|

झापा : भारतसँग जोडिएको झापाको सीमाबाट विषादी परीक्षणबिनै फलफूल, तरकारी र माछा नेपाल भित्रिने गरेको पाइएको छ। भारतबाट फलफूल, तरकारी र माछा नेपाल भित्र्याउँदा अनिवार्य विषादी परीक्षण गरी राजस्व तिर्नुपर्ने प्रावधान छ।

तर, पछिल्लो समयमा भारतसँग जोडिएको भद्रपुर नगरपालिका र मेचीनगर नगरपालिकामा प्रहरीकै मिलेमतोमा अवैध बाटो प्रयोग गरी भारतबाट फलफूल, तरकारी र माछा नेपाल भित्रिरहेको व्यापारीहरूको दाबी छ।

मेचीनगर–१५ स्थित कालिका चिया बगान नजिकको ९७/१ नम्बरको सीमास्तम्भ, भद्रपुर– ५ गणेश मन्दिर पूर्वको दोभान नजिकैको ९९ नम्बर सीमास्तम्भ, भद्रपुर– ५ स्थित देवीवस्ती नजिकैको १०० नम्बर सीमास्तम्भ र भद्रपुर–३ महेशपुरस्थित झोलुङ्गे पुल नजिकैको १०३ देखि १०४ नम्बर सीमास्तम्भ भएका ठाउँबाट भन्सार छलेर साइकलमा फलफूल, तरकारी र माछा भित्रिरहेको स्थानीयवासी बताउँछन्। भद्रपुर भन्सार कार्यालयका प्रमुख रामेश्वर मिश्रले भन्सारबाट लामो समयदेखि ती वस्तु आयात नभएको जानकारी दिए।

तर‚ व्यापारीहरूले भारतबाट साइकलमा फलफूल, तरकारी र माछा सीमा नाकासम्म ल्याउने र त्यहाँबाट अटोरिक्सा र ट्याम्पोमा हालेर भद्रपुर र चन्द्रगढीका साप्ताहिक बजारदेखि बिर्तामोडसम्म पुर्‍याउने गर्छन्। उनीहरूले सोमवार, बुधवार, शुक्रवार र शनिवार फलफूल, तरकारी र माछा भित्र्याउने गरेको स्थानीय बताउँछन्।

कालिका बगानमा सशस्त्र प्रहरीको बिओपी ज्यामिरगढीका टोली, घोडामारा प्रहरी चौकीका टोली खटिएको हुन्छ। भद्रपुरको देवीवस्ती नजिकै सशस्त्रको पोस्ट नै छ। झोलुङ्गे पुल नजिकै सशस्त्रको बओपी मेचीपारि, मेचीपारि प्रहरी चौकी र महेशपुर प्रहरी चौकी पर्छ। स्रोतका अनुसार अवैध बाटोबाट फलफूल, तरकारी र माछा भित्राए बापत व्यापारीले सशस्त्र र नेपाल प्रहरीका इन्चार्जलाई मासिक ५ देखि १० हजार रूपैयाँसम्म दिने गरेका छन्। यस्तै‚ ड्युटीमा खटिएका प्रहरीले प्रतिसाइकल ५० देखि १०० रुपैयाँ रकम असुल्दै आएको स्रोत बताउँछ।

प्रहरीको मिलेमतोमा अवैध बाटोबाट फलफूल, तरकारी र माछा भित्रिँदा आफूहरू मारमा परेको व्यापारीहरू बताउँछन्। अवैध बाटोबाट ल्याउनेहरूले सस्तो मूल्यमा बिक्री गर्ने र भन्सार शुल्क तिरेर ल्याएका आफूहरूले उनीहरूसँग प्रतिस्पर्धा गर्न नसकेको तरकारी व्यापारी पंकज कसेराले गुनासो पोखे। 

