|

'तेरो जिन्दगी रंगीन बनोस् तर रङहीन कहिल्यै नबनोस्', हजुरबाले प्रत्येक साल दशैँमा मलाई टीका लगाएर आशीर्वाद दिने क्रमको अन्त्यमा भन्ने शब्दहरू हुन् यी।

रङहरूको पर्व होलीको बिहानै हजुरबाका यिनै शब्द मेरो स्मृति पटलमा आइपुगे। सधैँ मेरो जिन्दगी रंगीन बनोस् भनेर आशीर्वाद दिने मेरा हजुरबाको अनुहारलाई रंगीन बनाइदिने सोच आयो। होलीको अवसरमा बिहानै रङका पोका लिएर आँगनमा निस्किएँ।

बिहानी घामको पार तापेर गुन्द्रीमा विराजमान हुनुभएका हजुरबाका छेउमा पुगेर सुस्तरी आफ्नो मनशाय व्यक्त गरेँ, 'हजुरबा आज फागु पूर्णिमा, यसपालि रङ  तपाईंलाई दलेर होलीको सुरुवात गर्नुपर्‍यो।' 

खिस्स हाँसेर चाउरी परेका गाला तन्काउँदै उहाँले वाणी फुक्नुभयो, ' तँ अझै वर्षको एकदिन होली खेल्ने उमेरको छस्। मैले पूरै होली जिन्दगी बाँचिसकेँ।' हजुरबाका कूट वाणी मेरो मगजभित्र घुसेनन्।

'नाथे केटाकेटी मोरो, ज्यान मात्र मैलो बनाउन यो बुढेसकालमा किन दल्नु मेरो अनुहारमा रङ?' हजुरबाको जवाफ आयो।

'बरू दिउँसो घाम चर्केपछि नुहाइदिन्छु तर अहिले त लगाउनैपर्छ', मैले जिद्दी कसेँ। हजुरबाको उमेर मेरो जति हुँदा उहाँका तीन चारजना केटाकेटी जन्मिसकेका थिए। हजुरबाले मेरो उमेरमा आफूले गरेका उपलब्धि बिर्सेर मलाई अझै पनि केटाकेटी भन्नुहुन्छ।

साथीहरूले सुड्डोको उपमा दिएको सुन्दा सुन्दा दिक्क भइसकेको मलाई हजुरबाले केटाकेटी भनिदिँदा बढो सहानुभूति हुन्छ।

हजुरबाका गालामा रङ लगाइदिँदै कुराकानीको पोयो फुँकाएँ, तपाईँ मलाई अझै पनि किन केटाकेटी भन्नुहुन्छ?'

खिस्स हाँसेर चाउरी परेका गाला तन्काउँदै उहाँले वाणी फुक्नुभयो, ' तँ अझै वर्षको एकदिन होली खेल्ने उमेरको छस्। मैले पूरै होली जिन्दगी बाँचिसकेँ।' हजुरबाका कूट वाणी मेरो मगजभित्र घुसेनन्।

'कसरी होली जिन्दगी बाँच्नुभयो हजुरबा?'

'तेरा हातमा भएका यी थरिथरि रङहरू जस्तै जिन्दगी पनि रङमय हुन्छ बुझिस्?' होलिमा तिमीहरू रङहरू एकैदिन अनुहारमा दल्छौँ नि त्यसैगरी जिन्दगीमा पनि थरिथरि रङको समय आउँछ। समयको पनि रङ हुन्छ र?

मनमा तर्कना खेले। जिन्दगीमा समय सधैँ एकनास हुँदैन, जब समय फेरिन्छ जिन्दगीको रङ फेरिन्छ। यसरी नै समयले रङ फेर्दा फेर्दै मैले सप्तरंगी जिन्दगी बिताइदिएँ।

कुन कुन समयमा कस्तो कस्तो रङको जिन्दगी बिताउनुभयो त मेरा हजुरबाले मेरो मनमा जिज्ञासाका ताँती सल्बलाउन थाले।  पलेँटी कसेर हजुरबाको जिन्दगी सुन्न म तयार भएँ।

उहाँले आफ्नो मनमा रहेका रङ महात्म्य सुरू गर्नुभयो।

जन्मेदेखि १२ वर्षसम्म मैले हरियो जिन्दगीलाई भोग गरेँ। यो प्रकृति जस्तो आनन्दको उमेर हो। सानो उपलब्धिले नै भयंकर खुसी पाइन्थ्यो। आफ्नाहरूले आत्मीय व्यवहार गर्थे। घर देश र गाउँ संसार लाग्थ्यो।

