बोल्ने शैली नभएसम्म तपाईंको व्यक्तित्व निर्माण हुन सक्दैन

|

काठमाडौं : हर कोही व्यक्ति कहिले सम्बन्धका आधारमा त कहिले पेशा र बाध्यताको डोरीले बाँधिएर कुनै सभा‚ समारोहमा पुग्छन्। यसरी पुगेर दर्शकदीर्घामा बसेका उनीहरूका लागि कार्यक्रमका विभिन्न खाले वक्ताको अनवरत कर्कश भाषण र प्रस्तोताको एकतर्फी धाराप्रवाह वाणी कष्टकर बनिदिन्छ।

पंक्तिकारसँग पनि यस्ता अनुभव छन्।  तपाईंका पनि होलान्। सम्झिँदै गर्नुस् है। मञ्चमा बसेका व्यक्तिले दर्शकदीर्घामा बसेका मान्छेलाई केही कुरा बुझाउन खोजिरहेका हुन्छन्। कोहीसँग ज्ञान हुन्छ, बुझाउन सक्ने क्षमता हुँदैन। अथवा बुझाउन खोजेको कुरा लिन सक्ने क्षमता दर्शकसँग नहुन पनि सक्छ। वक्ताको धाराप्रवाह क्लिस्ट शब्दमा ठेली र सिद्धान्तको थुप्रोमा पर्ने दर्शक यसै छटपटीको रासातालमा डुब्छन्।

दर्शकको अपेक्षा वक्तासम्म र वक्ताको धारणालाई दर्शकसम्म पुर्‍याउने कर्तव्य उद्घोेषकको हो। वक्ता फेर्नु मात्र उद्घोषकको जिम्मेवारी होइन । उसले वक्तव्यलाई गन्तव्यसम्म पुर्‍याउन सक्ने खुबी राख्नुपर्छ। यो अपेक्षा आम दर्शकले राखेका हुन्छन्।

केही दिनअघि एक कार्यक्रममा प्रस्तोताका रूपमा मञ्चमा देखा परे सरोज घिमिरे। करिब दुई घण्टा ५१ मिनेटको उक्त कार्यक्रम सकिएपछि चियागफमा घिमिरेले कार्यक्रम उद्घोषकसँग दर्शकले जे अपेक्षा गर्छन् वा आफू दर्शक भएको कुनै कार्यक्रममा उद्घोषकबाट जे अपेक्षा गर्छु त्यस कुरालाई एक उद्घोषकले ध्यान दिनुपर्ने वाणी फुके।

उनी काठमाडौं उपत्यकाका साथै देशमा विभिन्न क्षेत्रमा करिब २० वर्षदेखि प्रस्तोताका रूपमा मञ्चमा देखा परिरहेका छन्। घिमिरे जब प्रस्तोताका रूपमा मञ्चमा उक्लन्छन्, आफूलाई दर्शकदीर्घाको अन्तिम बेञ्चको स्रोताका रुपमा लिने सुनाउँछन्।

‘कार्यक्रममा प्रस्तोता भइरहँदा आफूलाई उद्घोषक वा वक्ताका रुपमा चित्रित गर्दा दर्शकका लागि सजाय हुन्छ‚’ उनले अनुभव साट्दै भने‚ ‘त्यो अन्तिम बेञ्चमा बसेर छेउका साथीसँग कुरा गर्न लागेको दर्शकका रूपमा आफूलाई लिँदा कार्यक्रम दर्शकमैत्री बन्छ।’

उद्घोषकले अनवरत रुपमा एकतर्फी पठ्यार लाग्दा कुरा गर्नुभन्दा जनमानसका कुरा, समय परिस्थिति र त्यो कार्यक्रमको विषयमा हास्यरस जोड्दा दर्शक थप आकर्षित हुन सक्छ भन्ने कुरा उद्घोषकले बुझ्नुपर्ने घिमिरे सुझाव दिन्छन्। उनको विशेषता नै दर्शक केन्द्रित गर्ने हो। दर्शकलाई मञ्चमा आकर्षित गर्न सक्ने खुबी उनीसँग छ। यो बखान पंक्तिकारले गरेको होइन। यसलाई विभिन्न कार्यक्रममा उनको बाक्लो उपस्थितिले प्रमाणित गरेको हो। अर्थात् उद्घोषकका रूपमा उनको व्यस्तताले यस कुराको प्रमाणित गरिदिएको छ।

