|

काठमाडौं : सरकारले ज्येष्ठ नागरिकका लागि छुट्टै अस्पताल बनाउने निर्णय गरेको छ।

मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट पेश भएको ज्येष्ठ नागरिक अस्पताल स्थापनासम्बन्धी प्रस्ताव स्वीकृत गरेसँगै अब ज्येष्ठ नागरिकका लागि छुट्टै अस्पताल निर्माण अगाडि बढ्नेछ।

यता, विज्ञान तथा प्रविधि मन्त्रालयले चितवन भरतपुरमा ३ सय शय्याको संघीय शिक्षक अस्पताल बनाउने तयारी थालेको छ।

टेकु अस्पतालका डा. विमल शर्मा चालिसेको नेतृत्वमा कार्यदललाई ‘संघीय शिक्षक अस्पताल’ को सम्भाव्यता अध्ययन गर्न र जग्गा खोज्न जिम्मेवारी दिइएको थियो।

सोही कार्यदलले दिएको सुझावका आधारमा शिक्षक अस्पताल खोल्न सरकारले सैद्धान्तिक सहमति दिइसकेको अवस्था छ। पछिल्लो समय छुट्टै श्रमिक अस्पताल खोल्ने चर्चा पनि चलिरहरेको छ।

नेपालमा हाल समूहगत रूपमा गृह मन्त्रालयअन्तर्गत नेपाल प्रहरी अस्पताल, नेपाली सेनाअन्तर्गतको सैनिक अस्पताल, सामान्य प्रशासन मन्त्रालयअन्तर्गत निजामती कर्मचारी अस्पताल सञ्चालनमा छन्।

यी अस्पतालले सर्वसाधारणभन्दा विशेषगरी आफ्नै समूहगत क्षेत्रका कर्मचारी र तिनका आश्रित परिवारलाई सेवा दिँदै आएका छन्। अब शिक्षक, ज्येष्ठ नागरिक अस्पताल थपिँदै छन्, यसबाट पछिल्लो समय पेशागत र समूहगत अस्पताल खोल्ने लहर चलेको देखिन्छ।

सस्तो लोकप्रियताका लागि मात्र

समूहगत अस्पताल खोल्नु भनेको सस्तो लोकप्रियता मात्र भएको बताउँछन् स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका पूर्वप्रमुख विशेषज्ञ चिकित्सक डा सुशील प्याकुरेल।

हाल भएका सरकारी स्वास्थ्य संस्थामा १५/२० वर्ष अगाडिको दरबन्दीमा कुनै थप नभएकाले जनताको चापअनुसार सेवा दिन नसकेको अवस्थामा स्वास्थ्यकर्मीको दरबन्दी बढाएर यही संरचनालाई गुणस्तरीय सेवा दिन बलियो बनाउनु पर्ने वेलामा समूहगत अस्पताल खोल्दा हाम्रोजस्तो स्वास्थ्य प्रणालीले नधान्नेसमेत डा प्याकुरेलले बताए।

‘हाल भइरहेका हाम्रा अस्पतालले राम्रो सेवा दिन सकेका छैनन्, भएका स्वास्थ्य संस्थामा पनि संघीयताको मर्मअनुसार राम्रोसँग सेवा दिन सकिएको छैन, यस्तो बेलामा समूहगत अस्पताल खोल्नु भनेको गुणस्तरीय स्वास्थ्य सेवा पुर्‍याउनुभन्दा पनि सस्तो लोकप्रियताको लागि मात्रै हो,’ उनले भने।

स्रोतसाधन र अन्य कारणले हाल संघीयताको मर्मअनुसार सबै स्थानीय तहमा स्वास्थ्य संस्था स्थापना गर्न नसकिरहेका वेला समूहगत अस्पताल खोल्नु भनेको गुणस्तरीय सेवा दिनु त परको कुरा हुने, भएका सेवाको गुणस्तर झन् खस्कँदै जाने जोखिम हुने डा प्याकुरेल बताउँछन्।

‘जनताले धेरै अस्पताल हैन भएको अस्पतालबाटै गुणस्तरीय स्वास्थ्य सेवा खोजेका हुन्छन्, त्यसैले भएकै सरकारी अस्पताललाई सुदृढ बनाउन सकियो भने धेरै राम्रो हुन्छ बरु त्यही अस्पतालमा जेष्ठ नागरिक सेवा विभाग राख्न सकिन्छ,’ उनले भने।

यस्तै समूहगत अस्पताल स्थापना गर्दा केही निश्चित समूहले सेवा पाउने भए पनि सेवा कति गुणस्तरीय हुन्छ भन्ने मुख्य कुरा रहेको बताउँछन् वरिष्ठ जनस्वास्थ्यविद प्राडा शरद वन्त।

उनका अनुसार कतिपय स्थितिमा अहिलेकै स्वास्थ्य प्रणाली कमजोर भएको बेला थप ठूला अस्पताल खोल्दा गुणस्तरीय स्वास्थ्य सेवा नपाउने बताउँछन्।

‘अस्पताल खोल्न स्वास्थ्यकर्मीदेखि ठूला उपकरण अन्य स्रोतको आवश्यकता पर्छ नत्र समयअनुकूल गुणस्तरीय सेवा दिन गाह्रो पर्छ तर यही सेवा दिन त हाम्रा भएका स्वास्थ्य संरचनालाई गाह्रो भएको बेला थप अस्पताल खोल्दै जानु भनेको हाम्रो स्वास्थ्य प्रणालीमा त्यति राम्रो हैन,’ प्राडा वन्तले भने।

अहिले थप ठूला सरकारी अस्पताल खोल्नुभन्दा सबै स्थानीय तहमा यसअघि बनाउन शुरु गरिएका अस्पतालहरूको निर्माण पूरा गरेर सेवा दिन थाल्नु राम्रो हुने बताउँछन् स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका एक उच्च अधिकारी।

‘संघीयताको मर्मअनुसार सेवा दिन सकिएको छैन, भएको दरबन्दी पनि वर्षौं अगाडिको छ। यस्तो अवस्थामा स्वास्थ्यकर्मीको दरबन्दी बढाएर भएका संरचनाबाट गुणस्तरीय सेवा दिनुपर्ने बेला धमाधम अस्पताल खोल्नु भनेको स्वास्थ्य सेवा अझ खस्कनु हो,’ उनले भने।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.