आफ्ना बा–आमा संसारका सबैभन्दा शक्तिशाली लाग्थे। मेरा हरेक अबोध क्रियाकलापले  जोसुकैलाई अत्यन्त खुसी दिलाउँथ्यो। मेरा गल्तीले कसैलाई बिझाउँदैनथ्यो। न बितेका कुराको शोक न त भविष्यको चिन्ता, त्यसैले त्यो उमेरमा मैले प्रकृति जस्तै सुन्दर हरियो जिन्दगी बाँचें।

१३ वर्ष लागेपछि २५ वर्षसम्म मेरो रातो रङको जिन्दगी चल्यो। यो समयले मलाई महामूर्ख बनायो। आफूलाई सबैभन्दा बलवान र बुद्धिजीवि सोच्ने भएको थिएँ। मलाई उपदेशहरू विष लाग्थे। हरेक चुनौतीको सजिलै सामना गर्न सक्छु भन्ने आडम्बर थियो। भ्रमको टेकोमा म आफूलाई शक्तिशाली मान्थेँ।

पहिले शक्तिशाली लाग्नेहरू कमजोर लाग्न थालिसकेका थिए। अरूका मतमा प्रतिवाद गर्ने सामर्थ्य र साहस बढ्न थालेको थियो।

छाडा छोडेको साँढे जस्तो उद्दण्ड भयो भनेर बँधुवा गोरु बनाउने हेतुले तेरा बुढा हजुरबाले तेरी हजुर आमासँग मेरो बिहे गराइदिनुभयो। त्यसपछि यो समयको उत्तरार्द्धमा तेरी हजुरआमा सँगको प्रेमिल जिन्दगी बिताएँ।

घमण्ड, शक्ति, साहस र प्रेम मिश्रित यो समयले मलाई रातो रङको झल्को दिलाउँछ।

२६ वर्षदेखि ३५ वर्षसम्म मैले पहेँलो रङको जिन्दगी बिताएँ। गधे पच्चीसको उमेर पार गरेपछि मलाई आफ्नो शक्ति, साहस र ज्ञानको घमन्डमाथि लाज लाग्न थाल्यो।

 वास्तवमा नै म अल्पज्ञानी रहेँछु भन्ने बोध हुन थाल्यो। औपचारिक अध्ययन पूरा गरिसकेको ममाथि कसैले योग्यताको प्रश्नचिन्ह खडा गर्छ कि भन्ने डरले अध्ययनशील बन्न थालेँ। विद्वानहरूको संगतले मलाई झुक्न सिकायो। बौद्धिक चिन्तन र सादगीपनाले गर्दा मेरो यो समय पहेँलो रङले भरिपूर्ण रह्यो।

३६ वर्षदेखि ५० वर्षको अवधिमा मेरो जिन्दगीमा सुन्तला रङ छरियो। परिपक्व र पूर्ण व्यक्ति हुन पार गर्नुपर्ने जिन्दगीका प्रायः परीक्षाहरू मैले यही समयमा पार गरेँ। पारिवारिक दायित्व, पेशागत जिम्मेवारी, घर व्यवहार व्यवस्थापनको नेतृत्व र किशोरावस्था टेक्दै गरेका सन्तानहरूको मायाले मेरो जिन्दगीको यो अवधि सुन्तला रङ जस्तै रचनात्मक बन्न पुग्यो। 

यो उमेरमा कतिपय मान्छेले अन्य रङका जिन्दगी जिउन खोजेर आफ्नो पवित्रतालाई नै धमिलो बनाउँछन्। सम्पूर्ण सांसारिक भोग, मोह, माया, मृगतृष्णाका बन्धनबाट छुटकारा पाएर सिद्ध पुरुष बन्ने अवसर मलाई यो उमेरले दियो। त्यसैले यो समय मेरा लागि सेतो रङ जस्तै निश्चल र पवित्र छ।

५० वर्षदेखि ६५ वर्षसम्म मेरो जिन्दगीमा नीलो रङको बहार आयो। उतारचढावले भरिपूर्ण जिन्दगीले एउटा उचाइमा पुर्‍याएर धेरै किसिमका व्यावहारिक बोझबाट विश्राम दिलायो।

