सरकारले दियो उत्कृष्ट किसानको पुरस्कार

|

कञ्चनपुर : कृष्णपुर नगरपालिका ४ मौवाफाँटाका ३४ वर्षिय हरेन्द्र बोहरा कृषि कार्य गरेर गाउँमै सबैभन्दा बढी आम्दानी गर्ने किसानका रुपमा परिचत छन्।

व्यावसायिक केरा खेती,  कुखुरा, बंगुर र बाख्रापलनमा बोहरा संलग्न रहँदै आएका छन्। परम्परागत कृषि कार्यलाई आधुनिक तौरतरिका अपनाई उनले अगाडि बढाउँदै आएका छन्।

बैंकबाट एक करोड ऋण

व्यावसायिक कृषि कार्यका लागि बोहराले सञ्चालन गरेको फोर फक्स क्याटल एण्ड ह्याचरीमा रु एक करोड २५ लाख लगानी गरेका छन्। व्यावसायिक कृषि कार्यका लागि कृषि विकास बैंकबाट रु एक करोड रकम उनले कर्जाका रुपमा लिएका छन्। पाँच बिघा जग्गामा व्यावसायिक केरा खेती गरिएको छ।

जसबाट वार्षिक रुपमा प्रतिबिघा रु सात लाखदेखि नौ लाखसम्मको केरा बिक्री हुने गरेको छ। केरा खेती गर्दा प्रतिबिघा लागत खर्च रु तीन लाख ५० हजार जति लाग्ने गरेको छ। लागत खर्च कटाएर रु पाँच लाख देखि सात लाखसम्म आम्दानी हुने गरेको छ।

व्यावसायिक केरा खेती

केरा खेतीका लागि विरुवा रोप्ने, गोडमेल गर्ने, सिँचाइ गर्ने र बजार व्यवस्थापनको कार्यमा बोहरा आफैं खटिँदै आएका छन्। ‘आवश्यक परेका बेला मात्रै १०-१५ जना मजदुरलाई ज्यालामा काममा राख्दै आएका छौं’ उनले भने, ‘बाँकी समय आफैं कार्य गर्छौं।’

केरा खेतीलाई उनले एक दशकदेखि अपनाउदै आएका हुन। ‘पहिला परम्परागत रुपमा केरा खेती हुने गरेको थियो’ उनले भने, ‘त्यसलाई आधुनिकरण गरी खेती गर्न थालेपछि आम्दानी विगतको तुलनामा तेब्बरले बढेका छ।’ केरा खेतीसँगै बोहरा अण्डा दिने लेयर्सजातका कुखुरापालनको कार्यमा समेत संलग्न छन्।

अण्डा दिने कुखुरापालन

उनले घरनजिकै निर्माण गरिएका दुई वटा फार्ममा पाँच हजार लेयर्सजातका कुखुरापालन गरेका छन्। फार्ममा पालिएका कुखुराले दैनिक तीन हजारदेखि चार हजार ५०० सम्म अण्डा दिने गरेका छन्।

दुवै फार्ममा पालिएका कुखुराबाट दैनिक १०७ क्रेट अण्डा उत्पादन हुने गरेको छ। उत्पादित अण्डा नजिकैका बजारमा सहज रुपमा खपत हुने गरेको उनी सुनाउँछन्।

मासिक रुपमा रु १५ लाख र वार्षिक रुपमा रु एक करोड ५० लाख बढीका अण्डा बिक्री हुने गरेको उनको भनाइ छ।

अण्डा भण्डारण गर्नका लागि उनले घरमै विद्युतीय चेम्बर समेत निर्माण गरेका छन्। 'बजारमा खपत नभएको अण्डा चेम्वरमा राख्ने गरेको छु’ उनले भने, ‘बजारमा मागअनुसार अण्डाको आपूर्ति गर्न सहज भएको छ।’

सुदूरपश्चिम प्रदेश सरकारको अनुदानमा चेम्बर निर्माण गरिएको हो। तापक्रम व्यवस्थापन गरी चेम्बरमा केरा पकाउने कार्यसमेत हुने गरेको छ।

‘केरा पकाउनका लागि पहिला बाह्य क्षेत्रमा पठाउनुपर्ने अवस्था थियो’ बोहराले भने, ‘घरमै चेम्बरको व्यवस्था भएपछि पाकेको केरा बजारमा सहज रुपमा बेच्न पाएका छौं।’

उत्कृष्ट किसानको पुरस्कार

बोहरा सुदूरपश्चिम प्रदेशका उत्कृष्ट किसानका रुपमा पुरुस्कृतसमेत भइसकेका छन्। प्रदेश सरकारले उनलाई उत्कृष्ट किसानको रूपमा केही महिनाअघि पुरस्कृत गरेको थियो।

पुरस्कृत भएपछि बोहरालाई कृषि कार्यमा लाग्नका लागि थप हौसाल थपिएको छ। बोहराले घरमै डुयुरोक, ल्याण्डरस, हेमसागर जातका उन्नत बंगुरका पाठा चितवनबाट ल्याई पालन गरेका छन्।

