'मेरा लागि नाटक भनेकै आमाको काख'
काठमाडौं : झण्डै पाँच दशकदेखि मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको मह जोडी नेपाली कला क्षेत्रमा सक्रिय छ। नेपाली हास्यव्यंग्यको धरोहर मानिने यो जोडीलाई अहिलेको पुस्ताका कलाकारले अविभावक मान्ने गर्छन्।
सफल फिल्म निर्देशक प्रदीप भट्टराईले एक अन्तरवार्तामा मह जोडीलाई हास्यव्यङ्ग्यको विश्व विद्यालय बताएका छन्। रंगमञ्चबाट अभिनयको यात्रा सुरु गरेका उनीहरूको आवाज क्यासेटमा भरिएर देश विदेश जताततै पुग्थ्यो। अनुहार नदेखे पनि मान्छेहरू आवाजले मह जोडीलाई चिन्थे।
क्यासेटमा आवाज रेकर्ड गर्ने त्यो युगदेखि आजको इन्टरनेटको युगसम्म आइपुग्दा नेपाली रंगमञ्चले धेरै उतारचढाव देखेको र भोगेको छ। यसको स्वरूपमा पनि धेरै परिवर्तन आएको छ। जुन परिवर्तनको साक्षी मह जोडी पनि हो।
महका 'ह' अर्थात् हरिवंश आचार्यले नेपाली रंगमञ्चको फेरिएको स्वरूप र आफ्नो रंगयात्राको अनुभव थाहाखबरकर्मी मुक्ति पौडेलसँग साटेका छन्। प्रस्तुत छ उनीसँगको कुराकानीको सम्पादित अंश :
हेरेको नाटक
पहिले पहिले कात्तिक मंसिरतिरको फेस्टिभ मुडमा डबलीमा नाटक हुन्थ्यो। सुरुमा त्यस्तै नाटक हेरियो। वि.स २०२९-३० सालतिर राष्ट्रिय नाचघरमा मञ्चन गरिएको राजा हरिशचन्द्र भन्ने नाटक हेरेको थिएँ।
त्यतिबेला नाटकका महिला पात्रको लामो रुद्र घण्टी पनि देखिन्थ्यो, दाह्री काटेको डोब पनि देखिन्थ्यो, बोल्दा केटाको जस्तो आवाज आउँथ्यो। किनभने महिला कलाकार पाउन गाह्रो भएपछि केटालाई नै महिला बनाएर खेलाउने चलन थियो।
म प्रभावित भएको दार्जिलिङका साथीहरूले ल्याउनुभएको अनि देउराली रुन्छ भन्ने नाटक हो। प्रज्ञा भवनमा लामो समयसम्म त्यो नाटक देखाइएको थियो।
नाटकमा गीत राखेर फिल्मी शैलीमा गरिएको थियो। नाटक कमर्सियल रूपमा पनि सफल भयो।
नाटकका 'हे फूल चुँडेर लाने, देउरालीका ठिटी हो लगायतका गीत पनि निकै हिट भएको थियो। अझ महत्वपूर्ण कुरा के भने त्यो बेलामा राजा वीरेन्द्रले उक्त नाटकबाट प्रभावित बनेर एक लाख रुपैयाँ पुरस्कार हस्तान्तरण गर्नुभएको थियो। त्यसले नेपालको आधुनिक रंगमञ्चमा पनि ठूलो प्रभाव पार्यो। त्यसपछि नाटक गर्ने लहर चलेको थियो।
पहिलो नाटक, जसले अमेरिकाको यात्रा गरायो
हाम्रो कुरा गर्दा हामीले पनि यमलोक, अंशवण्डा, होस्टे हैँसेलगायत मदन दाइ, मैले जति कामहरू गर्यौं, ती सबै नाटकहरू हुन्। मान्छेले यो नाटक,यो
हास्य-व्यङ्ग्य भनेर विभाजन गरेर हेर्छन्। त्यसरी हेर्दा अलिक अन्याय हुन सक्छ, ती हाम्रा ह्युमर बेसका नाटक हुन्। नाटकका रूपमा हामीले विज्ञापन भन्ने नाटक गरेका थियौं। जसको मञ्चन ३ सय ७४ पटक भएको थियो।
