बोर्ड भन्छ : 'लिक हुने खतरा भएकाले नयाँ छाप्न लागिएको हो'

|

काठमाडौं : राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नयाँ प्रश्नपत्र आगामी शुक्रबारबाट छाप्ने भएको छ। बोर्डले अघिल्लो वर्षको प्रश्नपत्र पुनः प्रयोग गर्ने कि नयाँ छाप्ने भन्ने विषयको लामो अन्योलता  टुङ्ग्याएर नयाँ छाप्ने निर्णय गरेको हो।

प्रश्नपत्र छपाई गर्ने जिम्मा सरकारी स्वामित्वको जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले पाएको छ। लिमिटेडका सूचना अधिकारी चित्रकुमार आचार्यले फागुन २० गतेबाट प्रश्नपत्र छाप्ने जानकारी दिए।

उनका अनुसार सबै विषयका गरी ५५ लाखप्रति प्रश्नपत्र छापिने छ। ‘कडा सुरक्षाको निगरानीमा प्रश्नपत्र छपाई हुन्छ,’उनले भने। 

बोर्डका अध्यक्ष डा.महाश्रम शर्माले कसरी प्रश्नपत्र छपाई गर्ने भन्ने विषयमा आज बोर्डमा छलफल गर्ने बताए। ‘प्रश्नपत्र छपाई भन्ने चिज निकै संवेदनशील कुरा हो, त्यसैले कसरी छाप्ने भन्ने विषयमा छलफल गर्दैछौँ, त्यसपछिमात्र भन्न सकिन्छ,’उनले भने।

दुई पटक छापिएको प्रश्नपत्र प्रयोगविहीन

कोरोना संक्रमणको महामारीका कारण अघिल्ला दुई वर्ष एसइई परीक्षा हुन सकेनन्। तर दुईपटक नै परीक्षाका लागि प्रश्नपत्र भने छापिएको थियो।

वि.सं.२०७६ सालमा छापिएको प्रश्नपत्र कोरोना कारण भौतिक उपस्थितिमा परीक्षा हुन नसकेपछि जलाएर नष्ट गरिसकिएको छ। ०७७ सालका लागि छापिएको प्रश्नपत्र बाँकी छ।

बोर्ड परीक्षा नियन्त्रण कार्यालय (पनिका) का अनुसार भौतिक उपस्थितिमै परीक्षा सञ्चालन गर्ने भनी ०७७ सालमा करिब पाँच लाख प्रश्नपत्र छापिएको थियो। तर,आन्तरिक मूल्यांकनबाटै नतिजा प्रकाशित भएपछि प्रश्नपत्र प्रयोगमा आएन। 

गत वर्षको प्रश्नपत्र छपाइमा करिब दुई करोेड रुपैयाँ खर्च भएको छ। तर,फेरि नयाँ छापिने भएपछि यो प्रश्नपत्र पनि अब प्रयोगविहीन बनेको छ। राज्यलाई व्ययभार मात्रै बढेको छ।

शिक्षाविद् प्रा.डा. सुरेशराज शर्मा प्रश्नपत्र छाप्दै नष्ट गर्दै गर्दा राज्यलाई नै आर्थिक भार थपिने बताउँछन्। उनी भन्छन्,‘प्रश्नपत्र छाप्दै नष्ट गर्दा राज्यलाई नै घाटा हुन्छ,प्रश्नपत्र छापिएपछि लिक हुनुहुँदैन,तर यहाँका मान्छेको प्रवृत्ति बेग्लै छ,अब छाप्दा फेरी खर्च नै हुन्छ।’

अघिल्लो वर्षमा छापिएको प्रश्नपत्र सुरक्षित ढंगले नै नराखिएकोले फेरी छाप्न लागिएको उनको अनुमान छ। ‘पाठ्यक्रममा केही परिवर्तन भएका कारण पनि नयाँ छाप्नुपर्ने बाध्यता पनि आइपर्छ,’उनले भने।

बोर्डका अध्यक्ष डा.शर्मा भने पहिला छापिएका प्रश्नपत्र लिक हुनसक्ने भएकाले नयाँ छाप्ने निर्णय गरिएकाे भनाई राख्छन्। उनका अनुसार पुरानै प्रश्नपत्र प्रयोग गर्दा लिक हुने र पछि परीक्षा विवादमा पर्न सक्ने भएकाले पनि नयाँ छाप्न लागिएको हो।

दुई वर्षपछि भौतिक उपस्थितिमा परीक्षा हुँदै

कोभिड–१९ का कारण दुई वर्षपछि भौतिक उपस्थितिमा एसइई परीक्षा सञ्चालन हुन लागेको छ। कोभिड महामारी फैलिएपछि ०७६ सालको एसइई परीक्षा भौतिक उपस्थितिमा भएन।

विद्यालयले नै मूल्यांकन गरी विद्यार्थीको नम्बर सम्बन्धित शिक्षा विकास तथा समन्वय इकाइमा पठाएर प्रमाणित गरिएको थियो। त्यसपछि बोर्डले नतिजा प्रकाशित गरेको थियो। 

तर, विद्यालयले आफूखुशी बढी नम्बर चढाएको भनी चर्को विरोधसमेत भयो। महामारीको स्थिति सामान्य भएपछि बोर्डले ०७७ को एसइई परीक्षा जेठ १३ गतेदेखि र जेठ २६ गतेदेखि कक्षा–१२ को परीक्षा सञ्चालन गर्ने गरी तालिकासमेत सार्वजनिक गरेको थियो। तर पुनः दोस्रो लहरको कोरोना फैलिएपछि परीक्षा भएन।  आन्तरिक मूल्यांकनबाट नतिजा प्रकाशित भयो। 

यस वर्षको एसइई परीक्षा आगामी वैशाख ९ गतेदेखि २० गतेसम्म सञ्चालन हुने छ। बोर्डका अध्यक्ष शर्माका अनुसार सबै जिल्लामा २ हजार परीक्षा केन्द्र तोकिएको छ। ११ हजारभन्दा बढी विद्यालयबाट करिब ५ लाख परीक्षार्थीले यस वर्षको एसईई परीक्षा दिँदैछन्।

कानुनी रुपमै एसइई परीक्षा प्रदेश सरकारले चलाउन पाउने अधिकार पाएकाले यस वर्षदेखि नै प्रदेश सरकार र बोर्डको समन्वयमा परीक्षा सञ्चालन हुने अध्यक्ष शर्माले बताए।

बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालका अनुसार प्रदेशले उत्तर पुस्तिका परीक्षण,टेबुलेसन, उत्तर पुस्तिका संपरीक्षण गर्नेछ। तर, नतिजा प्रकाशन गर्न भने प्रदेशले बोर्डमा पठाउनुपर्ने र त्यसपछि बोर्डले नतिजा प्रकाशन गर्ने छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.