|

पछिल्लो समय प्रहरीको तथ्यांकलाई हेर्ने हो भने आत्महत्याको घटना भयावह छ। दैनिक सरदर १७ जनाले आत्महत्या गरेको तथ्यांकले देखाउँछ। आत्महत्यामा गर्नेमा बालबालिकाहरूको संख्या पनि उल्लेख्य छ।

तथ्यांकअनुसार  आर्थिक वर्ष २०७८/७९ पुससम्म देशभर १ हजार ७६१ जना पुरुषले आत्महत्या गरेका छन्। त्यस्तै, १ हजार १०४ जना महिलाले आत्महत्या गरेका छन्। त्यसैगरी १३१ जना बालक र १९६ जना बालिकाले आत्महत्या गरेको देखिन्छ।

बालबालिकाले किन आत्महत्या गर्छन्? यसलाई रोक्न के सरकार र अभिभावकको कस्तो भूमिका रहन्छ? यही विषयमा थाहाखबरकर्मी श्याम राईले मनोविश्लेषक वासु आचार्यसँग गरेको कुराकानी :

पछिल्लो समय आत्महत्या गर्नेको संख्यामा बालबालिका पनि धेरै छन्, उनीहरू आत्महत्या गर्ने अवस्थमा कसरी पुग्छन्?

आफूले आफैंलाई सिध्याउने निर्णय नै आत्महत्या हो। यसबेला कोही मर्छन्‚ कोही डोरी चुँडिनेलगायत घटनाबाट बाँच्छन्। केही घाइते हुन्छन्। आत्महत्या गर्नुको प्रमुख कारण मनमा अत्यधिक पीडा हो। तर‚ आत्महत्या गर्नुको कारणबारे बहस हुन जरुरी छ।

अभिभावकले आफ्नो कुरा नबुझिदिए वा वास्ता नगरे, गालीगलौज गरे‚ पारिवारिक झै झगडा भइरहे बालबालिकाहरू आत्महत्याको निर्णयमा पुग्छन्। पछिल्लो समय लकडाउनका कारण उनीहरू साथीसँग छुटे। विभिन्न डर भयो। त्यस्तो अवस्थामा मृत्यु नै समस्या समाधान रहेछ भनेर आत्महत्या गर्छन्।

माथि उल्लेख गरिएकाबाहेक अन्य कारण पनि छन्?

बालबालिकाहरूले गर्ने क्रियाकलाप भनेकै सिकाइबाट नै गर्ने हो। पछिल्लो समय बालबालिकाहरूमा पब्जी, फ्रिफायरलगायत अनलाइन गेमको लत बसेको छ। उनीहरूले ती गेममा भएको क्रियाकलाप सिक्छन्। समूहमा गेम खेल्दा त्यहाँ अनेक विवाद सिर्जना हुन्छ। यस्तै‚ छाडा चलचित्रले पनि नकारात्मक क्रियाकलाप निम्तिएको छ। यस्ता कुराले पनि बालबालिकामा नकारात्मक सोचाइको विकास हुन्छ।

यी कुराहरूबाट बालबालिकालाई टाढा राख्न के गर्न सकिन्छ?

पछिल्लो समय प्रायः बालबालिका मोबाइल फोनका कारण बिग्रिएका छन्। केहीले भने नयाँ ज्ञान सिकेका पनि छन्। त्यसैले अभिभावकले बालबालिकालाई मोबाइल फोन प्रयोगबाट टाढा राख्नुपर्छ। उसले नबुझेको कुरा बुझाउनुपर्छ। सिकाउनुपर्छ। के सही के गलत बुझाउनुपर्छ। मोबाइल छाड्नै नसक्ने लत बसेमा उपचार विधि खोज्नुपर्छ।

विद्यालयमा शिक्षकले यातना दिने गरेको घटनाहरू बाहिरिरहेका छन्, यसले बालबालिकामा कस्तो असर पार्छ?

विद्यालय शिक्षा दिने क्षेत्र हो। शिक्षकले राम्रो‚ नयाँ ज्ञान सिकाउनुपर्छ। यातना दिने होइन। विद्यालयमा सबैलाई यातना दिइँदैन। एक दुई जनालाई मात्र यातना दिँदा उसले मलाई मात्र कुट्यो भनेर असहज र नमिठो मान्छ। त्रास पैदा हुन्छ। यसले उनीहरूमा विस्तारै मानसिक समस्या पर्दै जान्छ। त्यसैले शिक्षकले बालबालिकालाई माया, ममता दिनुपर्छ। 

गरिबी र अशिक्षाले कस्तो असर पर्छ?  

गरिबीले पनि बालबालिकामा प्रभाव पार्ने भए पनि पछि मात्र थाहा हुँदै जान्छ। अशिक्षाले भने बढी नै प्रभाव पार्छ। अशिक्षामा बढी पीडाका बहस हुन्छ। चिन्ता र डरका बहस हुन्छ। त्यसैले त्यस्तो वातावरण बनाउन दिनु भएन।

तपाईंकहाँ परामर्श लिन कस्ता समस्या लिएर आउँछन्?

मकहाँ बालबालिकामा डर र अनलाइन गेमकै लतको समस्या लिएर अभिभावकहरू आउँछन्। त्यसैले सरकारले अनलाइन गेम बन्द गर्नुपर्छ। बन्द गर्दा के बिग्रिन्छ?

बालबालिकाको आत्महत्याको घटना कम गर्न कस्तो पहल ‍गर्नुपर्छ?

बालबालिका मात्र नभई हरेक मान्छेमा पीडा हुन्छ। अभिभावकले बालबालिकालाई नराम्रो व्यवहार गर्नु भएन। बेलैमा छोराछोरी के कस्तो समस्यामा परेका छन्, उनीहरूको खुसी के हो‚ त्यो बुझ्नुपर्छ। र‚ त्यहीअनुसार वातावरण बनाउनपर्छ। उनीहरू के कारणबाट तनाब छन्? त्यसको कारण खोजी गरी परामर्श दिनेलगायतका उपचार गर्नुपर्छ।

बालबालिकाको आत्महत्या रोक्ने प्रकारका पाठ्यपुस्तक निर्माण गर्नुपर्छ। नैतिक शिक्षाले मात्र पुगेन। मनोविज्ञान शिक्षा चाहियो। सन् २०३० सम्म यहाँ तीन जनामा एक जना मनोपीडित देखा पर्छन्। त्यसैले विशेषगरी कक्षा ९ र १० मा मनोविज्ञान शिक्षाको कोर्स राख्नुपर्छ। योभन्दा साना कक्षामा पनि राख्नुपर्छ। त्यस्तै, सरकारले बालबालिकाका लागि सचेतनामुलक कार्यक्रम चलाउनुपर्छ। यसो गरिए बालबालिकाको आत्महत्याको घटनामा कमी आउँछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.