तरकारी व्यापारी दिलिप महतोले भारतीय व्यापारीहरूले पनि भन्सार शुल्क तिरेरै तरकारी र फलफूल भित्राउनु पर्ने बताउँछन्। त्यसो गरे आफूहरूको कुनै गुनासो नरहेनले उनको भनाइ छ। भन्सार छलेर अवैध बाटोबाट तरकारी र फलफूल भित्र्याउने काम तुरुन्त बन्द गर्नुपर्ने उनको माग छ।

यता जिल्ला प्रहरी कार्यालय झापाका एसपी विश्वमणि पोखरेलले विषादी परीक्षणविना अवैध बाटोबाट तरकारी, फलफूल र माछालगायतका सरसामान भित्रिरहेको विषयमा आफूलाई जानकारी नभएको बताए। यस्तो पाइए तुरुन्त बन्द गराउन प्रहरी कार्यालयहरूका इञ्चार्जलाई निर्देशन दिने र गलत काम गर्नेलाई कारवाही गर्ने उनले बताए। पोखरेलले भने, ‘गलत क्रियाकलापमा लागेका प्रहरी कर्मचारीलाई तुरुन्त विभागीय कारबाही गर्छौं।’

त्यस्तै‚ सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण झापाका एसपी प्रदिपजंग कार्कीले भन्सार छलेर र विनापरीक्षण तरकारी, फलफूल र माछा आयात गर्ने नपाइने र त्यस्तो पाइए तुरुन्त रोक्न बिओपी इञ्चार्जहरूलाई निर्देशन दिने बताए।

भन्सार आउन छाडियो तरकारी र फलफूल

कोरोना महामारीले भद्रपुर नाका करिब २० महिना ठप्प रह्यो। गत कात्तिक ११ गतेदेखि मात्र भद्रपुर–गलगलिया नाका सहज भएको छ। नाकाबाट आउजाउ सहज भए पनि भद्रपुर भन्सारबाट तरकारी, फलफूल र माछा आयात भएको छैन।

सीमामा तैनाथ भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले साइकलमा सामान नेपाल भित्राउन रोक लगाएको छ। भन्सार प्रमुख मिश्रले भन्सारबाट लामो समयदेखि ती वस्तु आयात नभएको जानकारी दिए। कोरोनाअघि भद्रपुरको मेची पुलबाटै ती वस्तु आयात हुन्थे।

भद्रपुरको मुख्य नाकाबाट साइकलमा तरकारी, फलफूल र माछा भित्र्याउन नदिएपछि भारतीय व्यापारी र किसानले प्रहरीसँगको मिलेमतोमा अवैध बाटोबाट ती सामान विनापरीक्षण भित्राइरहेको स्थानीयहरू बताउँछन्।

भारतबाट आयात हुने तरकारी र फलफूलको अनिवार्य विषादी परीक्षण गराउनु पर्ने प्रमुख मिश्र बताउँछन्। विषादी परीक्षणपछि मात्र भन्सारले ५ देखि ८ प्रतिशतसम्म कृषि सुधार शुल्क लिएर तरकारी र फलफूलको जाँच पास गराउने उनले जानकारी दिए।

सरकारले भन्सार ल्याउने सबै प्रकारका तरकारी र फलफूलमा हर्मोनाइजेशन कोडअन्तर्गतका वस्तु आयातका लागि एलसी खोल्दा शतप्रतिशत मार्जिन राख्नुपर्ने व्यवस्था राखिएको छैन।

‘तर कानुनी प्रावधान चाहिँ झन्झटिलो छ,’ उनले भने, ‘भन्सार ल्याएका तरकारी र फलफूलको स्याम्पल लिएर पहिला खाद्य क्वारेनटाइन काँकडभिट्टा जानुपर्छ, त्यसपछि विषादी जाँचका लागि बिर्तामोड जानुपर्ने हुन्छ।’

त्यही भएर भद्रपुर भन्सारमा तरकारी र फलफूल नआएको उनले बताए। सरकारले एलसी खोल्दा शतप्रतिशत मार्जिन राख्नुपर्ने व्यवस्था लागु गरेपछि भारतबाट माछा आउन बन्द भएको छ। माछामा अनिवार्य एलसी लागु गरिएको उनको भनाइ छ।                

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.