सरदर नेपालीहरू बाँच्ने आयुको आधा उमेरभन्दा अलि बढी उमेरमा हिँड्दै गरेका घिमिरेले आजसम्म करिब एक हजार कार्यक्रममा उद्घोषकका रूपमा काम गरिसकेका छन्। ‘उमेर बढ्दै जाँदा उद्घोषणको अवधि पनि थपिँदै जानेवाला छ,’ उनी आफ्नो वास्तविक चरित्रलाई  बिल्ला हान्दै सुनाउँछन्, ‘जीवनमा जानेकै भनेको बोल्न, बोल्न अनि बोल्न हो।’

झापाको गौरादहमा जन्मिएका घिमिरेलाई कसैले टपक्क उठाएर थपक्क उपत्यकामा हुने कार्यक्रममा ल्याएर यो जिम्मेवारी दिएका भने होइनन्। यसका पछाडिको लामो कथा छ। आफ्ना सपनालाई बनाउँदै‚ भत्काउँदै पुनः बनाउँदै उनी आजको मितिसम्म आइपुगेका हुन्। उनको अतीतसँग परिचित हुन पाठकवृन्द्ध तयार हुनुहुन्छ? हुनुहुन्छ भने अब पढ्नुस् घिमिरेको अतीत।

त्यसपछि झापा छाडेँ

कल्पनाले बनाएको चित्र वास्तविकताभन्दा बढी सुन्दर र कलात्मक बन्छ। जसले कहिल्यै भेटेको नै छैन तर भेट्ने अवसर खोजिरहेका हुन्छन्। उसले त्यो चिजलाई झन् हृदयलाई निचोरेर थप रंगिन चित्र बनाउँछ।

गौरादहमा स्कुले जीवनमा पुन्टे रेडियो सुन्ने घिमिरेलाई काठमाडौं र रेडियो नेपालमा बोल्ने व्यक्ति (दाहाल यज्ञनिधि, पाण्डव सुनुवार, दीपकराज पाण्डे, नवराज लम्साल) अलौकिक लाग्थे। काठमाडौं त मानौं स्वर्गको एक टुक्रा हो।  सपनाको शहर पुग्ने विचार आउँदा पनि उनको मन र अनुहारमा पोतिने रंगले इन्द्रेणीलाई मात दिन्थ्यो।

‘काठमाडौं भन्ने बितिक्कै तिनै रेडियोमा बोल्ने व्यक्तिजस्ता मानिस बस्ने होलान् भन्ने बालमनोविज्ञान थियो‚’ उनले रेडियोकर्मीप्रति बनेको तस्बिर र काठमाडौंप्रतिको लगावको फेहरिस्त यसरी सुनाए‚ ‘रेडियोमा बोल्ने व्यक्ति त अर्कै ग्रहबाट आएका हुन् भन्ने लाग्थ्यो।’

घिमिरे काठमाडौं आउने अवसरको खोजीमा थिए। आइए (प्रमाणपत्र तह)को पढाइ सकिएको थियो। मनमा पत्रकार बन्ने र काठमाडौं आउने दुवै सपना हुर्किरहेको थियो। एक दिन आफन्त काठमाडौं आउने भए। उनैको यात्राका साथी बन्ने भए घिमिरे।

२०५९ सालको सुरुका दिन उनी काठमाडौं भित्रिए। उनले कल्पना गरेको भन्दा सुन्दर लाग्यो काठमाडौं। केही दिनको बसाइ सकेर उनी झापा फर्किए। फर्किंदै गर्दा उनले प्रण गरे- केही दिनमा काठमाडौं आउँछु। तर, काठमाडौं उनलाई स्वागत गर्न तयार थियो? ‘भर्खरै किशोरावस्था पार गर्दै गरेको सानो केटोसँग न उच्च शिक्षा थियो, न जागिर खान सक्ने क्षमता। नत बुबाआमाको अनुमति,’ उनी सुनाउँछन्।

