शिक्षाविद्‍ भन्छन् : पुलिस हुनुपर्ने व्‍यक्ति शिक्षक हुँदा समस्या

|

काठमाडौं : म्याग्दीको बेनीस्थित प्रकाश माविका लेखा विषय पढाउने शिक्षक नवीन घिमिरेले गत शुक्रबार कक्षा–१० मा अध्ययनरत १७ वर्षीय राजन पौडेललाई कुटपिट गरे। पीडित पौडेलका अनुसार बिना कारण शिक्षक घिमिरेले कक्षा कोठामै पाइपले नीलडाम र चोट पर्ने गरी टाउको र ढाडमा पिटेका थिए।

बोल्न र सास फेर्न गाह्रो भएपछि उनलाई शनिबार साँझ बेनी अस्पतालमा लगेर एक्सरे र स्वास्थ्य परीक्षण गरियो। पीडित पौडेलकी दिदी मनकुमारी सुवेदीका अनुसार परीक्षणमा बेनी अस्पतालका चिकित्सकले करङ भाँचिएको पुष्टि गरेर आराम गर्न सल्लाह दिँदै थप औषधि दिएका छन्।

पौडेलका बुबा भीमप्रसाद पौडेलले मर्यादाविपरीत बाल मनोविज्ञानमै असर पर्ने गरी यातना दिने शिक्षक घिमिरेलाई कारबाहीको माग गर्दै विद्यालयमा निवेदन दिइसकेका छन्। 

विभिन्‍न विद्यालयका विद्यार्थीहरू शिक्षकबाट कुटिएका घटनाहरू यसअघि पनि नआउने गरेका होइनन्। शिक्षकको कुटाइबाट कोही विद्यार्थीको टाउको फुटेको छ भने केही विद्यार्थीको कानको जाली फुटेको छ।  त्यति मात्र होइन शिक्षकको कुटाइकै कारण कतिपय विद्यार्थीको मृत्युसमेत भएका घटना छन्।

२०७६ असारमा कञ्चनपुरको भीमदत्त नगरपालिका–१७ स्थित महाकाली बाल विद्यालयको कक्षा–९ मा अध्ययनरत छात्र माधव कलौनीको शिक्षकको कुटाइबाटै मृत्यु भयो। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार शिक्षकको कुटाइबाट गम्भीर बिरामी परेका उनको भारतको भोजीपुरा अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको हो। प्रधानाध्यापक यशोदा जोशी, शिक्षक लक्ष्मण भट्ट, दुर्गादत्त पाठक र हर्क जाग्रीको कुटाइबाट उनको मृत्यु भएको आफन्तको आरोप छ।

२०७५ जेठमा डडेल्धुराको परशुराम नगरपालिका–२ मा रहेको भागेश्वर माध्यमिक विद्यालयमा गणित विषय पढाउने शिक्षक गजेन्द्र अवस्थीले कक्षा–६ मा अध्ययनरत राम कामीमाथि निर्घात कुटपिट गरे। 

कुटपिटबाट १२ वर्षीय राम कामीको टाउकोमा गम्भीर चोट लाग्यो। इलाका प्रहरी कार्यालय, जोगबुढाका अनुसार गृहकार्य नगरेको भन्दै शिक्षक अवस्थीले विद्यार्थीको टाउकोमा स्केलले पिट्दा चोट लागेको थियो। यसरी शिक्षक/शिक्षिकाले कहिले विद्यार्थीलाई कुटपिट गर्ने त कहिले विद्यार्थीको पिसाब गर्ने ठाउँ (लिङ्ग) लाई रबरले बाँधी चरम यातना दिने गरेका घटनासमेत बाहिरिने गरेका छन्।  


संविधान भन्छ : बालबालिकालाई यातना दिन मिल्दैन

नेपालको संविधानको धारा ३९ काे मा बालबालिकासम्बन्धी मौलिक हककाे व्‍यवस्था छ। यस धाराको उपधारा (३) मा प्रत्येक बालबालिकालाई प्रारम्भिक बाल विकास तथा बाल सहभागिताको हक हुने व्यवस्था छ। त्यस्तै, उपधारा (७) मा उल्लेख छ,‘कुनै पनि बालबालिकालाई घर,विद्यालय वा अन्य जुनसुकै स्थान र अवस्थामा शारीरिक,मानसिक वा अन्य कुनै किसिमको यातना दिन पाइने छैन।’

उपधारा (४),(५),(६) र (७) विपरीतका कार्य कानुनबमोजिम दण्डनीय हुनेछन् र त्यस्तो कार्यबाट पीडित बालबालिकालाई पीडकबाट कानुनबमोजिम क्षतिपूर्ति पाउने हक हुने व्यवस्था छ।

तर, संविधानमा उल्लेखित व्यवस्थाअनुसार बालबालिकाहरू स्वतन्त्र रूपमा बाँच्‍न पाएका छैनन्। उनीहरूले कुनै न कुनै रूपमा यातना सहनुपरेकै छ।

अभिभावक भन्छन् : बालबालिकालाई विद्यालय पठाउनै त्रास भयो

नेपाल अभिभावक महासंघका अध्यक्ष सुप्रभात भण्डारी पछिल्लो समय घटेका यस्ता घटनाले विद्यालयमै विद्यार्थी असुरक्षित रहेको बताउँछन्। उनका अनुसार पहिला विद्यार्थीले पढ्न दबाब भने हुन्थ्यो। कतिपय विद्यार्थी कुटाइ पनि भेट्थे। तर,अहिले विद्यार्थीलाई पिट्न नपाइने कानुनी व्यवस्था नै छ। 

