|

बैतडी : बैतडीको दशरथचन्द नगरपालिकामा भइरहेको पाँचौँ संस्करणको मेयर कप पुरुष टी-२० क्रिकेट प्रतियोगितामा अन्तर्गत शुक्रबार सम्पन्न खेलमा दशरथचन्द नगरपालिका-६ थालिगडा र वडा नम्बर २ देहिमाडौं विजयी भएका छन्। थालिगडाले वडा नम्बर ८ त्रिपुरालाई ५ रनले हरायो भने देहिमाडौंले वडा नम्बर १ गुरुखालालाई ६ विकेटले पराजित गरेको हो।

थालिगडाले दिएको २ सय १३ रनको विशाल लक्ष्य पन्छाएको त्रिपुराले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २ सय ७ रनमात्र बनाउन सक्यो। जसमा मनिस धामी र महेन्द्र मार्कण्डले अर्धशतकीय पारी खेले पनि हार टार्न सकेनन्। मनिसले ७८ र महेन्द्रले अविजित ७७ रन जोडे। थालिगडाका जितेन्द्र रावलले २ विकेट लिए।

त्यसअघि निंग्लाशैनी खेलमैदानमा पहिला ब्याटिङ गरेको थालिगडाले २० ओभरमा ६ विकेटको क्षतिमा २ सय १२ बनायो। उसका लोकेन्द्रसिंह रावलले ५६ र विक्रम कार्कीले नटआउट ५० रन हिर्काएका थिए। त्रिपुराका लागि जगदीश मौनी र मुकेश थापाले २/२ विकेट झारे। खेलका म्यान अफ द म्याच थालिगडाका लोकेन्द्रसिंह रावल चुनिएको स्कोरर तिलक बोहराले जानकारी दिए।  

अर्को खेलमा दशरथचन्द नगरपालिका-२ देहिमाडौंले वडा नम्बर १ गुरुखोलालाई ६ विकेटले हराएको छ। गुरुखोलाले दिएको १ सय १२ रनको लक्ष्य देहिमाडौंले ७ दशमलव २ ओभरमा ४ विकेट गुमाएर पूरा गर्‍यो।  जसमा भुपेन्द्र रावतले नटआउट ४४, दीपक बोहरा ३२ र सन्तोष बिजलेले ३० रन जोडे। गुरुखोलाका हरिश भाटले २ विकेट लिए।

त्यसअघि पहिला ब्याटिङ गरेको गुरुखोला १७ दशमलव ४ ओभरमा १ सय ११ रनमा समेटियो। जसमा सुरेश भाटले ३३, दीपक भट्टले २३ रन बनाउनुबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्। देहिमाडौंका दीपक बोहराले ४, सन्तोष बिजलेले २ विकेट झारे।  खेलका म्यान अफ द म्याच देहिमाडौंका दीपक बोहरा भए।

दशरथचन्द नगरपालिकाको सहयोग र नगर क्रिकेट समितिको आयोजनामा फागुन २५ मा शुरु  भएको प्रतियोगिता चैत २ गतेसम्म हुनेछ। प्रतियोगितामा सहभागी  ११ टोलीलाई ४ समूहमा विभाजन गरिएको नगर क्रिकेट समितिले जनाएको छ।

उपाधि विजेता टोलीले ७५ हजार र उपविजेता टोलीले ५० हजार ट्रफी, मेडल र प्रमाणपत्र पाउने नगर क्रिकेट समितिका संयोजक रमेश भट्टले जानकारी दिए। नगरपालिकाको वार्षिक कार्यक्रमअनुसार हरेक वर्ष मेयर कप क्रिकेट प्रतियोगिता सञ्चालन हुँदै आएको दशरथचन्द नगरपालिकाका क्रिकेट प्रशिक्षक दीपेन्द्रबहादुर बोहराले बताए। प्रतियोगिताले क्रिकेटको विकासका साथै खेलाडी उत्पादनमा सहयोग मिल्ने विश्वास गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.