बंगुर र बाख्रालाई घरमै दाना उत्पादन

हाल बच्चा र माउ गरी २४ वटा बंगुर उनको फार्ममा रहेका छन्। निकट भविष्यमै माछापोखरी बनाई त्यसको डिलमा बंगुरको फार्म बनाएर अतिरिक्त आम्दानी गर्ने सोच उनको रहेको छ।

बंगुरसँगै घरमै २५ जति उन्नत जातका बाख्रासमेत पालेका छन्। कुखरा र बंगुरका दाना भने बोहराले बाह्य क्षेत्रबाट खरिद गरेर ल्याउदैनन्। घरमै रहेको दाना बनाउने उद्योगबाट उनले दाना तयार गर्दै आएका छन्।

‘बजारबाट खरिद गर्ने दानाभन्दा घरमै रहेको उद्योगबाट उत्पादित दाना प्रतिकिलो रु सातदेखि १० सम्म सस्तो पर्छ’ उनले भने, ‘बजारको भन्दा गुणस्तरीय पनि हुन्छ। जसबाट उत्पादन लागत घटनगै आम्दानी चाहे जस्तै हुन्छ। बजारमा दानाको अभाव हुँदा पनि समस्या हुँदैन।’

सुदूरपश्चिम सरकारको ५० प्रतिशत अनुदानमा दाना उद्योग उनले स्थापना गरी सञ्चालन गर्दै आएका छन्।

बुबाबाट प्रेरणा

हरेन्द्रका बुवाले विसं २०७० साल अघि घरमै व्यावसायिक रुपमा गाईपालनको कार्य गर्दै आएका थिए।  थोरै जग्गामा केरा खेतीलाई समेत अँगाल्दै आएका थिए। मजदुरको अभावमा गाईपालनको कार्य फस्टाउन सकेन। त्यसबेला काठमाडौंस्थित शंकरदेव क्याम्पसबाटमा हरेन्द्र स्नातकोत्तरमा पढ्दै थिए।

व्यवस्थापन तर्फको एमविएसको शिक्षा ग्रहण गरेपछि बोहराले केही महिना गोल्छा अर्गनाईजेसनमा काम गरे। काम गरेकै बेला घरमै फर्केर केही गर्नुपर्छ। त्यो कार्य कृषिबाटै संभव हुने देखेर उनी घर फर्किएनुभयो।

‘घर फर्केपछि “केही महिना बुबासँगै काम गरे’ उनले भने, ‘परम्परागत रुपमा गरिएको कार्य भएकाले लागत खर्च धेरै हुने र आम्दानी थोरै हुने गरेको थियो।’ परम्परागत कार्यलाई परिमार्जन गरी आधुनिक तरिकाले केरा खेतीलाई अगाडि बढाउन उनी अग्रसर भए।

२० लाख कर्जाबाट काम सुरु

 ‘केरा खेतीका लागि अगाडि बढाउनका लागि उनले सुरुमा बैंकबाट रु २० लाख कर्जाका रुपमा रकम लिए। कर्जाका रुपमा लिएको रकमले केरा खेतीमा लगानी गरी प्रतिफल आशा गरेभन्दा बढी भएपछि त्यसलाई व्यवसायीकरण गरी विस्तार गरे’ उनले भने, ‘बैंकको ब्याज र कर्जाबापत लिएको ऋण तिर्न भ्याए। त्यसपछि बैंकबाट थप कर्जा लिई कुखुरा पालनको कार्य अगाडि बढाएँ। कृषि कार्यमा प्रयुक्त हुने पम्पसेट, विद्युतीय मोटर, ट्रयाक्टर, ट्राली, पावर टिलर सबै जोडन सफल भएँ।’

उत्पादित कृषिजन्य वस्तु बजारसम्म ढुवानी गर्नका लागि हरेन्द्रसँग पिकप भ्यानसमेत रहेको छ।

समाजमा असल सन्देश

आम्दानी गर्ने श्रोत धेरै भएपनि पढेका युवाले गर्नै नमान्ने कृषि पेशालाई व्यवसायिक रुपमा अपनाएको उनी बताउँछन्।

‘शिक्षित व्यक्तिले कृषि कार्य गरे समाजमा असल सन्देश जान्छ’ उनले भने, ‘त्यसैले यस पेशामा जोस जाँगरका साथ लागेको छु। यसमै खुसी छु।’

टेक्निकल कलेजमा लेखापालको पदमा कार्यरत बोहराका श्रीमतीले समेत जागिर छाडेर उनको कृषि कार्यमा साथ दिँदै आएकी छन्। उनी भन्छन्, ‘कृषि पेशालाई निर्वाहमुखी नभएर व्यावसायिक बनाउनका लागि राज्यको नीतिमै निकै फेरबदल गर्नुपर्छ।'

सफल किसानका रुपमा परिचित हरेन्द्रबाट प्रेरणा लिएर हाल धेरैजना युवाहरु कृषि पेसामा समेत संलग्न हुन थालेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.