|

काठमाडौं : नेपाली कांग्रेसले आगामी स्थानीय चुनावमा सत्ता गठबन्धनभित्रको तालमेलबारे अहिल्यै नै बोल्नु हतार हुने जनाएको छ। 

एक महिने चुनावी अभियानबारे जानकारी दिन पार्टी केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता डा.प्रकाशशरण महतले यस्तो बताएका हुन्।

अहिले गठबन्धनको चुनावी तालमेलबारे बोल्नुपर्ने आवश्यकता छैन, पत्रकारले सोधेको प्रश्नको जवाफ दिँदै महतले भने, 'कसो गर्दा बढी सिट जितिन्छ त्यसैअनुसार अघि बढ्ने निर्णय हुन्छ।'

एक महिने चुनावी अभियानमा केन्द्रीय प्रतिनिधिले जनतामाझ गएर तालमेलबारे के भन्छन् ? भन्ने प्रश्नमा महतले थपे, 'उम्मेदवार उठाउने बेलामा यसबारे निर्णय हुन्छ, अहिल्यै हतार गर्नुपर्ने विषय होइन। हाम्रा प्रतिनिधिले अभियानका क्रममा चुनावी तालमेलबारे बोल्दैनन्।’

पत्रकार सम्मेलनमा उपस्थित उपसभापति पूर्णबहादुर खड्काले चुनावी तालमेल को सँग गर्ने वा नगर्ने भन्ने विषयमा कांग्रेस केन्द्रीय समिति र कार्यसम्पादन समितिले निर्णय गर्ने बताए।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गठबन्धनबीच चुनावमा मिलेर लड्ने सहमति भएको बताइरहनुभएको छ नि ? भन्ने प्रश्नमा खड्काले दोहोर्‍याए, 'कुन नेताले कहाँ के बोल्नुहुन्छ भन्दा पनि कांग्रेसले यसबारे के गर्ने भनेर केन्द्रीय समिति र कार्यसम्पादन समितिबाट एकमतले निर्णय गर्छ।'

प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवाले हिजो मात्रै जिल्ला खटिन लागेका पार्टीका प्रतिनिधिलाई गठबन्धनका दलहरूको चित्त दुख्ने गरी नबोल्न निर्देशन दिएका थिए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.