|

हेटौंडा : करिब दुई साताअघि १३ वर्षीया बालिका टिभी हेर्न साथीको घर गइन्। आफ्नो घरबाट अलिक टाढा रहेको साथीको घरमा दिनभरि टिभी हेरेपछि साँझपख उनी घर फर्कन निस्किन्।

डाँडापाखाले ढाकेको गाउँमा घर पातला छन्। एउटा घरबाट अर्को घरको दूरी आँखाले देखिने भए पनि पुग्न एकछिन हिँड्नै पर्छ। घाम ढल्किँदै गर्दा उनी साथीको घरबाट निस्केर आफ्नो घरतिर लाग्दा बाटोमा मामा पर्ने एक पुरुषलाई भेटिन्।

खेतका कान्ला र कुलोको बाटो हुँदै घर जाँदा मामालाई भेटेपछि उनी खुशी भएर मामासँगै लागिन्। अलि पर पुगेपछि मामाले उनलाई एक सय रूपैयाँ दिँदै आफूले भनेको मान्न आग्रह गरे। उनले केही नसोची हुन्छ भन्नेबित्तिकै मामाले उनलाई झाडी भएतिर कुलोमा लगे र बलात्कार गरे। असह्य पीडा भएपछि चिच्याउन लागेकी उनलाई ती मामा पर्नेले चिच्याए मारिदिने धम्की दिएपछि उनले पीडा सहेर बस्नुको विकल्प देखिनन्।

मामाले उनलाई सोही ठाउँमा दुईपटक बलात्कार गरे। कसैलाई यसबारे बताए ज्यान मार्ने धम्की दिँदै उनले ती बालिकालाई घर पठाइदिए। एकातर्फ दुखाइ र अर्कोतर्फ ज्यान मार्ने धम्कीको डरले अँध्यारोमा एक्लै हिँडिरहेकी उनले घर नजिकैका छिमेकीलाई भेटिन्।

उनीहरूको साथ लागेर घर पुगेर खाना नखाइकनै सुतिन् उनी। बिहान उनी सीधा भएर राम्रोसँग हिँड्न पनि नसकेपछि आमाले उनलाई के भयो भन्दै सोधिन्। अनि मात्र उनले भक्कानिँदै आमालाई अघिल्लो दिनको सबै कुरा बेलिबिस्तार लगाइन्। उनलाई बलात्कार गर्ने मामा भनिने पुरुषलाई प्रहरीले पक्राउ गरिसकेको छ।

९ वर्षीयाको बलात्कार  

यो घटना करिब ३ दिनअघिको कुरा हो। ९ वर्षीया बालिका टिभी हेर्नका लागि नै छिमेकीको घरमा गएकी थिइन्। छिमेकीको घरमा एकजना दाइ भन्ने गरेको पुरुष कोठामा टिभी हेरिरहेका थिए। बालिका पनि कोठामा गएर बसिन् र टिभी हेर्न थालिन्।

उनी गएर बस्नेबित्तिकै ती दाइ भनाउँदाले टिभीको आवाज ठूलो बनाए र ढोका लगाएर बालिकालाई बलात्कार गरे। बालिकाको आवाज बाहिर नसुनियोस् भनेर उनले टिभीको आवाज धेरै ठूलो बनाएका थिए तर पीडा सहन नसकेर चिच्याएकी बालिकाको आवाज बाहिरसम्म पुग्यो र ती पुरुष पक्राउ परे।

बलात्कारी किशोर

केही दिनअघि मात्रै १६ वर्षीया किशोरी यसैगरी बलात्कृत भइन्। उनलाई घरमा सुतिरहेका वेला १७ वर्षका किशोरले आएर बलात्कार गरेका हुन्। सधैँ आमासँग सुत्ने किशोरी त्यस दिन एक्लै सुतेकी थिइन्। बुवालाई सन्चो नभएपछि बालिका एक्लै सुतेकी थिइन्।

उनले प्रहरीलाई दिएको बयानअनुसार राति एक किशोर ढोका ढक्ढक्याउन आइपुगेका थिए। सोही क्रममा उनले ढोका खोलिदिएकी थिइन्। त्यसपछि उनलाई त्यो किशोरले जबरजस्ती करणी गरेको जनाइएको छ। उनको घरसँगै त्यो किशोरको मामाघर छ।

उनलाई बलात्कार गर्ने १७ बर्से किशोर गत भदौमा जबरजस्ती करणी उद्योगमा सजाय पाएर बाल सुधारगृह पुगेका थिए। पुसमा मात्रै सुधारगृहबाट निस्किएका उनी अहिले बलात्कारको आरोपमा जेलमा छन्।

मकवानपुरमा चालू आवमा २० घटना, १२ बालिका पीडित

नेपालमा बालिकाहरू यसरी दैनिक बलात्कारको शिकार भइरहेका छन्। केही घटना प्रहरीकहाँ पुग्ने गरे पनि अधिकांश घटना गाउँघरमा नै मेलमिलापमा टुंगिने गरेको महिला अधिकारकर्मी बताउँछन्। मकवानपुरमा मात्र चालू आवको साउनदेखि आजसम्म २० वटा बलात्कारका घटना भएका छन्। जसमा १२ जना बालिका पीडित भएका छन्।

आफन्तबाटै बलात्कृत

जिल्ला प्रहरी कार्यालय मकवानपुरको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र प्रमुख चूडाकुमारी खड्काका अनुसार अधिकांश बालिका आफन्त र चिनजानका व्यक्तिहरूबाटै बलात्कृत भइरहेका छन्।

‘बालिका बलात्कारका घटनाहरू अधिकांश आफन्त, चिनजान र हाडनाताबाट नै भइरहेको पाइएको छ’, उनले भनिन्। बालिकाबारे सम्पूर्ण कुरा थाहा पाएका विश्वासिलो पात्रको रूपमा रहेकाहरूबाट नै बालिकाहरू बलात्कृत हुने गरेको उनको भनाइ छ। नचिनेका मान्छेबाट हुने बलात्कारका घटना एकदमै न्यून देखिएको खड्काले बताइन्।

कतिपय घटनामा बालिकालाई विभिन्न प्रलोभनमा पारेर बलात्कार गर्ने गरेको पनि उनी बताउँछिन्। पैसाको प्रलोभन दिएर फकाएर वा डर त्रास देखाएर बलात्कार गर्ने गरेको उनले बताइन्। खड्काका अनुसार आफन्त र चिनेजानेको मान्छेबाट हुने बलात्कारको घटनालाई मिलाउन खोज्ने गरेको पनि पाइन्छ।

सकेसम्म गाउँघरमा नै मिलाउन खोज्ने र नमिलेको खण्डमा मात्र प्रहरीमा आउने गरेको उनको भनाइ छ। ‘कतिपय घटना त प्रहरीमा आइसकेपछि पनि आफ्नो मान्छे नै हो नजानेर गल्ती गर्‍यो एकपटकलाई छाड्दिनु भन्न आइपुग्छन् तर बलात्कार जस्तो घटनाको आरोपितलाई हामीले छाड्न मिल्दैन’, उनले भनिन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.