छोराछोरी र परिवारप्रतिको दायित्व पूरा गरेर पारिवारिक जिम्मेवारी हस्तान्तरण गरेपछि जागिर र पारिवारिक जिम्मेवारीबाट अवकाश प्राप्त मेरो यो अवधि भयंकर आँधिहुरी र वर्षापछिको नीलो आकाश जस्तै शान्त बन्यो। शान्तिको प्रतीक नीलो रङ मेरो जिन्दगीको यो अवधिको सुन्दर प्रतिविम्ब थियो।

६५ वर्षदेखि ७५ वर्षसम्म मैले बैजनी रङको जिन्दगीलाई भोग गरेँ। मठ मन्दिर र तीर्थयात्राको क्रम आरम्भ गरेँ। बालक कालदेखि यो समय सम्मका पूर्वकार्यहरूको स्मृति र मूल्यांकन गर्दै ईश्वर भक्तिमा मन लगाएँ।

मैले कुशलतापूर्वक सम्पन्न गरेका, गर्न खोजेर पूरा नभएका, गर्न नसकेका, जानी नजानी सही वा गलत गरेका महत्वपूर्ण कार्यहरू सबै ईश्वरको इच्छा रहेछन् भन्ने ज्ञान यही अवधिमा पाएँ।

 भौतिक उपलब्धिको यात्रा गर्दा गर्दै थकित भएर आध्यात्मिक चौतारीमा मानसिक थकानको भारी बिसाउन सफल भएको यो समय मेरो जिन्दगीको निम्ति होस् र ध्यानको प्रतीक बैजनी रङ जस्तै थियो।

७५ वर्ष पुगेपछि अहिले ९० वर्ष पुग्दासम्म म सेतो रङको जिन्दगी बाँचिरहेको छु। सेतो रङ सबैभन्दा पवित्र रङ हो। यो रङमा केही गरी सानो दाग लाग्यो वा अन्य रङ मिसियो भने पनि स्पष्ट रूपले देखिने रहेछ।

यो उमेरमा कतिपय मान्छेले अन्य रङका जिन्दगी जिउन खोजेर आफ्नो पवित्रतालाई नै धमिलो बनाउँछन्। सम्पूर्ण सांसारिक भोग, मोह, माया, मृगतृष्णाका बन्धनबाट छुटकारा पाएर सिद्ध पुरुष बन्ने अवसर मलाई यो उमेरले दियो। त्यसैले यो समय मेरा लागि सेतो रङ जस्तै निश्चल र पवित्र छ।

यसरी नै मैले विभिन्न उमेरमा विभिन्न रङको जिन्दगी काटेर समग्र हिसाबमा रंगीन पर्व होली जस्तै होली जिन्दगी बिताएँ बुझिस्।

हजुरबाको रंगीन जिन्दगी सुनेर बहुत आनन्द आयो। साँच्चै नै हजुरबाले जिन्दगी जस्तै जिन्दगी बाँच्नुभएछ। तर, अझै एउटा रङ छुटेजस्तो लाग्यो र सोधेँ – अनि हजुरबा कालो रङको जिन्दगी बाँच्नुभएन कहिल्यै? कालो रङ मृत्युको रङ हो बुझिस्। सकेसम्म यो रङको जिन्दगी बाँच्नु नपरेकै राम्रो हो।

मैले पनि शुद्ध कालो रङको जिन्दगी बाँच्नु परेन। जिन्दगीका उतारचढावका क्षणमा कतै कतै अरू रङसँग मिसिएर कालो रङ पनि आयो तर कालो मात्र रङको जिन्दगी भोग्नु परेन।

अब मर्ने बेलामा थला नपरीकन हिँडडुल गर्न सक्ने हुँदा हुँदै सास छुट्यो भने यो रङको बोझ सहनुपर्ने थिएन।

हजुरबाले कालो रङलाई अलग्गै राखेर सप्तरंगी जिन्दगी बिताउने रहर सुनाउनुभयो। हजुरबाको होली जिन्दगी सुनिसकेपछि भने म हजुरबाको निम्ति साँच्चिकै केटाकेटी नै रहेछु भन्ने कुरामा विश्वस्त भएँ। हजुरबाको रंगीन जिन्दगीको कहानी सुनेर आफ्नो मनलाई रंगीन पारेपछि म पनि साथीहरूको अनुहार रंगीन बनाइदिन रङ बोकेर होली खेल्न हिडेँ।

तपाईँहरूको जिन्दगी पनि मेरा हजुरबाको जिन्दगी जस्तै रंगीन बनोस् रङहीन नबनोस्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.