‘नयाँ ज्ञान सिक्न विद्यालय बालबालिका पठाउँछौँ,तर शिक्षकबाट भएको यस्तो व्यवहारले विद्यार्थी असुरक्षित बनेका छन,यस्तो क्रियाकलाप रोकिनुपर्छ,’उनले भने। विद्यालयमा धेरै घटना घटे पनि बाहिर नआउने गरेको उनले बताए।

‘विद्यालयमा अधिकांश विद्यार्थीहरू धेरै यातना भोगेका हुन्छन,’उनले भने,‘तर घरमा पीडितले डरकै कारण भन्दैनन्,ठूलै घटना भएपछि मात्र बाहिर आउँछ।’अध्यक्ष भण्डारी केही विद्यार्थी बदमास पनि हुने र ती विद्यार्थीलाई डर देखाउनुपर्ने कुरालाई स्वीकार गर्छन्।

‘तर,कानको जाली फुट्ने गरी,टाउको फुट्‍ने गरी हानेर हुँदैन,विद्यार्थीलाई माया ममताका साथ सम्झाउनुपर्छ,’ उनले भने। उनले शिक्षकहरूले घरमा भएको रिस विद्यालयमा गएर पोख्‍ने गरेको पनि बताए। 

उनले भने,‘पहिलादेखि नै हामीले सरकारलाई त्यसरी यातना नदिन ध्यानाकर्षण गरिरहेका छौँ,तर घटना घटे पनि कारबाही भएको देखिँदैन,शिक्षकहरूलाई पनि मनोवैज्ञानिक परामर्श दिनुपर्ने देखिएको छ।’

अभिभावकहरू पनि आफ्ना बालबालिकाहरूप्रति जानकार र सचेत रहन उनको आग्रह छ। ‘अभिभावकहरू पनि आफ्ना छोराछोरीलाई पढाउन सचेत गराउनुपर्छ,शिक्षकले धेरै यातना दिए आवाज उठाउनु पनि पर्छ,’उनले भने। 

पुलिस हुनुपर्ने व्‍यक्ति शिक्षक हुँदा समस्या 

शिक्षाविद्  प्राडा विद्यानाथ कोइरालाको बुझाइमा शिक्षकले तनाव र रिस व्यवस्थापन गर्न नसक्दा विद्यार्थीलाई चरम यातना दिने गरेका छन्। ‘म धेरै ठाउँमा पुग्दा शिक्षकहरूले आफ्नो रिस नियन्त्रण गर्ने नसकेको देख्छु,त्यसैले म त भन्छु पुलिस हुनुपर्ने व्यक्ति शिक्षक भइदियो,’उनले भने। 

उनले शिक्षकहरूमा माया,स्‍नेह भन्ने भाव नै नजाग्दा घट्ना घटेको बताए। ‘अहिले त पिट्नेलगायत यातना गर्न कानुनले बन्देज नै गरेको छ,त्यसैले शिक्षकले कसरी फकाउँदा विद्यार्थी पढ्छन् र सुध्रिन्छन् भन्ने सोच बनाउनुपर्‍याे नि,’ उनी शिक्षकहरूलाई सुझाउँछन्।

उनका अनुसार विद्यार्थीले जति नै बदमासी गरे पनि कुट्नु हुँदैन। ‘कक्षामा कोही धेरै हल्ला गरेमा एकछिन समय लिएर उसलाई ठूलो स्वरमा कराउन दिनुपर्छ,कराउँदा कराउँदा ऊ थाक्छ,त्यसपछि आफैँ नियन्त्रणमा आइहाल्छ,विद्यार्थीलाई यस्तो सजाय दिइयोस्, जसले कहिल्यै गल्ती गर्ने महसुस गर्न नसकोस्,’ उनले भने। अभिभावकहरूमा समेत चेतनाको कमी भएको उनकाे भनाइ छ।  

के भन्छ शिक्षक महासंघ? 

नेपाल शिक्षक महासंघकी अध्यक्ष कमला तुलाधर विद्यार्थीलाई शिक्षा दिनुको साटो शिक्षकले चरम यातना दिनु दुःखद रहेको बताउँछिन्। 

उनले भनिन्,‘शिक्षकले पढाउने हो,विद्यार्थीलाई यातना दिन पाइँदैन,दण्ड सजाय नदिन पटक-पटक हामी सबै शिक्षकहरूलाई भनिरहेका छौँ,म यसै समाचार माध्यमबाट पनि सम्पूर्ण शिक्षकहरूलाई बालबालिकाहरूलाई कुनै प्रकारले कुटपिट नगर्न र यातना नदिन आग्रह गर्छु।’ उनले पछिल्लो समय भए गरेका यस्ता कुटपिट र यातनाका घटनाहरूको विषयमा बुझ्‍ने बताइन्।  

मौन छ शिक्षा मन्त्रालय

शिक्षकहरूले विद्यालयमा विद्यार्थीलाई चरम यातना दिए पनि सम्बन्धित निकाय शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालय मौन छ। मन्त्रालयका प्रवक्ता दीपक शर्माले भने विद्यार्थीलाई शारिरिक,मानसिक यातना दिन नमिल्ने भन्दै त्यसो नगर्न शिक्षक र विद्यालयलाई निर्देशन दिइरहेको दाबी गर्छन्। 

उनले भने,‘विद्यार्थीलाई यातना दिन नपाइने कानुनी व्यवस्था नै छ,त्यसो गरेको पाइए अभिभावकले सम्बन्धित निकायमा उजुरी गर्न पाउँछन्,उजुरी गर्नुस्,त्यस्ता शिक्षकलाई कारबाही हुन्छ।’ 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.