सबै प्रदेशमा अध्ययन केन्द्र खोल्ने योजना

|

काठमाडौं : कतिपय व्यक्ति उच्च शिक्षा हासिल गर्ने चाहना हुँदाहुँदै पनि कहिले जागिर त कहिले पारिवारिक समस्याका कारण वञ्चित हुन्छन्। कसैको पढ्ने वातावरण नमिल्दा मेलापातमै दैनिकी बितिरहेको छ। तर, यी बाध्यताबीच पनि उच्च शिक्षा अध्यापन गराउने विश्वविद्यालय पनि राजधानीमा छ। त्यो हो–नेपाल खुला विश्वविद्यालय।

यो विश्वविद्यालय सञ्चालन भएको ४ वर्ष पूरा भएको छ। सरकारले ‘नेपाल खुला विश्वविद्यालय ऐन, २०७३’ पारित गरेसँगै विश्वविद्यालय विधिवत रुपमा स्थापना भएको हो। विश्वविद्यालयले शैक्षिक कार्यक्रम भने २०७४ जेठ ३० देखि सञ्चालनमा ल्याएको हो।

ऐनको दफा (३) को उपदफा (१) मा उल्लेख छ, ‘खुला शिक्षा प्रणालीद्वारा विभिन्न विषयमा उच्चस्तरीय अध्ययन,अध्यापन तथा अनुसन्धान गर्ने, गराउने काम समेतको लागि नेपाल खुला विश्वविद्यालय स्थापना गरिएको छ।’

के हो दूर शिक्षा, कुन–कुन विषय पढाइ हुन्छ?

घरैमा बसेर वा पढाइ हुने ठाउँभन्दा टाढाबाट शिक्षा प्राप्त गर्ने तरिका दूर शिक्षा हो। यसमा पत्राचार, श्रव्य र श्रव्यदृश्य प्रविधिमा आधारित माध्यमबाट शिक्षा दिइन्छ। यसरी नै शिक्षा प्रदान गर्न यो विश्वविद्यालय खुलेको विश्वविद्यालयका रजिष्ट्रार डा. गोविन्दसिंह बिष्ट बताउँछन्।

उनी भन्छन्, ‘विभिन्न भूगोलमा बस्ने, भौतिक उपस्थितिमा पढ्न नसक्नेलाई उच्च अनि गुणस्तरीय शिक्षाको अवसर दिन यो विश्वविद्यालय खुलेको हो।’ उनका अनुसार विभिन्न पेशामा लागेर पढ्न नपाएकाहरूले यस विद्यालयमा पढ्न पाउँछन्।

‘धेरैजसो महिलाले विवाह गरेपछि चुलोचौकामै दिन बित्छ, पढ्न मन भएपनि समय हुँदैन, उहाँहरूलाई पनि हामी समेट्छौँ, यस्तै कारणले अरु विश्वविद्यालयमा पढ्न नपाएकाहरूलाई फुर्सदिलो अवसरमा पढ्ने वातावरण दिन्छौँ,’ उनले भने। 

उनका अनुसार अहिले दैनिक साँझ साढे ६ बजेदेखि साढे ९ बजेसम्म अनलाइनबाट पठनपाठन हुन्छ। यसमा देशभरिका विद्यार्थीले पढ्ने अवसर पाएका छन्। हाल विश्वविद्यालयमा करिब ३ हजार ५ सय विद्यार्थी अध्ययनरत छन्।

यो विश्वविद्यालयमा फ्याकल्टी अफ सोसल साइन्स एण्ड एजुकेशन, फ्याकल्टी अफ साइन्स एण्ड हेल्थ टेक्नोलजी र फ्याकल्टी अफ म्यानेजमेन्ट एण्ड ल गरी ३ संकाय छन्। प्रमाणपत्र तहदेखि पिएचडीसम्मका कार्यक्रमहरू छन्।

‘प्रमाणपत्रमा १० महिने डिप्लोमा, लाइबेरीसम्बन्धी कोर्स छ,’ उनले भने, ‘म्यानेजमेन्टमा बिबिएस, एलएलबी, शिक्षा संकायमा बिएड र सोसल साइन्समा बिए, एम एमा विज्ञान संकाय, एमफिलका कार्यक्रम र व्यवस्थापनमा मास्टर्स कार्यक्रम सञ्चालनमा छ।’  अहिले व्यवस्थापन संकायमा ९ जनाले पिएचडी गरिरहेका छन्। यो विश्वविद्यालयमा जुनसुकै वर्गले पढ्न पाउने उनको भनाइ छ। 

कुन समयमा भर्ना हुन्छ, भर्ना भएपछि के–के गर्नुपर्छ ?

