|

कोरोना महामारीको संक्रमण कम भएसँगै अन्य क्षेत्रले गति लियो। तर, पर्यटन क्षेत्रमा सरकारले लगाएको विभिन्न प्रावधानका कारण लामो समयसम्म सञ्चालनमा आउन सकेन। जसले नेपालको पर्यटन क्षेत्रमा ठूलो क्षति पुग्यो।

पछिल्लो समय कोरोनाको संक्रमण घट्दै गएसँगै पर्यटन क्षेत्रले विस्तारै गति लिएको छ। अहिले पर्यटन क्षेत्रको अवस्था कस्तो छ? पुरानै अवस्थामा पुग्न कति समय लाग्छ? सरकारसँग कस्तो योजना छ? आदि विषयमा नेपाल पर्यटन बोर्डका निर्देशक मणि लामिछानेसँग थाहाखबरकर्मी सञ्जिता आचार्यले गरेको कुराकानी :

अहिले कोरोनाको प्रभाव घट्दै गएको छ‚ पर्यटन क्षेत्रको अवस्था कस्तो छ? 

विश्वभरि महामारीको रूपमा फैलिएको कोरोना भाइरसको तेस्रो भेरियन्टको संक्रमण कम हुँदै गएसँगै पर्यटन क्षेत्रमा सुधार आएको छ। पहिलाको तुलनामा पर्यटक आगमन बढेको छ। होटल, ट्राभल एण्ड टुर कम्पनीको बुकिङ बढ्दै गएको छ। कोरोनाका कारण व्यवसाय छोडेर पलायन भएकाहरू पनि फेरि व्यवसाय सञ्चालनतर्फ लागेका छन्। यसरी हेर्दा पर्यटन क्षेत्रले फेरि गति लिएको छ।

त्यसो भए पर्यटन क्षेत्र पुनः चलायमान भएको हो

पछिल्लो समय पर्यटन क्षेत्रमा सुधार आएको छ। सन् २०२२ को फेब्रुवरीमा २० हजार पर्यटक नेपाल भित्रिएका छन्। गत वर्षको सोही महिनामा नौ हजार १४६ जना नेपाल आएका थिए। सन् २०२२ को पहिलो महिना अर्थात् जनवरीमा १६ हजार पर्यटक भित्रिए। यो तथ्यांकले पनि सुधार आएको देखाउँछ।

एक महिनामा भारतबाट ५ हजार ९९८‚ अमेरिकाबाट ३ हजार ६१४ र बेलायतबाट २ हजार २१७‚ अष्ट्रेलियाबाट १ हजार ५२ र रुसबाट १४७ जना जना पर्यटक नेपाल आएको बोर्डको तथ्यांक छ। चीनले आफ्ना नागरिकलाई भ्रमणमा जान खुला नगरेका कारण चिनियाँको संख्या कम भएको बोर्डले जनाएको छ। यस अवधिमा मात्र २०५ जना चिनियाँ आएका थिए।

पर्यटन क्षेत्रलाई कोरोना महामारीले कस्तो असर पार्‍यो?

कोरोनाको महामारीले विश्वका सबै क्षेत्रमा क्षति पुर्‍याएको छ। कोरोनाको प्रभाव कायमै रहँदा अन्य क्षेत्रमा भने चहलपहल बढिसकेको थियो। तर‚ पर्यटन क्षेत्र लामो समयसम्म चलायमान हुन सकेन। पर्यटकको आगमनले चल्ने व्यवसाय भएकाले कोरोनाको डर र सरकारको मापदण्डका कारण झण्डै दुई वर्ष व्यवसाय ठप्प रह्यो। उक्त अवधिमा पर्यटन क्षेत्रले ठूलो आर्थिक क्षति बेहोर्‍यो।

होटल, रेष्टुराँ, विमान सेवा, ट्राभल एण्ड टुर तथा ट्रेकिङलगायत क्षेत्र ठप्प भए। कोरोनाका कारण ४७३ वटा साना तथा ठूला होटल बन्द भए। ३ हजार ७४३ ट्राभल एजेन्सी, २ हजार ७९७ ट्रेकिङ एजेन्सी, ४ हजार २४१ टुर अपरेटर ठप्प भए। जसका कारण पर्यटन क्षेत्रलाई मुख्य पेशा बनाएका ८० प्रतिशत मजदुर बेरोजगार भएका थिए। कोरोना महामारीअघि यस क्षेत्रमा २ लाख ८३ हजारले रोजगारी पाएका थिए।