नेपाल अधिराज्यमा जति पनि शहरहरू थिए, जहाँ बिजुली पुगेको थियो, सिनेमा हल खुलेका थिए, हामीले मञ्चन गर्यौं। उक्त नाटक देशमा मात्र होइन, देशबाहिरका मुलुकहरू हङकङ,अमेरिकाको ३५ वटा स्टेटमा पुर्याएका थियौं। मलाई जहाँसम्म याद छ, अमेरिकामा नाटक देखाउन जाने पहिलो नेपाली टिम पनि हामी नै बन्यौँ।
एक वर्षसम्म एउटै नाटक
हाम्रो आफ्नो हल थिएन। कन्टिन्यु देखाउन पाइँदैनथ्यो। एक हप्ता देखायो त्यसपश्चात् हल अरूले बुक गरेका हुन्थे। एक हप्ता दुई हप्ता ग्याप गर्यो, फेरि देखायो। त्यसरी टुक्रा टुक्रा गरेर देखाउनुपर्ने बाध्यता थियो।
नेपाल टेलिभिजनमा ट्रेनिङ दिनका लागि अमेरिका इथाका कलेजका प्रोफेसरहरू आउनुभएको थियो, मैले पनि ट्रेनिङ लिने मौका पाएँ।
त्यतिबेला हाम्रो नाटक चलिरहेको थियो। एक वर्षपछि उहाँहरू फेरि आउनुभएको थियो, त्यतिबेलासम्म पनि हाम्रो नाटक चलिरहेकै थियो। एक वर्ष अगाडि आउँदा पनि नाटक हेर्न टिकट लिने मान्छेको जति लाइन थियो, एक वर्षपछि उक्त लाइनले लय बिगारेको थिएन। उहाँ छक्क पर्नुभएको थियो।
नाइट सो
राष्ट्रिय सभागृहमा त चार पाँच बजे नै सो गर्थ्यौँ तर सिनेमा हलमा बेलुकाको नौ बजेको सिनेमा छुटिसकेपछि हामीले लाइट, साउण्ड, मञ्च तयार गर्थ्यौँ। त्यसपछि मेकअप गर्थ्यौँ, अनि बल्ल नाटक गर्थ्यौँ।
दश-एघार बजे सो सुरु हुन्थ्यो। राति एक दुई बजेसम्म मान्छेहरू नाटक हेर्थे।
एउटै नाटकमा लामो समय लाग्दा हाम्रो अरू सिर्जना भएन। सधैँ एउटै ड्रामा यसरी देखाएर साध्य भएन भनेर त्यसलाई सुटिङ गर्यौँ। हाई भिजन हलहरूमा देखायौँ। त्यसो गर्दा भौतिक रूपमै उपस्थित हुनुपरेन। आफू अरू काममा पनि लाग्न सकियो।
टेलिभिजन युग
वि.स २०४२ भन्दा अघि टेलिभिजनको युग सुरु भएको थिएन। नाटक मान्छेहरूको मनोरञ्जनको लागि सशक्त माध्यम थियो। त्योबाहेक रेडियो र हिन्दी सिनेमा मात्रै थिए। नेपाली सिनेमा त पाँच वर्षमा बल्ल एउटा बन्थ्यो।
टेलिभिजनको युग आएपछि रंगमञ्च अलिकति ओरालो लाग्यो। त्यसका बाबजुद पनि हामी महजात्रा, गाईजात्रा भनेर दुई तीनवटा प्रहसन सो गर्थ्यौँ।
कोरोना आउनु अघिसम्म नै गर्यौं। अहिले लाइभ पफर्मेन्स अलिकति घटेको छ।
मान्छेको शरीर हो, पहिलेको जस्तो एक्टिभ हुन नसकिएला। नाटकको सेट बनाउनेदेखि लाइट साउण्ड सबैतिर आफैँले हेर्ने गर्थ्यौं। अब उमेरले साथ दिन विस्तारै छोडेको छ। यद्यपि, हामीले रंगमञ्च छोडेका छैनौँ।
युट्युबमा लेटेस्ट 'नेवार बहादुर बाहुन बहादुर', 'मदनको फोटो स्टुडियो' भन्ने नाटक नै हो हामीले चार वर्षअघि देखाएका थियौँ। कोभिडले गर्दा त्यसपछि देखाउन पाएका छैनौँ ।