विश्वविद्यालयका अनुसार जाडो र गर्मी याममा भर्ना खुल्छ। भर्ना खुल्नुअगावै अनलाइन र वेबसाइटबाट सूचना प्रकाशित हुल्छ। सोसल साइन्स एण्ड एजुकेशन र साइन्स एण्ड हेल्थ टेक्नोलजीको भर्नाका लागि अहिले आवेदन खुलेको छ।

विश्वविद्यालयका रजिष्ट्रार बिष्टले भने, ‘परम्परागतभन्दा यो विश्वविद्यालय फरक छ, फरक ढंगले कार्यक्रम सञ्चालन हुन्छ, सबैले अवसर पाउँछन्, त्यसैले पनि यहाँ भर्ना हुन आवश्यक छ।’ उनका अनुसार भर्ना भएपछि कोर्समा अध्ययनदेखि प्राक्टिकलसमेत गराइन्छ।

आन्तरिक मूल्यांकन (४० प्रतिशत) र बाह्य मूल्यांकन (६० प्रतिशत) गरी दुई तरिकाबाट मूल्यांकन गर्ने पद्दति छ। आन्तरिक मूल्यांकनमा शिक्षकले सिकाइका आधारमा अंक दिन्छन् भने बाह्य मूल्यांकनअन्तर्गत प्राक्टिकल,असाइनमेन्ट, मिड टर्म परीक्षालगायतका आधारमा अंक दिइन्छ। 

प्रमाणपत्रको विषयमा उनी भन्छन्, ‘यो सरकारले सदनबाट ऐन जारी गरेर सञ्चालन भएको विश्वविद्यालय हो, यहाँ सरकारले अरु विश्वविद्यालयबाट पढेर आएकाहरूको सर्टिफिकेटको समकक्षता छ कि छैन भनेर हेर्ने अधिकारसमेत दिएको छ, त्यसैले प्रमाणपत्रमा कुनै शंका नगर्दा हुन्छ, जहाँसुकै पनि प्रतिस्पर्धामा जान पाइन्छ।’ 

इन्टरनेट र प्रविधि पहुँच नभएकालाई पनि पढाइने

इन्टरनेट र प्रविधिको पहुँच नभएका दुर्गम ठाउँका विद्यार्थीलाई पनि विश्वविद्यालयले उच्च शिक्षा दिने योजना बनाएको छ। ‘कुनाकाप्चाका विद्यार्थीलाई पनि विभिन्न शैक्षिक सामग्री उपलब्ध गराएर, आफैँ सेल्फ अध्ययन गर्ने व्यवस्थाका लागि गृहकार्य गरिरहेका छौँ,’ उनले भने, ‘छिट्टै यस्तो सुविधा ल्याउँछौँ।’ सबैलाई उच्च शिक्षाको पहुँचमा ल्याउने उनले बताए। 

सबै प्रदेशमा खोल्ने तयारी

विश्वविद्यालयको केन्द्रीय कार्यालय ललितपुरको मानभवनमा छ। ऐनको उपदफा (२) मा विश्वविद्यालयको केन्द्रीय कार्यालय सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकिदिएको नेपालको कुनै स्थानमा रहने उल्लेख छ।

त्यसैले आफ्नै केन्द्रीय कार्यालय बनाइरहेको विश्वविद्यालयका रजिष्ट्रार बिष्टले बताए। ‘सरकारले सानोठिमीमा ९ रोपनी जग्गा दिएको छ, त्यहाँ केन्द्रीय भवन बन्दै छ, अहिले भाडामा बसेका छौँ,’ उनले भने।

त्यस्तै, ऐनको उपदफा (३) मा विश्वविद्यालयले नेपालभित्र र आवश्यकताअनुसार बाहिर पनि आफ्नो कार्यक्रम सञ्चालन गर्नसक्ने व्यवस्था छ। यो केन्द्रीय भवन बनेपछि ७ वटै प्रदेशमा अध्ययन केन्द्र खोल्ने जानकारी उनले दिए। ‘प्रदेश सरकारसँगको समन्वयमा अध्ययन केन्द्र खोली सुविधा दिने छौँ,’ उनले भने।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.