विद्यार्थी भन्छन् :  ज्ञान आर्जनमा भाषा अवरोध नहोस्

|

काठमाडौं : बनेपाकी रमिला अधिकारी (नाम परिवर्तन) गत गत कात्तिक मसान्तमा त्रिभुवन विश्वविद्यालयको पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभाग प्रदर्शनी मार्गमा स्नातकोत्तरमा भर्ना भइन्। पत्रकारितामै स्नातक गरेकी उनलाई त्यसवेला अधिकांशले स्नातकोत्तर पनि अंग्रेजी र नेपाली दुवै माध्यममा परीक्षा दिन पाइन्छ भनेपछि भर्ना भएकी थिइन्।

तर एकाएक अहिले परीक्षा,असाइनमेन्ट लगायत सबैमा अनिवार्य अंग्रेजी माध्यम गरिएको थाहा भएपछि अहिले उनी न त परीक्षा दिन सक्ने न पढाइ नै छाड्न सक्ने दोधारमा परेकी छन्। ‘स्नातकसम्म पत्रकारिता नेपाली भाषामै पढेँ, परीक्षा दिन पाएँ तर स्नातकोत्तर तहमा नपाइने रहेछ, पहिला नै जानकारी पाएको भए भर्ना हुने थिइनँ, अंग्रेजीमा परीक्षा दिन साह्रै गाह्रो हुन्छ’, उनले समस्या सुनाइन्।

स्नातकोत्तर प्रथम सेमेष्टरको परीक्षा वैशाखमा हुने भनिएको छ। त्यसो त झन् उनी थप समस्यामा छिन्। ‘पत्रकारितामै मास्टर्स गर्ने चाहना थियो’, उनी भन्छिन्, ‘तर भाषाकै कारण दोधारमा छु,उच्च शिक्षा हासिल गर्न सकिन्न जस्तो छ।’

पत्रकारितामा स्नातकोत्तर गरिरहेका जीवन श्रेष्ठ (नाम परिवर्तन)को पनि समस्या उही छ। उनी भन्छन्, ‘नेपाली भाषामै परीक्षा दिन पाइन्छ भनेर भर्ना भइयो, तीन महिनाभन्दा बढी पत्रकारिता पढियो पनि तर अहिले आएर परीक्षा अंग्रेजी माध्यममा मात्र दिन पाइने भनियो।’

उनका अनुसार स्नातक तहमा प्रश्नपत्र अंग्रेजीमा आए पनि अंग्रेजी र नेपाली दुवै भाषामै लेख्न पाइन्थ्यो। नेपाली वा अंग्रेजी जुन भाषामा भए पनि आफ्नो दक्षता भएको भाषामा लेख्दा हुन्थ्यो। ‘मास्टर्स (स्नातकोत्तर) मा अनिवार्य अंग्रेजी नगराइएको भए हुन्थ्यो, सबै विद्यार्थी अंग्रेजीमा दक्ष छैनन्, भाषाकै कारण पढ्न नपाइने यो कस्तो अन्याय?’, उनले आक्रोश पोखे।

उनका अनुसार मानविकी तथा सामाजिक शास्त्र संकायका अरू विभागमा विद्यार्थीले नेपाली वा अंग्रेजीमध्ये आफूले चाहेको भाषामा परीक्षा लेख्न पाइन्छ भने पत्रकारिता अध्ययन गर्ने विद्यार्थीले भने अंग्रेजीमा मात्रै परीक्षा लेख्नुपर्ने बाध्यकारी नियम लागू गरिएको छ। यद्यपि स्वयं शिक्षकहरू समेत अंग्रेजीमा पोख्त छैनन्।

‘यही नियमले गर्दा कैयौँ विद्यार्थीले शोधपत्र बुझाउन सकेका छैनन्, कोही पत्रकारिता पढ्ने इच्छा हुँदा पनि छाड्न बाध्य छन्। अध्ययन अध्यापनमा अथवा ज्ञान आर्जनमा भाषा ऐच्छिक हुनुपर्ने हो र नेपाली वा अंग्रेजी रोज्ने स्वतन्त्रता हुनुपर्छ’, उनले भने।

उनका अनुसार नेपालभन्दा कैयौँ गुणा प्रगति गरेका भारत‚ चीन, जापान, र फ्रान्समा विश्वविद्यालय शिक्षा उनीहरूको आफ्नो भाषामा अध्यापन गराइन्छ। त्रिविको पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागमा भने त्यस्तो व्यवस्था भएन।

यी दुईजना मात्र नभई पत्रकारिता तथा आमसञ्चार विभागका विद्यार्थीहरूले ज्ञान आर्जनमा भाषा अवरोधक नहुनुपर्ने माग राख्दै आएका छन्। पत्रकारिता विषयमा भएको अनिवार्य अंग्रेजी भाषा लाद्न नहुने बताउँदै यसलाई हटाउनुपर्ने र मानविकी तथा सामाजिक शास्त्र संकायको डीन कार्यालयले भाषालाई ऐच्छिक रूपमा रोज्न पाउने व्यवस्था गर्नुपर्ने उनीहरूको एउटै माग छ। 

