|

सुर्खेत : सुर्खेतमा प्रहरीको कुटाइबाट कालिकोटका एक युवकको मृत्यु भएको आरोपपछि छानबिन समिति गठन गरिएको छ। कालिकोट तिलागुफा नगरपालिकाका युवक कृष्ण हमालको मृत्यु प्रहरीको कुटाइबाट भएको भन्दै आफन्ले विरोध प्रदर्शन गरेपछि वीरेन्द्रनगर तनावग्रस्त छ। 

तनाव साम्य पारि समाधान गर्न तथा घटनाको सत्यतथ्य छानबिन गर्न जिल्ला प्रशासन कार्यालय सुर्खेतले ४ सदस्यीय छानबिन समिति गठन गरेको हो। प्रशासनले एक अपिल जारी गर्दै घटनाबारे सत्यतथ्य छानबिन गर्न सहायक प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद पाण्डेको संयोजकत्वमा ४ सदस्यीय छानबिन समिति गठन गरेको जनाएको छ।

छानबिन समितिलाई ३ दिनभित्र घटनाको सत्यतथ्य प्रतिवेदन पेश गर्ने गर्न निर्देशन दिइएको छ। नेपालगन्जबाट जुम्लाका लागि शुक्रबार छुटेको भे १ क ९२२ नम्बरको गाडीमा सवार यात्री हमाललाई सुर्खेतस्थित सुब्बाकुना प्रहरीले राति निर्घात कुटपिट गरी सिकिस्त बनाएपछि सोही कारण मृत्यु भएको आरोप आफन्तले लगाएका छन्।

हमाललाई उपचारको लागि आज बिहान सुर्खेत अस्पताल ल्याए पनि अस्पताल नपुर्‍याउँदै उनको मृत्यु भइसकेको अस्पतालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।प्रहरीलाई लगाएको आरोप सत्य हो या होइन र के कति कारणले हमालको मृत्यु भयो भन्नेबारे अनुसन्धान भईरहेको सुर्खेत प्रहरीका प्रवक्ता रामप्रसाद घर्तीले जानकारी दिए। साथै आफन्तको विरोध प्रदर्शन उग्र भएपछि सम्भावित हुनसक्ने घटनालाई ध्यानमा राखेर प्रहरी परिचालन व्यापक बनाइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.