पहिले र अहिले
१४-१५ सय मान्छे अट्ने हलमा नाटक देखाउँथ्यौँ। हाम्रो टिकट दर पनि एक हजार, दुई हजार र पाँच हजार हुन्थ्यो। सय, दुई सय जाने टिकट एकदमै थोरै हुन्थ्यो। सस्तो टिकट पनि छ है भन्नको लागि मात्रै।
स्पोन्सरसिप पनि राम्रो उठाउँथ्यौँ। हलको भाडा विज्ञापनको खर्चहरू सबै स्पोन्सरको हुन्थ्यो। त्योसँगै सामाजिक काममा पनि जोडियौँ। त्यसरी धेरै खानेपानी, स्वास्थ्य चौकी, लाइब्रेरीहरू बनेका छन्।
अहिले नाटकको स्वरूप फेरिएको छ। कला क्षेत्र हेर्ने सरकारी संस्थाहरू भवन मात्रै भएका छन्। अहिलेको रंगमञ्च निजी क्षेत्रले धानिरहेको छ।
सय डेढ सयजना अट्ने धेरैवटा नाटकघर बनेका छन। टिकटको मूल्य पनि सामान्य मान्छेहरूले किन्न सक्ने नै राखिएको छ।
हाम्रोमा सस्तो भयो भने स्ट्यान्डर्ड मान्छे जाँदैनन्। महँगो टिकट राखेर प्रज्ञा भवनमा गर्यो भने सबैले इन्ट्रेस्ट गर्छन्। थिएटरमा एउटा बौद्धिक जमात त जान्छ तर व्यापारिक वर्गहरूको उपस्थिति देखिँदैन।
कमर्सियलाइज नभए पनि अहिले नाटकको स्तर भने बढेको छ। राम्रा राम्रा कलाकारहरू निस्केका छन्। नाटक भनेको एउटा बेस हो। यसले एक्टिङ मात्र नभएर धेरै कुरा सिकाउँछ। मेरो लागि नाटक भनेको आमाको काख हो।
टेलिभिजनको युग सुरु भएपछि
नीर शाहजी नेपाल टेलिभिजनको पहिलो महाप्रबन्धक भएर आउनुभएको थियो। उहाँले आउनुस् टेलिफिल्म बनाऊँ भनेर हामीलाई बोलाउनुभयो। तर, त्यसमा हामीलाई अलिकति गाह्रो के थियो भने हामी थिएटरमा गोभरमेन्टको अगेन्स्टमा प्रस्तुति गर्थ्यौं।
त्यसले गर्दा हामीलाई हरेक कुरामा डाउट गरिन्थ्यो। हामीलाई अलि बढी सेन्सरसिप हुन्थ्यो।
रंगमञ्चमा काम गर्दा मान्छेहरूले हाम्रो आवाजले चिन्थे। घरघरमा हाम्रो क्यासेट हुन्थ्यो। नाम थाहा थियो, आवाज चिन्थे, अनुहार चिन्दैनथे। टिभी आइसकेपछि अनुहार चिनाउन पाए हुन्थ्यो भन्ने अलिकति लोभ हामीलाई पनि भयो। त्यसैले गर्दा टेलिश्रृंखलाप्रति हामी आकर्षित भयौँ।
यमलोक, अंशबन्डा जस्ता नाटकले हामीलाई एकदमै पपुलर बनाएको थियो। क्यासेट सेलबाट पैसा पनि हामीले राम्रो आर्जन गर्यौँ। तर बाटोमा हिँड्दा मान्छेले चिन्दैनथे। टेलिभिजनमा देखिन थालेपछि मान्छेले चिन्न थाले।
विस्तारै बाटोमा हिँड्दा गाह्रो हुन थाल्यो। हुँदा हुँदा अहिले बाटोमा एक्लै हिँड्नै सकिँदैन। कोसँग कुरा गर्ने कोसँग नगर्ने। कहिलेकाहीँ लुकेर हिँड्नुपर्ने हुन्छ। यो काम नै यस्तै खालको छ।
कलाकारको अवस्था
सबैको अवस्था राम्रो थिएन। कोही मान्छे जागिरे नै थिए। सरकारी संस्थामा काम गरेर महिनामा मलाई यति पैसा आउँछ भन्ने थियो।
