'पर्दाभित्रको हिरो पर्दाबाहिर पनि हिरो नै हुन्छ भन्ने छैन'
'पर्दाभित्रको हिरो पर्दाबाहिर पनि हिरो नै हुन्छ भन्ने छैन'
हेटौडा : यतिबेला नेपालमा नायक पल शाह र एक नाबालिगको सम्बन्धको चर्चा छ।
नायक र नाबालिग गायिका प्रकरणमा कसको कति गल्ती छ? वास्तवमा के भएको थियो? भन्ने विषयमा प्रहरी र अदालतले अनुसन्धान र फैसला गर्ला नै।
यसको विषयमा हामीले आफ्ना तर्क पेश गरेर अदालतको कामलाई प्रभाव पार्नु उचित हुन्छ जस्तो लाग्दैन। तर, अहिलेको यो प्रकरणले एउटा कुरा भने स्पष्ट रुपमा प्रमाणित गरिदिएको छ- त्यो हो हामी र हाम्रो नेपाली समाजको सोच। पढाइमा डिग्री हासिल गरि सुट बुट र चम्केका लुगाभित्र गुम्सिएको हाम्रो नाङ्गो सोच र बुझाइ यो प्रकरणले उदाङ्गो पारिदिएको छ।
हामी पुरुष प्रधान सोचबाट उठ्न सकेका छैनौँ भन्ने एकपटक फेरि हामीले प्रमाणित गरिदिएका छौँ।
हामी प्रहरीको अनुसन्धान र अदालतको फैसलालाई कुर्न सक्दैनौँ बरु आफैँ प्रहरी, वकिल अनि न्यायाधीश बनेर फैसला गरिदिन्छौँ।
हिजो बलात्कृत भएर मारिएका निर्मला पन्त र भागरथी भट्टको न्यायको लागि मैनबत्ती बालेर सडकमा उत्रिएका हामी आज एउटी नाबालिग बलात्कृत भएको प्रमाण खोजिरहेका छौ।
ऊ जिउँदो हुनुले हामीलाई ती बालिका बलात्कृत भएको भन्ने विश्वास दिलाउन सकिरहेको छैन। यदि ऊ पनि निर्मला र भागरथीहरू जस्तै गरी मारिएकी भए हामी यतिबेला सडकमा ‘न्याय दे ’भन्दै नारा लगाइरहेका हुने थियौँ।
तर, अहिलेको यस प्रकरणको ती नाबालिग दुर्भाग्यवश जीवितै छन्। जसले गर्दा उनको लागि न्याय माग्नेभन्दा श्रद्धाञ्जली दिने आवाजहरू घन्किरहेका छन्।
उनको चरित्रमाथि औँला उठाएर अरू कैयौं नाबालिगहरूलाई बलात्कारका घटना दबाएर बस्न चेतावनी दिइरहेका छौँ। अझ कलाकारिताकै नायिका पूजा शर्माले उसको कपडा नच्यातिनुले पनि बलात्कार भएको कुरा स्विकार्न नसकिने अभिव्यक्ति दिएकी छन्। समाजमा शर्मा प्रवृत्तिले थप शर्मनाक अवस्था सिर्जना गरिदिएको छ।
के एउटी नारीले आफ्नो अस्मिता लुटिएको प्रमाण दिन आफ्ना लुगा च्यात्नै पर्ने हो? के समाजबाट सद्भाव पाउनको लागि बलात्कारपछि मारिनु नै पर्ने हो? बलात्कृत भएर मारिएपछि मात्रै उनीहरूको लागि न्याय माग्ने हो? न्याय पाउन जीवनकै आहुति दिनुपर्ने हो?
यतिबेला ती नाबालिग मात्र होइन हामी सबै लुटिएका छौँ। हाम्रो नांगो सोच बलात्कृत भएको छ। हाम्रो घिनलाग्दो बुझाइ र व्यवहार छताछुल्ल भएर पोखिएको छ। पुरुष त त्यस्तै हुन्छन् छोरी मान्छे सम्हालिनुपर्छ भनेर अभिव्यक्ति दिइरहेको सुन्दा मलाई छोरी मान्छे भएर जन्मनु अभिशापभन्दा कम हो जस्तो लाग्दैन। किन सधैँ छोरी मान्छे नै सम्हालिएर हिँड्नुपर्छ?
एउटी बालिकाले सम्हालिएर हिँडिराख्नु पर्दा देश र जगत बुझिसकेको युवाले सम्हालिनु पर्दैन? के उसले छोरी मान्छे नसम्हालिएको भनेर उन्मुक्ति पाउनुपर्छ? पर्दाभित्र देखिएको हिरो पर्दा बाहिर पनि हिरो नै हुन्छ भन्ने कमजोर सोचाइ भएका हामीले नै यस्तो घटना हुन दिइरहेका हौँ।
पुरुष प्रधान समाजका हामी आफूलाई मनपर्ने व्यक्तिको पक्षमा यतिसम्म उभिएका छौँ कि हामीले १७ वर्ष मात्रै भएकी एक बालिकाको सोच्न सक्ने मानसिक अवस्थालाई मापन गर्न सकेका छैनौँ। एक नाबालिगको साटो ३० वर्ष नाघिसकेका व्यक्तिलाई समर्थन गरिरहेको देख्दा मलाई आफैंमाथि लाज लाग्छ। के हामी एउटी १७ वर्षकी बालिका र ३० वर्षीय पुरुषको सोच्न सक्ने अवस्थाको बारेमा कल्पना गर्न नसक्ने भएका हौँ?
यदि होइन भने अहिले हामीले लगाइरहेको लाञ्छनाले ती बालिकामा कस्तो प्रभाव परिरहेको होला? कानुनले १८ वर्षमुनिका लाई नाबालिग भन्नुको अर्थ के हो? हामीले अझै बुझ्न सकेका छैनौँ भने बुझ्ने प्रयास गरौँ। त्यसको लागि धेरै टाढा पनि जान पर्दैन,आफ्नै छोरी र बहिनीहरूलाई हेर्दा हुन्छ।
यो उमेरमा उनीहरू राम्रोसँग सोच्न, विचार गर्न, सही गलत छुट्याउन र निर्णय लिन सक्ने हुँदैनन्। अर्थात् उनीहरू मानसिक रुपमा परिपक्व हुँदैनन्। तर,३० वर्षका युवा शारीरिक, मानसिक र सामाजिक जुनसुकै हिसाबले पनि परिपक्व हुन्छ।
उसले सही र गलत छुट्याउन सक्छ। कुनै दबाब, प्रभाव, लोभ लालच वा जुनसुकै नियतले पनि यदि एउटी नाबालिगले गलत कदम उठाउन खोज्छिन् भने उनलाई रोक्ने र सम्झाउने काम युवाको हो।
त्यसैले यो वा त्यो बहाना गरेर एउटी नाबालिगलाई मानसिक रूपमा तनाव दिएर पीडकलाई उन्मुक्ति दिने प्रयास गर्ने हामी सबै बलात्कारी हौँ।
आफूमाथि भएको गलत कुराको विरुद्धमा बोल्दा उनीमाथि फैलिएको घृणा सहन उनलाई धेरै गाह्रो छ। नाबालिगसँग यौन सम्बन्ध स्थापित गरेका ३० वर्षीय युवाको पक्षमा उभिएर तिम्रा लागि नराम्रा शब्द बोल्नेहरूले यस्तो भोग्न नपरोस्। यो समाजको घृणाको कारण गलत कदम उठाउन नपरोस्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।