लाखौँ  बालबालिकाको भविष्य संकटमा

|

रुकुम (पूर्व) : रुकुमपूर्वका धेरैजसो सरकारी विद्यालयको अवस्था टिठलाग्दो हविगत छ। न पठनपाठन, न सरकारको लगानीमा बनेका संरचना सही रूपमा प्रयोग गरिएको छ।

पठनपाठन होस् या भौतिक संरचना एवं विद्यार्थी र शिक्षक-शिक्षिकाको आचारसंहितामा कुनै पनि पालना विद्यालय परिवारले गर्न नसक्दा जिल्लास्थित अधिकांश सरकारी विद्यालयको अवस्था टिठलाग्दो हविगत हुँदै गएका छन्।

जसमा रुकुमपूर्व सिस्ने गाउँपालिका–१ मा रहेको नवज्योति माध्यामिक विद्यालय भट्टेचौर र आधारभूत विद्यालय लामपाखाको अवस्था हविगत अवस्थामा रहेको छ। भवन निर्माणमा पनि खास प्राविधिकको स्टेमेन्टअनुसार निर्माण गरिएको छैन। प्राविधिकको स्टेमेन्टअनुसार विद्यालयको भौतिक निर्माण हुन नसक्दा छोटो समयमै भवन जीर्ण हुने गरेका छन्।

भौगोलिक विकट देखाउँदै भनेअनुसार भौतिक संरचना निर्माण हुन नसकेको भनी विद्यालय प्रशासनले टार्ने गरेका छन्।

भौतिक संरचना व्यवस्थित बनाउने भनी वर्षैपिच्छे नयाँ भौतिक संरचना निर्माण र भत्किाएको संरचनालाई मर्मतको नाममा बजेट माग गर्ने थलोको रूपमा पनि लिइराखेको अवस्था छ।

सरकारले बजेट विनियोजन गरिदिए पछि राम्रो भौतिक संरचना बन्छ कि भने सर्वसाधारणमा आस पलाउँछ फेरि काम भने बजेट पचाउनका लागि टालटुल काम।

विद्यालय बालबालिका मैत्री बनाउने भनिए पनि स्थानीय बुद्धिजीवि र विद्यालय परिवारको लापरबाहीले सरकारको लगानी चरम दुरुपयोग अवस्थामा छन्।

कोठामा धुलो, माटो र गिट्टी

यी दुई विद्यालय मात्र नभर्ई सम्भवतः रुकुमपूर्वका धेरैजसो सरकारी विद्यालयको हविगतमै छन्। स्थायी र अस्थायी बसाइँसराइ, राम्रो पठनपाठनका लागि अभिभावकसामु विकल्पको विस्तार निजी विद्यालयप्रतिको बढ्दो आकर्षण र त्यसप्रतिको सकारात्मक सामाजिक दृष्टिकोणका कारणसमेत सरकारी विद्यालयलाई व्यवस्थिति गर्नेतर्फ कसैको ध्यान पुगेको छैन।

मावि भट्टेचौर कक्षा २ का विद्यार्थीको कोठामा धुलो, माटो र गिट्टी थुपारिएको छ। विद्यालय परिवारले धुलो, माटो र गिट्टी थुपारिदिँदा पठनपाठनमा असहज भइरहेको विद्यार्थीले बताएका छन्।

शिक्षक शिक्षिकाको बेवास्ता

विद्या हासिल गर्ने विद्यालय एक मन्दिर हो। जहाँ पवित्र मनका शिक्षक शिक्षिकाबाट बालबालिकाले उज्जल भविष्य निर्माणको सपना देख्ने गर्दछन्। तर, विद्यालय प्रशासनको यो हविगतले बालबालिकाको भविष्य धराशायी भइरहेको अभिभावकले बताएका छन्।

विद्यालय परिसर र विद्यार्थी सफा सुग्घर हुनु पर्नेमा अभिभावकको ध्यान नपुग्दा र शिक्षक शिक्षिकाको बेवास्ताले शिक्षा हासिल गर्ने थलो कुरूप देखिएको छ।

विद्यालयको लेखाजोखा शून्य

विद्यालयमा भइरहेको गतिविधिका साथै सञ्चालित कार्याक्रमको लेखाजोखा राख्ने नगरिएको सिस्ने गाउँपालिकाका शिक्षा युवा तथा खेलकूद शाखाका प्रमुख मंगलसिंह बुढाले बताए।

विद्यालय अनुगमनको क्रममा विद्यालय गतिविधिको अवस्था शून्य रहेकोले आगामी दिनमा सुधारका लागि सुझाव दिइएको प्रमुख बुढाले जानकारी दिए।

विद्यालय परिसर सरसफाइ गर्ने, अभिलेख चुस्तदुरुस्त राख्ने, कार्यालय व्यवस्थित गर्ने, जिन्सी खाता राख्ने, शैक्षिक सामग्री कक्षा कोठामा व्यवस्थित प्रयोग गर्ने यसैगरी विद्यालय समयमा खोल्ने, कोभिड–१९ सुरक्षा सामाग्री समयमै बाँड्ने, सुरक्षित तरिकाले दिवा खाजा खुवाउने, बुककर्नर बनाउने, विषयगत शिक्षक अनुसारको पठनपाठनको समय तालिका बनाउनु पर्ने, छात्रबृत्ति बाँडेको भरपाई र लेखा परीक्षण गरिएको हर हिसाब बिल दुरुस्त राख्ने लगायत सुझाव दिइएको प्रमुख बुढाले बताए।

सरकारको शिक्षामैत्री लगानी उपलब्धि शून्‍य

सरकारले शिक्षा क्षेत्रमा धेरै लगानी गरे पनि उपलब्धि भने शूल्य अवस्था भइरहँदा पनि विद्यालय परिवार र स्थानीय बुद्धिजीविको ध्यान पुग्न नसक्दा ग्रामीण क्षेत्रका विद्यालयको गुणस्तरीय शिक्षा खस्किदो अवस्थामा रहेको बुढाको भनाइ रहेको छ।

विद्यालय सुधारका लागि सरकारले विभिन्न शीर्षकमा नियमित रकम पठाउने गरे पनि त्यस मार्फतको काम भने शून्य अवस्थामा रहेको बुढाले जानकारी दिए।

कमजोरी सुधर्छौँ : प्रअ

यता, आधारभूत विद्यालय लामपाखाका प्राधानाध्यापक जयराम बोहोराले भने आन्तरिक विद्यालय परिवारमा केही कुरामा बेमेलका कारणले विद्यालयको अवस्था कमजोर बन्दै गएको स्वीकारेका छन्।

आगामी दिनमा विद्यालयमा देखिएको कमजोरीलाई सुधार गर्दै जाने बोहोराले बताए। यसैगरी मावि भट्टेचौर परिवारको पनि आधारभूत विद्यालय लामपाखाको भन्दा फरक छैन।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.