‘एक जनाका लागि अरुको पढ्ने अधिकार खोस्नु अपराध’

|

काठमाडौं : विद्या अध्ययनको थलो विद्यालय/कलेजलाई शान्ति क्षेत्र पनि भन्ने गरिन्छ, जहाँ विद्यार्थी स्वतन्त्र रुपमा पढ्न पाउँछन्। संविधानको धारा (३१) मा शिक्षाको हकको व्यवस्था छ। यस धाराको उपधारा (१) ले शिक्षाको हकमा प्रत्येक नागरिकलाई आधारभूत शिक्षामा पहुँचको हक हुने व्यवस्था गरेको छ।

तर, कुनै विश्वविद्यालय यस्तो छ, जुन शिक्षा होइन कि आन्दोलनको मात्र अखडा बन्छ। २/४ दिन होइन महिनौं, तालाबन्दी हुन्छ। पछिल्लो समय त्यही उदाहरणमा परेको छ–त्रिभुवन विश्वविद्यालय।

यो विश्वविद्यालय नेपालको सबैभन्दा पुरानो र ठूलो विश्वविद्यालय हुनुका साथै उच्च शिक्षाका लागि नेपालको पहिलो राष्ट्रिय शैक्षिक संस्था पनि हो। तर, यही विश्वविद्यालयमा कहिले विभिन्न दल निकट विद्यार्थी संगठन त कहिले आंशिक प्राध्यापकले आन्दोलन गर्न छाडेका छैनन्। 

अहिले त्रिवि परिसरमा पुग्ने हो भने एउटै ढोकामा ४ वटासम्म ताला लगाइएको छ। विद्यार्थी संगठनका झण्डा झुन्डिएका छन्। प्राध्यापकहरूको आन्दोलनले त्रिवि सेवा आयोग प्रांगण आजभोलि खाली छैन।

उपकुलपतिको कार्यालय, त्रिवि रेक्टरको शिक्षाध्यक्षको कार्यालय, त्रिवि रजिष्ट्रार र त्रिवि सेवा आयोगको कार्यालयमा ताल्चा झुन्ड्याइएको छ। त्यहाँका सुरक्षाकर्मीका अनुसार नेपाल विद्यार्थी संघ र आंशिक प्राध्यापकहरूले ती ताल्चा लगाएको डेढ महिना भयो तर अझै खुल्ने केही छाँटकाँट छैन।

पटक–पटक त्रिविमा ताल्चा

त्रिविका उपकुलपति प्राडा धर्मकान्त बास्कोटाले प्रविधिमैत्री विश्वविद्यालय, सुशासन जोड दिने, उच्च शिक्षातर्फ अन्तरराष्ट्रियकरण गर्दै लैजानेलगायत १५ सुत्रीय त्रिवि सुधार योजना २०७६ मा ल्याएका थिए।

                                                उपकुलपतिको कार्यालयमा लगाइएका ताला

तर, पछिल्लो समय त्रिविको जोड सुधार र शिक्षामा नभई राजनीतिक अखडा बन्दै गएको छ। त्रिविले नै चालू शैक्षिक सत्रको पुससम्म विभिन्न संगठनका नाममा विश्वविद्यालयले १ सय ४९ दिन तालाबन्दीमा बिताएको छ। 

माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंह त्रिविमा विकृति मौलाएका कारण तालाबन्दी गर्न बाध्य भएको बताउँछिन्। उनले भनिन्, ‘हामीले रहरले तालाबन्दी गरेका होइनौँ, विद्यार्थीको हकहितकै निम्ति लडेका हौँ, त्रिविमा स्वच्छ अनि पारदर्शी काम नहुँदा सधैँ यस्तै अवस्थामा पुग्यो।’

उनले अहिले भने त्यहाँ ताला नलगाएको जानकारी दिइन्। उनले भनिन्, ‘अहिले प्राध्यापकहरूले लामो समयदेखि ताला लगाएका छन्, उहाँहरूलाई प्रतिस्पर्धाबाट आउनुस् भन्न चाहन्छौँ, यसरी विद्यार्थीलाई सकस नदिइयोस्।’