महामारीका कारण ६० प्रतिशत व्यवसायीले व्यवसाय नै छोडेका थिए। पर्यटन व्यवसायले कोरोनाको सुरुवाती चरणदेखि हालसम्म करिब ३ खर्ब रूपैयाँ हाराहारी आर्थिक क्षति बेहोरेको छ। प्रतिमहिना करिब १० अर्ब रूपैयाँको क्षति भएको अनुमान छ।

पर्यटन क्षेत्रलाई पुरानै अवस्थामा फर्काउन कति समय लाग्ला?

पर्यटन क्षेत्रमा विस्तारै सुधारका संकेत देखिएको छ। त्यसैले पूर्ण रूपमा अर्थात् कोभिडअगाडिको अवस्थामा फर्काउन समय लाग्ने देखिन्छ।   

बाह्य पर्यटकका लागि नेपालमा के कस्ता सुविधा छन्?

नेपाल पर्यटनको हिसाबले आफैंमा भरिपूर्ण छ। नेपाल भ्रमणमा आउने पर्यटकलाई आइसोलेसेट, प्राकृतिक ठाउँमा लैजाने तयारी गरेका छौं। फरक सांस्कृतिक, विभिन्न वेषभूषा, खानपानको व्यवस्था गरिएको छ। त्यसको सकारात्मक सन्देश विश्व पर्यटन बजारमा गएको छ। त्यसको प्रशंसा पनि भएको थियो।  

आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धनका लागि सरकारको योजना के छ

पछिल्लो समय पर्यटक पुनः उत्थान निर्देशक समिति गठन गरेको छ। उक्त समितिको पहिलो बैठकले सन् २०२२ मा ५ लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्य लिएको छ। त्यहीअनुसार बोर्ड बजारीकरणको नीति बनाएको छ। सम्भव भएसम्म सबै ठाउँमा अन्तर्राष्ट्रिय बजारीकरण गरिरहेका छौं। भौतिक या भर्चुअव रूपमा छलफल गरिरहेका छौं। विभिन्न नयाँ गन्तव्य पत्ता लगाउने काम भइरहेको छ। विभिन्न जिल्लामा पूर्वका व्यवसायीलाई पश्चिममा एक्सचेन्ज गर्ने काम गरिरहेका छौं। विभिन्न देशमा भइरहेको कार्यक्रममा टुर अपरेटर लिएर जाने काम पनि भइरहेको छ। 

सरकारले नयाँ गन्तव्यको खोजीका लागि के कस्ता काम गर्दै आएको छ?

पर्यटन क्षेत्रमा सुधार ल्याउन नयाँ गन्तव्यको खोजी भएको छ। स्थानीय सरकार र प्रदेश सरकारको सहयोगमा नयाँ गन्तव्यका खोजी गरिरहेका छौं। विभिन्न जिल्लामा आकर्षक गन्तव्य फेला पनि परेको छ। तर, लामो समयदेखि बन्द रहेको व्यवसायलाई चलायमान बनाउन पर्यटकीय क्षेत्रलाई चिनाउनुपर्ने अवस्था आएको छ। जसका कारण पुराना भएकालाई संरक्षण र व्यवस्थापन गर्नुपर्ने अवस्था छ। विभिन्न कार्यक्रम अगाडि बढाएका छौं।   

नेपालमा पर्यटकको बसाइ अवधि लम्ब्याउन केही योजना छ कि?

पर्यटन क्षेत्रको मुख्य आम्दानी पर्यटकले गर्ने खर्च नै हो। जसका कारण सबैभन्दा मुख्य कुरा पर्यटकको बसाइ अवधि लम्ब्याउनु पर्ने हुन्छ। बसाइ लम्ब्याउन संस्कृति‚ वेषभूषालगायतलाई बजारीकरण गरेका छौं। परम्परागत जात्रा‚ मेला‚ महोत्सवमा सामेल गराउने लगायतका काम गरिरहेका छौं। आफैले अनुभव गर्न सक्ने कुरा पनि गर्दै आएका छौं।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.