|

बैतडी : बैतडीको देहिमाडौंमा जारी पाँचौँ संस्करणको मेयर कप टी-२० क्रिकेट प्रतियोगितामा बाराकोटले विजयी शुरुवात गरेको छ। दशरथचन्द नगरपालिका-१० बाराकोटले वडा नम्बर २ देहिमाडौंलाई ५ विकेटले हराएको हो। निंग्लाशैनी खेल मैदानमा देहिमाडौंले दिएको १ सय ६१ रनको लक्ष्य बाराकोटले १८ दशमलव ५ ओभरमा ५ विकेट गुमाएर पूरा गर्‍यो।

बाराकोटका प्रकाश बुडालले नटआउट ५८ रन जोडे। देहिमाडौंका सन्तोस बिजलेले ३ विकेट झारे। त्यसअघि घरेलु मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको देहिमाडौं १९ दशमलव २ ओभरमा १ सय ६० रनमा समेटियो। जसमा दीपक बोहराले ४१ र राजेन्द्र बोहराले ३३ रन जोडे। बाराकोटका दिनेश बुडाल, निरज बुडाल र कपिल चन्दले २/२ विकेट हात पारे।

म्यान अफ द म्याच बाराकोटका प्रकाश बुडाल घोषित भएको स्कोरर खेमराज भट्टले जानकारी दिए। दशरथचन्द नगरपालिकाको सहयोग र नगर क्रिकेट समितिको आयोजनामा फागुन २५ देखि सञ्चालन भएको प्रतियोगिता चैत २ गतेसम्म चल्नेछ। प्रतियोगितामा सहभागी ११ टोलीलाई ४ समूहमा विभाजन गरिएको नगर क्रिकेट समितिले जनाएको छ।

उपाधि विजेता टोलीले ७५ हजार र उपविजेता टोलीले ५० हजार ट्रफी, मेडल र प्रमाणपत्र पाउने नगर क्रिकेट समितिका संयोजक रमेश भट्टले जानकारी दिए। नगरपालिकाको वार्षिक कार्यक्रमअनुसार हरेक वर्ष मेयर कप क्रिकेट प्रतियोगिता सञ्चालन हुँदै आएको दशरथचन्द नगरपालिकाका क्रिकेट प्रशिक्षक दीपेन्द्र बहादुर बोहराले बताए। गत वर्ष चौथो संस्करणको मेयर कपको उपाधि वडा नं ५ दशरथचन्दलाई ४ रनले हराउँदै पार्दै वडा नं  ४ खलंगाले हात पारेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.