पानी ग्लोरिनले खियासँगै धमिलो देखिएको हो। पहिला त्यस्तो समस्या देखिए पनि मर्मत गरिकाले अहिले हटेको छ। अहिले त त्यस्तो खासै समस्या पाइएको छैन।

मेलम्ची खानेपानी आगामी चैत मसान्तमा उपत्यकामा आउने सम्भावना छ?

मेलम्ची खानेपानी विकास बोर्ड र खानेपानी मन्त्रालयले चैत मसान्तसम्म पानी यहाँ ल्याउन बाढीले क्षति पुगेको मेलम्ची खानेपानीको मर्मत गरिरहेको छ। काम पनि तीब्र रुपमा भएको देखिन्छ। त्यसैले त्यो समयसम्म आउँछ भनेर विश्वस गरौँ।

सरकार, ट्यांकर र जार व्यवसायीको मिलेमतोमा मेलम्ची पानी ल्याउने समय धकेल्ने गरिएको आरोप पनि छ, यसमा के भन्नुहुन्छ?

मलाई त्यस्तो लाग्दैन। मिलोमतोमा पानी रोक्ने सम्भावना नै देखिँदैन। त्यो हल्ला मात्रै हो। पानी ल्याउने काम भइरहेको छ। समग्र जनताको हितका लागि पानी ल्याउने हो।

मेलम्ची खानेपानी चैत मसान्तसम्म अस्थायी रुपमा आए पनि वर्षात् सुरु भएपछि फेरि बन्द गरिने भनिएको छ। त्यो बेला खानेपानीको व्यवस्थापन कसरी हुन्छ?

वर्षात्‌मा पानी आउँछ, आउँदैन भन्ने विषयमा भू-गर्भीय अध्ययन भएपछि मात्रै थाहा हुन्छ। यदि त्यो समयमा खानेपानी उपत्यकामा आएन भने उपत्यका वरिपरिका सबै पानीका स्रोतको उपयोग गर्छौँ। अहिले पनि दक्षिणकालीको शेषनारायण मुहान, भक्तपुरको महादेव खोला, बोडे, सुन्दरीजल, विष्णुमति मुहान, महादेव खोलालगायतबाट पानी जुटाएका छौँ।

त्यसैले बन्द भएमा फेरि यहीँको स्रोतमा निर्भर रहेर चलाउँछौँ। पानी जीवनसँग गाँसिएको चिज हो। त्यसैले कोही पनि उपभोक्ताले दुरुपयोग नगर्नुहोला। सदुपयोग होस् भन्ने अनुरोध गर्छौँ।

उपत्यकाको खानेपानीको मागलाई व्यवस्थापन के गर्नुपर्छ?

सरकार मेलम्ची खानेपानी आयोजनाबाट दैनिक १७ करोड लिटर पानी ल्याउन सफल भएको छ। फेरि पनि यांग्रीको १७ र लार्केखोलाको १७ करोड लिटर पानी ल्याउन पहल गरिरहेको छ। केयुकेएलको व्यवस्थापन बोर्डले यीबाहेक अन्य विकल्पको अध्ययन गर्दैछ।

सिस्नेरी, कुलेखानीको अध्ययन भइरहेको छ। यी ठाउँबाट पानी आएमा उपत्यकाको माग पूरा हुन्छ। यसका लागि सरकार लगायत सबै सरोकारवालाको समन्वय आवश्यक छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.