जागिर भनेको धेरै ठूलो कुरो हुन्थ्यो। जसको जागिर हुन्थ्यो उसलाई मध्यम वर्गीय जीवन निर्वाह गर्न गाह्रो थिएन। जसको जागिर थिएन उनीहरूलाई गाह्रो नहुने कुरा नै रहेन। सुरुवाती दिनमा हामीले पनि गाह्रो समय बितायौँ तर विस्तारै हट्दै गयो।
अनि कला क्षेत्रलाई कमर्सियलाइज पनि गर्नुपर्छ भनेर हामीले नै सुरुवात गर्यौँ। जसले गर्दा हामीलाई पैसा कमाउनको लागि मात्रै काम गरेको भन्ने आरोप लाग्थ्यो।
हामीले त्यस्तो आरोपलाई खण्डन पनि गरेनौँ, कन्सियस पनि भएनौँ। आफ्नो काम गर्दै गयौँ। गर्दै गएपछि आर्थिक आर्जन पनि राम्रै भयो।
अहिले पनि कला क्षेत्रमा लागेका सबैको जीवन राम्रो छैन। जो आफैँ गर्छन्, उनीहरूले गरेका छन् जो अरूमा आश्रित हुन्छन् उनीहरूलाई गाह्रो छ।
आइडल
जितेन्द्र महत अभिलाशी भन्ने दाइ हुनुहुन्थ्यो जो रेडियोमा ड्रामा खेलाउनुहुन्थ्यो। मलाई पनि ड्रामा खेलाउनु न दाइ भन्दै दाइको पछि लागिराखेपछि उहाँले मलाई रेडियो ड्रामा खेल्न लैजानुभयो। त्यो बेला रेडियो नाटकलाई रूपक भन्ने चलन थियो।
हरिप्रसाद रिमाल त्यो ड्रामाको निर्देशक हुनुहुन्थ्यो। मदनदास श्रेष्ठ दाइ शकुन्तला दिदी सुशीला रायमाझीहरू त्यो बेला प्रमुख पात्र हुनुहुन्थ्यो।
मैले सानो सानो रोल पाएँ। रिमालले मलाई राष्ट्रिय नाचघर पनि लिएर जानुभयो। उहाँसँग दुई-तीनवटा नाटक पनि गरेँ। हास्य-व्यङ्ग्य आफैँले गर्दै सिक्दै गरियो। तर, मलाई एक्टिङको कखरा सिकाउने रिमाल हुनुहुन्छ। मेरो एक्टिङको गुरु, आइडल उहाँ नै हो।
अघिल्लो पुस्ता
हामीभन्दा अगाडि हास्य-व्यङ्ग्य क्षेत्रमा राजपाल धु्रवाडा, गोपालराज मैनाली, रामशेखर नकर्मी दाइहरू हुनुहुन्थ्यो। उहाँहरूको पालामा प्रविधिको त्यस्तो विकास भइसकेको थिएन। अलिअलि भएको पनि उहाँहरूले अंगाल्नुभएन। गीतको क्यासेट निस्केको बेला थियो।
गीतको क्यासेट मात्रै किन हाम्रो हास्य-व्यङ्ग्यको क्यासेट पनि निकाल्ने भनेर हामीले प्रविधिलाई प्रयोग गर्यौं थिएटरमा हुने प्रस्तुति हामी क्यासेटमा भरिहाल्थ्यौँ। प्रविधिको प्रयोग गरेकाले आधुनिक युगमा हास्य-व्यङ्ग्यलाई लिडरसिप गर्ने हामी हुन पुग्यौँ।
लाखौँको आइडल आफैँ बन्दा
म यो स्थानमा पुग्न सक्छु भनेर मैले कहिल्यै पनि कल्पना गरेको थिइनँ। यो मैले कल्पनाभन्दा बाहिरको कुरा पाइरहेको छु।
तर, म त्यही पुरानै धरातलमा उभिएर बस्छु। मैले पहिलोपटक यो क्षेत्रमा जहाँ पाइला टेकेँ, आज पनि त्यहीँ उभिएर हेर्छु। अहिले पनि सिक्दै नै छु। एउटामा एउटा काम गर्यो, अर्कोमा त्योभन्दा राम्रो कसरी गर्ने त्योभन्दा पृथक् कसरी गर्ने भन्ने चिन्ता भइरहन्छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।