प्राध्यापकको आन्दोलन कायमै

आंशिक प्राध्यापकहरूले अहिले पनि आन्दोलन कायमै राखेका छन्। उनीहरु अहिले पनि त्रिवि सेवा आयोगमा धर्ना दिइरहेका छन्। आंशिक संघर्ष समितिका केन्द्रीय प्रवक्ता एलबी बिष्टले मूलतः सरकारसँग ३ माग राखेर आन्दोलन गरिरहेको बताए।

‘पहिलो माग १७ वर्षदेखि साथीहरूले विश्वविद्यालयमा सेवा गरे, ती सबैलाई राज्यले समान कामको समान ज्याला दिनुपर्छ भन्ने माग छ,’ उनले भने। त्यस्तै, विश्वविद्यालय राजनीतिकेन्द्रित नभई विधिवत र संस्थागत ढंगबाट अगाडि बढाउनुपर्ने माग रहेको उनले बताए।

‘हामीलाई त्रिविको संस्थागत सदस्यका रुपमा विकास गर्नुपर्छ भन्ने पनि हाम्रो माग छ, त्रिवि सेवा आयोगले आफ्नो मान्छेलाई मात्र पास गराउने, प्रश्नपत्र बाहिरिएर परीक्षा गराउने गरिएको छ, यो विकृति रोकिनुपर्छ,’ उनले भने।

यही आन्दोलनकै कारण उप-प्राध्यपाकको लिखित परीक्षा सरेको उनले बताए। ‘तालिका हामीलाई केही नभनी परिमार्जन भएको छ,’ उनले भने, ‘यो पनि हामीलाई मान्य छैन, सामेल हुन सक्दैनौँ, वार्ता गरेर मात्र रुटिन निकाल्नुपर्छ।’ उनका अनुसार अहिले देशभरिकै ६२ आंगिक क्याम्पसमा ताला लगाइएको छ। 

आन्दोलन​रत प्राध्यापकहरू

आन्दोलनको मारमा विद्यार्थी 

यसरी दिनहुँ तालाबन्दी र आन्दोलनले गर्दा त्यहाँ अध्ययनरत विद्यार्थीलाई मानसिक असर पुगेको छ। व्यवस्थापन संकायमा अध्ययनरत प्रथम सेमेस्टरकी चन्द्रकला लिम्बूले भनिन्, ‘आन्दोलनले पढाइमा असर पुगेको छ, यही कारणले नै होला पढाउन शिक्षकहरू आएका छैनन्, कोर्स सकिएको छैन, परीक्षा नजिकिँदै छ।’

सोही सेमेस्टरमा अध्ययनरत सीता पौडेलले पनि विद्याको मन्दिरमा त्यसरी आन्दोलन नगर्न माग गरिन्। उनले भनिन्, ‘विद्यालय शान्ति क्षेत्र हुनुपर्छ, आन्दोलन नभएर पढ्ने वातावरण मिलोस्, कतिपय साथीले यसरी अध्यापन रोकिँदा बीचमै पढाइ नै छाड्नेसमेत गर्ने गरेका छन्।’

तालाबन्दीकै कारण बाहिर देशमा अध्ययन गरेर आएका सेवाग्राहीलाई समेत समस्या भएको छ। भारतको ग्लोबल कलेज अफ नर्सिङ बैंगलोरमा अध्ययन गरेर समकक्षताको प्रमाणपत्र लिन आएकी श्रेय आचार्यले भनिन्, ‘समकक्षताका लागि आएकी थिएँ, अझै काम बनेको छैन, समय लाग्छ भन्छन्, एक जना साथीको उपकुलपतिलाई नै भेट्नुपर्ने काम थियो, जानु भयो तर ताल्चा देखेर निराश हुँदै फर्किइन्।’

त्रिविमा सोमबार भेटिएकी उनले यसरी विश्वविद्यालय प्रशासनमै ताला लगाउँदा सेवा लिन समस्या भएको बताइन्। एकजना सुरक्षा गार्डका अनुसार प्रशासनिक कामका लागि दैनिक १० देखि २० जना सेवाग्राही आउँछन् तर ताला देखेपछि त्यसै फर्किन्छन्।  