तर, उनीसँग हिम्मत थियो। उनले २०५९ सालको मध्यतिर हिम्मतका साथ झोलीतुम्बी, सीमित पैसा र असीमित सपना बोकेर घिमिरे काठमाडौंका लागि रात्रिबस चढे।

भूगोलसँगै फेरियो सपना

राजधानी आउने सपना पूरा भयो। दैनिकी चलाउन जागिर आवश्यक पर्‍यो। क्षमता हुँदा पनि सजिलै स्वीकार गर्न सक्दैन काठमाडौं। जागिर खोजेर पाउनलाई आफ्नै बगैंचाको फूलबारीको फूल पनि त होइन। मन परेको फूल प्राप्त गर्न त फुल्ने समय कुर्नुपर्छ भने भर्खर किशोरावस्थामा हिँडिरहेको ‘केटा’ले आफू अनुकूलको जागिर पाउनु ‘आकाशको फल आखाँतरि मर’ नै हो।

झापामा हुने साहित्यिक कार्यक्रममा प्रस्तोताका रूपमा परिचित घिमिरेलाई काठमाडौंले चिन्नैपर्छ भन्ने बाध्यता पनि त कहाँ थियो र? त्यसैले त उनी मुलुकै ठूलो शहरमा अपरिचित भए।

‘काठमाडौं आएर टेलिभिजनमा समाचार भन्ने, पत्रिका आफ्नो बाइलाइनसहितको समाचार लेख्ने भन्ने सपना थियो। डाक्टर हुन साइन्स पढ्नुपर्छ भनेजस्तै पत्रकार बन्न पत्रकारिता पढ्नैपर्छ भन्ने लाग्थ्यो‚’ उनले भने‚ ‘स्नातकमा पत्रकारिता पढ्न आइएमा नै पढेको चाहिन्थ्यो। तर‚ मैले पढेको थिइनँ। दोहोर्‍याएर आइए पनि पढ्न सकिनँ। त्यसपछि नेपाली पढ्न लागेँ। मैले जे चाहेँ, त्यो पढ्न पाइनँ। मैले जे चाहेको थिइनँ, त्यो नै पढेँ। जीवन यस्तै अनेपेक्षित प्राप्तिको जोडघटाउ हो भन्ने लाग्छ।'

काठमाडौंमा उनले जागिरका लागि विभिन्न संस्था चहारे। कतै जागिर पाएनन्। यद्यपि‚ उनले हिम्मत भने हारेनन्।

चराहरूले रूखमा गुँड बनाएर बस्छन्। आँधीहुरीले रूख ढाल्दा पनि चराले आत्महत्या गर्दैनन्। किनभने उनीहरू रूखको हाँगाभन्दा आफ्नो पखेटामा विश्वास गर्छन् भने झैं घिमिरे पनि अवसर खोज्दै काभ्रे पुगे। साथीको संगतले काभ्रेको गोल्डेन फ्युचर बोर्डिङ स्कुल पुगेका उनी त्यहाँ शिक्षक बने। कक्षा ७ लाई पढाउने अवसर पाए।

‘कविता पढाएको थिएँ क्यार,’ धुमिल हुँदै गरेको विगतबारे उनले भने, ‘संयोगले प्रिन्सिपलको छोरी पनि पढ्ने रहेछिन्। नयाँ सरले विद्यार्थीलाई चित्त बुझ्ने गरी पढायो। उसलाई हाम्रो स्कुलमा राख्न मिल्दैन? भनेर बुबालाई भनिछन्,  त्यसपछि प्रिन्सिपलले मलाई जागिरका लागि अफर गरे।’

एकातिर मैले जागिर खोजिरहेको अवस्था थियो अर्कोतिर जागिरको अफर आयो। त्यसपछि उनले १० महिना त्यही स्कुलमा पढाए।

‘मेरो दुःखको समयमा शिक्षण पेशाले नै साथ दियो। दुःखको साक्षी बन्यो‚’ घिमिरेले भने‚ ‘यो पेशाप्रति उच्चतम सम्मान बढ्दै गयो। विद्यार्थीको भविष्य जोडिएको दायित्वबोध हुन थाल्यो। त्यसपछि शिक्षण पेशा मेरो जीवनको एक हिस्सा बन्यो। मैले पत्रकार बन्ने लक्ष्य त्यागेँ।’

