सरकारलाई नागरिकको जीवनभन्दा रेमिट्यान्स प्यारो !

|

काठमाडौं :  वैदेशिक रोजगारी प्रायः नेपाली युवाको रोजाइमा पर्ने गरेको छ। स्वदेशमा रोजगारीको अभाव र राजनीतिक अस्थिरताका कारण युवाहरू विदेशिने गरेका छन्।

विदेशिनका लागि काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुग्नेमध्ये प्रायःले खाना‚ नाना र छानाको जोहो गर्ने सपना सजाएका हुन्छन्। नगण्य संख्यामा मात्र रहरले विदेशिने भेटिन्छ।

खाना‚ नाना र छानाको जोहो गर्ने सपना बोकेर विदेश पुगेका कतिपयको जीवन फेरिएको छ। कतिपयको परिवार उजाडिएको छ। कतिको सुन्दर सपनासँगै जीवन विदेशी भूमिमै त्यागेका छन्। त्यस्तै रोजीरोटीको जोहो गर्नका लागि साउदी अरब पुगेका नेपालगञ्जका किशोरकुमार धामीको सपनासँगै जीवन विदेशी भूमिमै टुट्यो। 

परिवारको आर्थिक अवस्था कमजोर रहेका किशोर दुई वर्षअगाडि साउदी अरबका लागि उडेका थिए। नेपाल फर्किन दुई महिना मात्र बाँकी हुँदा उनको मृत्यु भयो। बेलुका खाना खाएर सुतेको छोराको बिहान मृत्युको खबर आएको किशोरका बुवा फागु धामी बताए। मृत्यु भएको तीन महिनापछि केही दिनअगाडि मात्र किशोरको शव बाकसमा फर्किएको थियो। 

त्यस्तै‚ लमजुङका गोविन्दबहादुर थापाको आर्थिक अवस्था कमजोर थियो। नेपालमा बसेर परिवारको पेट भर्न धौधौ पर्न थालेपछि उनी चार वर्षअघि रोजगारीको खोजीमा मलेसिया पुगेका थिए। परिवारको आर्थिक अवस्था सुधार्न विदेश गएका थापाको शव पनि गत असोजमा बाकसमा फर्किए। 

धामी र थापा त प्रतिनिधि पात्र मात्र हुन्। यसरी रोजगारीको खोजीमा विदेशिएका हजारौं युवाको सपना विदेशी भूमिमै ओइलाउने गरेको छ। 

वार्षिक एक हजारको मृत्यु

रोजगारीको खोजीमा विदेशिएका नेपालीमध्ये एक वर्षमा एक हजारभन्दा बढी मृत्यु हुने गरेको वैदेशिक रोजगार बोर्डको तथ्यांकले देखाएको छ। आर्थिक वर्ष २०७७/७८ मा १ हजार २४३ जनाको मृत्यु भएको बोर्डका सूचना अधिकारी दीनबन्धु सुवेदीले जानकारी दिए।

यसरी ज्यान गुमाउने कैयौँ युवाको परिवारले पीडा भोग्दै आएका छन्। रेमिट्यान्समार्फत देशको अर्थतन्त्रका लागि बलियो टेवा दिइरहेका युवाहरूको समस्यामा राज्यले चासो नदेखाएको सरोकारवालाले बताउँदै आएका छन्। राज्यले विमास्थलमा भित्रिने रातो बाकसभन्दा रेमिट्यान्स प्यारो मान्ने गरेको वैदेशिक रोजगार विज्ञ सोम लुइँटेल बताउँछन्।

६ महिनामा ९५७ शव ल्याइयो

वैदेशिक रोजगार बोर्डका अनुसार चालु आर्थिक वर्षको ६ महिनामा ९५७ जनाको शव स्वदेश  ल्याइएको छ। जसमध्ये सबैभन्दा बढी मलेसियाबाट २८८ जनाको शव ल्याइएको छ।

यस्तै, साउदी अरबबाट २३९, कतारबाट १९२, युएईबाट १२० र कुबेतबाट ४० जनाको शव नेपाल ल्याइएको छ। बोर्डका निर्देशक राजनप्रसाद श्रेष्ठका अनुसार विभिन्न देशमा मृत्यु भएका केहीको शव ल्याउन अझै बाँकी छ।

श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका श्रमिकको रोजगारीका क्रममा मृत्यु भए सरकारले मृतकका परिवारलाई सात लाख रुपैयाँ आर्थिक सहायता दिने गरेको छ। त्यस्तै‚ बिमा कम्पनीले १४ लाख रुपैयाँसम्म दिने गरेको बोर्डका सूचना अधिकारी सुवेदीले जानकारी दिए।  उनका अनुसार वैदेशिक रोजगारीमा गएका तर श्रम स्वीकृतिको म्याद सकिएर निधन भएका व्यक्तिका आफन्तलाई भने बोर्डले १० हजार दिँदै आएको छ।

चालु आर्थिक वर्षमा ९५७  परिवारलाई आर्थिक सहायता प्रदान गरेको बोर्डले जनाएको छ। वैदेशिक रोजगारीमा गई अंगभंग भएको, मृत्यु भएकाको परिवारलाई  ५२ करोड रूपैयाँ आर्थिक सहायता वितरण गरिसकेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.