स्थानीय चुनावअघि टुंगो नलाग्‍ने पक्का

|

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पदाधिकारी चयन गर्न असफल भएका छन्। शुक्रबार सुरु भएको केन्द्रीय समितिको बैठकबाट सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास गरेको भए पनि असफल भएको हो। 

शुक्रबार उद्घाटन भएको बैठक आइतबारको लागि बोलाइएको थियो। तर, पार्टीमा गृहकार्य नपुगेको भन्दै सहमति बन्न नसकेपछि बस्न सकेन।

अध्यक्ष प्रचण्डले लामो समय लगाएर आन्तरिक गृहकार्य गर्दा पनि पदाधिकारीमा सहमति जुटाउन नसकेपछि अब वैशाखमा हुने स्थानीय तहको चुनावपछि मात्रै पदाधिकारी चयन गर्ने माओवादीका प्रमुख सचेतक देव गुरुङले बताए। 

‘सहमतिबाटै पदाधिकारी चयनको प्रयास भइरहेको छ। सहमति हुन नसके वैशाखमा हुने स्थानीय तहको निर्वाचनपछि मात्रै पदाधिकारी चयन गर्ने तयारी छ’ उनले बैठकस्थलमा सञ्चारकर्मीहरूसँग भने। बैठकले केन्द्रीय पदाधिकारी, पोलिटब्युरो, केन्द्रीय समितिलाई पूर्णता दिने तयारी छ। 

गत शुक्रबारको बैठकमा अमेरिकी सहयोग परियोजना (एमसीसी) सम्झौताका बारेमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेता नारायणकाजी श्रेष्ठले धारणा राखेका थिए। बैठकका लागि विभिन्न ६ वटा एजेन्डा तय छ।

माओवादी केन्द्रको पदाधिकारीमा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, ६ उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव, तीन सचिव र एक कोषाध्यक्ष रहने व्यवस्था छ।

माओवादीले २९९ मध्ये २३६ जना केन्द्रीय सदस्य र अध्यक्षमा प्रचण्डलाई चयन गरेको थियो। पार्टी पदाधिकारी सर्वसम्मत रुपमा चयन गर्ने प्रचण्डले प्रयास गरेको भएपनि आकांक्षी धेरै भएकाले समस्या परेको छ। 

पार्टीको अध्यक्षपछिको जिम्मेवार पद महासचिवमा जनार्दन शर्मा र वर्षमान पुनले बलियो रुपमा अडान लिइराखेका कारणले प्रचण्डले पदाधिकारी चयन नगर्ने रणनीति तय गरेका बुझिएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.