उद्घोषण तालिम र आत्मविश्वास

१० महिनाको जागिरले काठमाडौंमा टिक्नसक्ने क्षमता र आत्मविश्वास दियो। विभिन्न पत्रपत्रिकामा लेखेको लेखले काठमाडौंभित्रको साहित्यवृतमा अलि अलि चिनिने मौका उनले पाए। यसैक्रममा उनले कृष्ण सुनारबाट उद्घोषणको तालिम लिए।

अध्यापन र प्रस्तोताको रफ्तार विस्तारै फैलिंदै गयो। एक दिन रेडियो नेपालमा वासुदेव मुनालले रेडियो छोडेको खबर उनले पाए। रिक्त रहेको उक्त पदमा बसेर कार्यक्रम सञ्चालन गर्ने अवसर घिमिरेले पाए। २०६५-६६ सालमा सञ्चालन गरेको उक्त बाल कार्यक्रम उनी जिन्दगीको सबैभन्दा ठूलो सफलता मान्छन्।

तर, रहरले मात्र हुँदैन रहेछ। एक कार्यक्रम चलाएको ५०० रूपैयाँ प्राप्त हुन्थ्यो। त्यसले कार्यक्रम उत्पादन गर्दा खर्च नधानेको घिमिरेले बताए। सुरुमा सक्छु भन्ने उनलाई लागेको थियो।

रेडियो अडियोमा ‘मुड फ्रेस’ भन्ने कार्यक्रम पनि चलाए। तर,  उनलाई स्टेज कार्यक्रममा बोलेजस्तो फिटिक्के मजा नआएको घिमिरे बताउँछन्।

अभावले आदर्शको नकाव उतारिदियो। आत्मनिर्भरबिना चर्को आदर्श फगत खोक्रोपन हो भन्ने उनले बुझे। अर्को कुरा बन्द कोठामा बोल्दा आफ्ना अनुभूतिले कुण्ठित भएको महसुस पनि गर्दै गए।

‘आफ्नो कामले नै आफैंलाई संकुचित गरेजस्तो लागेपछि मैले रेडियोमा काम गर्न छोडेँ,’ उनले भने, ‘म बन्द कोठामा होइन‚ मास क्षेत्रमा बोल्न रुचाउँदो रहेछु। त्यसपछि म रेडियोतिर फर्केर गइनँ।’

अनि सिस्नुपानी नेपालमा जोडिए

घिमिरे आफूलाई पैसा कमाउन काठमाडौं आएको स्वीकार गर्दैनन्। यसको मतलब सधैं घरबाट ल्याएर यहाँ बस्छु भनेर आएका पनि  होइनन् उनी। प्रस्तोताका रूपमा उनले पैसाभन्दा बढी आफन्त कमाएका छन्। धन साधन हो‚ यो गन्तव्य हुनु हुँदैन। तर, गन्तव्यमा पुग्ने खुट्किलोको रूपमा भने उनी सहमत छन्।

‘जे काम गर्छौ, रूचि भएको काम गर। सके पैसा कमाउँछौं नसके सन्तुष्टि कमाउछौं‚’ उनले आफ्नो दर्शनबारे बोले‚ ‘पैसाले भौतिक रुपमा सुख दिन्छ। सन्तुष्टिले आत्मालाई स्वस्थ्य बनाउँछ।’

उनी अध्यापनलाई जागिरका रुपमा लिन्छन् भने उदघोषण कर्मलाई रूचि। १५ वर्षदेखि घिमिरे सिस्नोपानी नेपालसँग आवद्ध छन्। यद्यपि‚ उनी कलाकार होइनन्। गायक पनि होइनन्। आफूलाई दिएको अवसरबारे भने उनी सिस्नुपानी नेपालप्रति कृतज्ञता प्रकट गर्छन्।