यस विषयमा आन्दोलनरत समितिका प्रवक्ता बिष्टले भने उनीहरूको मर्काप्रति दुःख व्यक्त गरे। ‘हामीले गर्दा उहाँहरूलाई भएको असुविधामा क्षमा याचनासहित दुःख व्यक्त गर्छौँ, हाम्रो रहर होइन बाध्यता हो, हाम्रै विद्यार्थी हो, उहाँलाई बिगार्न यसो गरेको होइन, बरु सहयोग गर्न आग्रह गर्छु,’ उनले भने। 

‘एक जनाका लागि अरुको अधिकार खोस्नु अपराध’ 

शिक्षाविद् प्राडा विद्यानाथ कोइराला एक जना अथवा समूहले गर्दा अरुको पढ्ने अधिकार हनन् गर्नु अपराध हुने बताउँछन्। पार्टीकै कार्यकर्ता विद्यार्थी भएकाले त्रिविमा सधैँ लफडा हुने उनको भनाइ छ।

‘तालाबन्दी गर्ने काम सरासर गलत हो, बदमासी हो, त्यसैले त्यस्तो ताला लगाएमा विकल्प खोजी प्रहरीले ताला फोड्नुपर्छ, विद्यार्थीलाई पढ्ने वातावरण मिलाउनुपर्छ,’ उनले भने।

नेपाल अभिभावक महासंघका अध्यक्ष सुप्रभात भण्डारी युवाहरूमा चेतना नहुँदा यस्ता अराजकता फैलिइरहेको बताउँछन्। उनले भने, ‘ताला लगाउने खराब प्रवृत्ति हो, आफैँ चेतनाशील हुनुपर्छ, विषय मुद्दा उठान गर्नु पर्छ, तर पठनपाठन प्रभावित पार्ने, उत्तेजना फैलाउने, तोडफोड गर्नु हुँदैन।’ 

यसो भन्छन् मन्त्रालय र त्रिवि

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दिपक शर्मा समस्याको समाधान तालाबन्दी नरहेको तर्क गर्छन्। यसो गर्दा विद्यार्थीकै पठनपाठनमा असर पुग्ने उनले बताए। ‘त्यसरी ताला लगाउनु गलत हो, केही समस्या आए सहमतिमा जान सकिन्छ, छलफल गर्न सकिन्छ, त्यसैले त्यसरी ताला लगाएर अरुको पढ्ने अधिकार हनन् गर्नु हुँदैन र मिल्दैन पनि,’ उनले सुझाए।

त्रिविमा रेक्टर (शिक्षाध्यक्ष) को कार्यालयमा लगाइएका ताला

त्रिवि सूचना तथा जनसम्पर्क महाशाखाका प्रमुख योगेन्द्रप्रसाद दाहाल पटक–पटक आन्दोलनजस्ता अवाञ्छित क्रियाकलापका कारण आफ्नो उद्देश्यअनुरुप विश्वविद्यालय अघि बढ्न कठिन भएको बताउँछन्।

कानुनी प्रक्रियाबाट समस्या समाधान गर्न पहल गरिरहेको बताउँदै उनले त्यस्ता अनावश्यक तोडफोड, तालाबन्दी गरेर पठनपाठन र सेवाग्राहीलाई समस्यामा नपार्न आग्रह गरे। जनसम्पर्क महाशाखाका संवाददाता कृष्ण बस्ताकोटीले तालाबन्दी हटाउन छलफल भइरहेको बताए।

‘प्राध्यापकहरूले विभिन्न माग राखेका छन्, त्यसका लागि सरकारसँग छलफल भइरहेको छ,’ उनले भने, ‘कतिपय कानुनी प्रक्रियामा पनि टेक्नुपर्छ, छिट्टै वार्ता मिलाउने प्रयास गरिरहेका छौँ।’ तालाका कारण प्रशासनिक काम रोकिए पनि अरु सेवा भने दिइरहेको उनको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.