संविधानले भन्छ : आफ्नो मातृभाषामा शिक्षा पाउने अधिकार छ

नेपालको संविधानमा आफ्नो मातृभाषामा समेत शिक्षा पाउने अधिकार छ। धारा(३१) को शिक्षासम्बन्धी हकको उपधारा(५) मा नेपालमा बसोवास गर्ने प्रत्येक नेपाली समुदायलाई कानुनबमोजिम आफ्नो मातृभाषामा शिक्षा पाउने र त्यसका लागि विद्यालय तथा शैक्षिक संस्था खोल्ने र सञ्चालन गर्ने हक हुने व्यवस्था छ।

धारा (३२) को भाषा तथा संस्कृतिको हकको उपधारा (१)मा प्रत्येक व्यक्ति र समुदायलाई आफ्नो भाषा प्रयोग गर्ने हक हुने व्यवस्था छ तर यी संविधानमा व्यवस्था भएको हकबाटै विद्यार्थीहरू वञ्चित हुन बाध्य छन्।

स्नातकोत्तर तहको पढाइ र परीक्षा अंग्रेजी भाषामा हुनुपर्ने अनिवार्य नियम लादिएको छ। पोखरा विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय लगायतका नेपालकै विश्वविद्यालयमा पत्रकारिता तथा आमसञ्चार विषयको स्नातकोत्तर तहमा नेपाली माध्यमबाट परीक्षा दिन पाइन्छ तर देशकै जेठो विश्वविद्यालय त्रिविको आमसञ्चार विभागले दिएको छैन। 

 

सञ्चार विज्ञ भन्छन्, ‘भाषामा रोकतोक गर्नु हुँदैन’

सञ्चारविज्ञ भानुभक्त आचार्य पत्रकारिता गर्न भाषामा रोकतोक गर्न नहुने बताउँछन्। ‘नेपालमा पत्रकारिता पढ्दा नेपाली भाषामा परीक्षा दिन नपाउनु, थेसिस लेख्न नपाउनु जस्तो विडम्बना के हुन्छ? जब कि त्यही विश्वविद्यालयका अन्य विभाग वा संकायमा नेपाली वा अंग्रेजीमा लेखे हुन्छ, संविधानले अंग्रेजी भाषा चिन्दैन, संविधानले चिनेको सम्पर्क भाषा नेपाली हो।’ 

उनले विगत दुई वर्षदेखि यो विषय उठान गरे पनि त्रिविले बेवास्ता गरेको बताए। ‘पत्रकारिता केन्द्रीय विभाग त अभिव्यक्ति स्वतन्त्रताको पक्षपाती हुनुपर्ने’‚ उनले भने, ‘आफ्ना शिष्य, विद्यार्थीहरूलाई स्पष्ट र निर्भीक ढंगले बोल्न र लेख्न अभिप्रेरित गर्नुपर्ने हो। हाम्रा प्राज्ञिक संस्थाहरूलाई कस्तो दृष्टिकोण र रणनीति भएका मानिसले हाँकेका छन् भन्ने कुराको छनक दिइरहेको छ।’ 

यसो भन्छ डीन र विभाग

त्रिविको पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभाग प्रमुख चिरञ्जीवी खनालले डीन कार्यालयले पाठ्यक्रम पुनरावलोकन गर्न लागेको र त्यसवेला भाषाको माध्यममा फेरबदल हुन सक्ने बताए। ‘पाठ्यक्रम पुनरावलोकन हुँदै छ, मंसिरसम्म यो विषयमा केही न केही निर्णय आउँछ’‚ उनले भने।

उनका अनुसार सेमेष्टर सुरु भएपछि पत्रकारितामा अनिवार्य अंग्रेजी माध्यम बनाइएको हो। उनले भने, ‘पत्रकारिता गर्नेलाई स्नातक तहले भइहाल्छ, स्नातकोत्तर अनुसन्धान तह भएकाले अंग्रेजी राखिएको हो, बाहिर जान पनि सजिलो हुन्छ।’

मानविकी तथा सामाजिक शास्त्र संकायकी डिन डा. कुसुम शाक्यले पनि भाषाको विषयमा छलफल गर्ने बताइन्। ‘अहिले केही भन्न सकिदैन, अब छलफल गर्छौ। त्यसपछि निर्णय आउँछ’‚ उनले भनिन्। पत्रकारले अंग्रेजी पत्रपत्रिकामा पनि काम गर्न सकून् भनी अंग्रेजी भाषा राखिएको उनकाे तर्क छ।

(यो पनि)

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.