‘संस्थाले एक दिन प्रस्तोताका रूपमा काम गर्ने जिम्मेवारी दियो। कुनै पनि कार्यक्रममा प्रस्तोताको भूमिकाबारे टंक आचार्य, लक्ष्मण गाम्नागे, मनोज गजुरेलहरूले बुझ्नुभएको थियो सायद,’ घिमिरेले भने, ‘मेरो उद्घोषण कलाले विस्तारै प्रशंसा पाउँदै जाँदा अवसरका ढोकाहरू खुल्दै गएका हुन्। एकेडेमीदेखि विदेशका कार्यक्रमहरूमा सहभागी हुने अवसर पाएँ।’ 

सम्बन्ध कमाउने कुरा सानो उपलब्धि नभएको उनी सुनाउँछन्। ‘मैले कतै काम गरिनँ भने मलाई कसले चिन्छ? मलाई कसैले चिन्दैनन् भने मलाई प्रस्तोताका रूपमा कसले बोलाउँछ? मलाई कसैले बोलाएन भने मलाई कसले सुन्छ?’ उनले विस्तारमा सुनाए‚ ‘यदि मेरो कुरा कसैले सुनेनन् भने मैले के खुशी पाउँछु त? मतलव मेरो प्रस्तोता कर्म पैसासँग मात्र होइन मेरो सन्तुष्टिसँग जोडिएको छ।’

समयले फेरिदिएको सपनाको आयतन

घिमिरेले १९ वर्षदेखि अध्यापन गरिरहेका छन्। उनी कक्षामा शिक्षक भएर होइन उद्घोषकका रूपमा उपस्थित हुने सुनाउँछन्।

अध्यापनको क्रममा नियमित रूपमा करिब २ हजार विद्यार्थीलाई आफ्ना कुरा राख्न पाइरहेका हुन्छन्। जहाँ उद्घोषण कलाको अभ्यास पनि भइरहेको उनी बताउँछन्। आत्मविश्वास पनि बढिरहेको छ। कक्षामा साथी जस्तो बनेर विद्यार्थीसँग व्यवहार गर्दा विद्यार्थीहरूलाई बुझ्न पाउने र उनीहरूको क्षमता बुझ्न सकिने उनको बुझाइ छ। उनी भनिरहेका हुन्छन् रे, ‘तिमीहरूसँग भएको संकोच मलाई देउ, मसँग भएको आत्मविश्वास तिमी लैजाउ। बोल्ने विकास भएन भने तिम्रो उपलब्धिहरू संकुचित हुन्छन्।’

आजको विद्यार्थी भोलि डाक्टर वा इन्जिनियर जेसुकै होस् बिरामीले हेर्ने सर्टिफिकेट होइन। उनीहरूको बोल्ने शैली हो। कुशल वक्ता हुन सकिएन भने कसैको व्यावसायिक यात्रा धेरै टिक्दैन, त्यसैले घिमिरे आफ्ना विद्यार्थीलाई पढाई सँगसँगै बोल्ने कला पनि सिकाइरहेका छन्। घिमिरे आफ्नो विद्यार्थीकाल र अहिलेका विद्यार्थीहरूमा खुबै असमानता रहेको सुनाउँछन्।

उनका अनुसार आजका विद्यार्थी कक्षा ११ पढ्न १० पास गर्छन्। हामी चाहिँ १० पास गरेका कारणले ११ पढेका हौं। मतलब हामीले एउटा क्षितिजमा पुगेपछि अर्को क्षितिज देखेका हौं। आजका विद्यार्थी कुनै ठाउँमा पुग्नका लागि क्षितिजमा पुगेको छ। 

आजका केही विद्यार्थी आफ्ना लागि कसरी गर्न सकिन्छ भन्ने मनस्थितिमा छन्। प्रविधि केन्द्रित छन्। उनीहरूको दृष्टिबाट फराकिलो देखिए पनि हाम्रो दृष्टिबाट हेर्दा उनीहरू साँघुरो घेरामा रहेको उनले सुनाए।

‘हामी आँगनमा खेलेका बच्चा हौं। अहिलेका बच्चा आँगन हराएका ठाउँमा खेलिरहेका छन्। हामी मान्छे र माटोसँग खेलेर हुर्कियौं‚’ घिमिरे भन्छन्‚ ‘अहिले डिभाइससँग खेलिरहेका छन्। यी विद्यार्थी अन्तर्मुखी छन्। हामी अलिक बहिर्मुखी थियौं।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.