|

काठमाडौं :  प्रतिनिधिसभाको बैठक आज बस्दै छ। नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा दिउँसो १ बजे बैठक बस्ने तय छ। 

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३१औँ वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७७–७८ पेस गर्ने सम्भावित कार्यसूची रहेको संघीय संसद्का महासचिव डा भरतराज गौतमले जानकारी दिए।

प्रतिनिधिसभाको बैठकअघि बस्ने गरी कार्यव्यवस्था परामर्श समितिको बैठक पनि बोलाइएको छ।

महाभियोग प्रस्ताव अघि बढ्ने 

कानून, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडुले आजको बैठकमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथिको महाभियोग प्रस्तावका विषयमा छलफल हुने बताएका छन्।

गत बुधबार प्रतिनिधिसभाको बैठकपछि संसद् भवनमा पत्रकारसँगको कुराकानीमा मन्त्री बडूले नियमावलीमा भएको व्यवस्थाअनुसार प्रस्ताव अघि बढ्ने बताएका थिए। 

त्यसका लागि ११ जनाको महाभियोग सिफारिस समिति बन्ने कानुनी व्यवस्था छ। यसको बस्तुगत आधारसमेत तयार गरेर पुनः संसद्मा निर्णयार्थ ल्याउनका लागि तीन महिनाको समय पाउने पनि उनले बताए।

सत्तारुढ गठबन्धन दलले फागुन १ गते प्रधानन्यायाधीश जबराविरुद्ध संसद्मा महाभियोग प्रस्ताव दर्ता गरेको थियो।

सभामुखविरुद्ध महाभियोगको चेतावनी 

संसद निरन्तर अवरोध गरिरहेको प्रमुख प्रतिपक्षी नेकपा एमालेले सभामुख अग्निप्रसाद सापकोटालाई महाभियोग लगाउने चेतावनी दिँदै आएको छ। सभामुख सापकोटाले एमालेले कारबाही गरेका १४ सांसदलाई नहटाएको र विपक्षीलाई वेवास्था गरिरहेको उसको आरोप छ।

अध्यक्ष केपी शर्मा ओलीले आफ्ना सांसदलाई खाली कागजमा हस्ताक्षर गराइसकेको र जुनसुकै बेला पनि महाभियोग प्रस्ताव ल्याउने चेतावनी दिँदै आएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.