|

विराटनगर : दधिराज सुवेदी पुरस्कार प्रतिष्ठानले ‘दधिराज सुवेदी राष्ट्रिय भाषा साहित्य पुरस्कार-२०७८’ भाषाविद् चूडामणि बन्धूलाई र 'दधिराज सुवेदी राष्ट्रिय पत्रकारिता पुरस्कार-२०७८' पत्रकार भूषण दाहाललाई दिने निर्णय गरेको छ।

लामो समयदेखि नेपाली भाषा साहित्यको क्षेत्रमा दिएको योगदानका लागि बन्धूलाई र पत्रकारिताको क्षेत्रमा विशेष योगदान दिएबापत पत्रकार दाहाललाई पुरस्कार दिन लागिएको बताइएको छ।

पुरस्कारको रकम क्रमशः ५१ हजार र २५ हजार राशिका छन्।

यसअघि उक्त पुरस्कार साहित्यकार गोविन्दराज भट्टराई, अभि सुवेदी, माधवप्रसाद पोखरेल, विष्णुविभु घिमिरे र एसपी कोइरालाले पाएका थिए।

त्यसैगरी पत्रकारहरू हरिबहादुर थापा, शिववहादुर कार्की, मोहन भण्डारी र किशोर नेपाललाई प्रदान गरिएको थियो।

समालोचक प्राज्ञ सुवेदीका छोराद्वय शरदराज सुवेदी र रूपकराज सुवेदीले राखेको १५ लाख अक्षय कोषको ब्याजबाट प्रत्येक वर्ष यो पुरस्कार प्रदान गरिन्छ।

प्रतिष्ठानका अध्यक्ष प्राज्ञ विवश पोखरेलको अध्यक्षतामा बसेको कार्यसमितिको बैठकले उक्त निर्णय गरेको हो। पुरस्कार आगामी चैत महिनामा प्रदान गरिनेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.