|

काठमाडौं : निजी तथा आवासीय विद्यालय एसोसिएशन (नेशनल प्याब्सन)को केन्द्रीय अध्यक्षमा सुवास न्यौपानेले उम्मेदवारी घोषणा गरेका छन्। राजधानीमा बुधबार पत्रकार सम्मेलन गरी उनले अध्यक्षमा उठ्ने घोषणा गरेका हुन्।

प्याब्सनको सातौँ राष्ट्रिय महाधिवेशन यही फागुन २२ र २३ गते बाँकेको नेपालगञ्जमा हुँदै छ। चावहिलस्थित एपेक्स लाइफ स्कुलका संस्थापक कार्यकारी निर्देशक न्यौपाने हाल केन्द्रीय प्याब्सनका महासचिव हुन्।

काठमाडौंका  स्थानीय न्यौपानेले आफ्नो १३ बुँदे घोषणापत्र जारी गर्दै निजी विद्यालयको हकहित संरक्षण र यसको संवर्द्धन गर्न अध्यक्षमा उठ्न लागेको बताए। ‘यो राजनीतिक नभई विशुद्ध व्यावसायिक संगठन हो, विद्यार्थीको चौतर्फी विकास हुने शिक्षा प्रणालीको विकास गर्न, विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्ने सक्षम जनशक्ति तयार गर्नमा योगदान दिन अध्यक्षमा उम्मेदवारी दिएको हुँ,’ उनले भने।

उनले प्याब्सनकै केन्द्रीय कार्यालय भवन बनाउने, प्राकृतिक विपद् राहत कोषलाई प्रभावकारी ढंगले व्यवस्थापन गर्नेलगायत घोषणा गरे। अहिलेसम्म अध्यक्षमा कोही नखुलेको बताउँदै उनले सर्वसम्मत रुपमा आफू अध्यक्षमा निर्वाचित हुने अपेक्षा लिएको बताए। ​प्याब्सनका अनुसार देशभर नेशनल प्याब्सनका करिब २ हजार ५ सय सदस्य छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.