|

म्याग्दी  : जिल्ला सदरमुकाम बेनीबजारको वीरेन्द्र चोकस्थित जिल्ला प्रशासन कार्यालय अगाडि छ होटल रोजिना एण्ड रेष्टुरेन्ट।

दुई दशकदेखि यो होटल संचालन गर्दै आएकी सृजना भट्टचनको चारतले घरका १२ वटा कोठाहरू जहिले पनि पाहुनाहरुले खचाखच भरिएका हुन्छन्।

होटलका कोठाहरु मात्रै होइन काउण्टरदेखि लिएर छतसम्म खाली ठाउँ भेटिँदैन उनको होटलमा।

उमेरले चार दशक पार गरेकी फरासिली भट्टचनलाई कहिल्यै पनि फुर्सद हुँदैन। काउण्टरको सोकेस र र्‍याकैभरी लप्सीको अचारले भरिएका सिसी, कुर्सीमा खाना,खाजा खाँदै गरेका पाहुनाहरू, कोठाको छेउमा रहेका टेबुलमाथि नाङ्लैभरी मिलाएर राखिएका स्थानीय जातका कुखुराका अण्डा, भर्‍याङमा राखिएका गमलामा ढकमक्क फूलेका विभिन्न प्रजातिका फूल,छतैभरी स्थानीय जातका कुखुरा र कौसीमा तरकारी, होटल रोजिनामा पस्ने जोकोहीले देख्ने दृश्य हुन् यी।

‘जाँगर चलाउने हो भने सबै कुरा गर्न सकिँदोरहेछ’ सृजनाले भनिन् ‘खाली बस्न मनै लाग्दैन,केही न केही नगरी बस्नै सक्दिनँ, त्यसैले कहिले अचार बनाउँछु, छतमा स्थानीय जातका कुखुरा पालेकी छु,ग्राहकलाई लोकल कुखुराको मासुसँग खाना खुवाउँछु। अण्डा पनि लोकल नै बिक्री गर्छु। कौसीमा तरकारी रोप्छु। ग्राहकलाई खाना र खाजा बनाउँछु। दिन बितेको र रात छिप्पिएको पत्ता नै हुँदैन।’

सृजनाको होटलमा पाहुना कहिल्यै खाली हुँदैनन्। उसो त थकाली भान्छा सबैलाई मिठो लाग्छ। त्यसमा पनि पाककलामा निपूर्ण सृजनाले आफ्नो होटलमा आउने पाहुनालाई आत्मीय आतिथ्यतासहित स्थानीय उत्पादनका मिठा परिकार बनाएर खुवाउने भएकाले उनको होटल बेनी बजारकै चल्तीको होटलमा गनिन्छ।

रोजिना होटल केवल होटलमा मात्रै सीमित छैन। झट्ट हेर्दा कुनै संग्रहालय जस्तो लाग्ने यस होटलमा थकाली जनजीवनका विविध पक्षहरु समेटिएका चित्र, फोटा र हस्तकलाका सामाग्रीहरु सजाएर राखिएको छ।

उनलाई नजिकैबाट चिनेका पत्रकार हरिकृष्ण गौतमका अनुसार सृजना भट्टचन समय समयमा सामाजिक संजालमा भाइरल पनि भइरहन्छिन्।

‘दुई वर्षअघि ‘अरिङ्गलवाली’का नाउँले सामाजिक संजालभरी छाइन्। कहिले अरिङ्गालका परिकार बनाएर आफ्नो होटलमा ग्राहकहरुको ध्यान खिचेकी छन् भने कहिले स्थानीय जातका परिकारका तस्वीरहरु फेसबुकमा राखेर ग्राहकलाई मुख मिठ्याउने बनाइदिन्छिन्’ पत्रकार गौतमले भने।

आफ्नो व्यापार विस्तारमा सामाजिक संजालको पनि महत्वपूर्ण भूमिका रहेको भट्टचन स्विकार गर्दछिन्। ‘मैले जे बनाउँछु सामाजिक संजाल (फेसबुक)मा पोष्ट गरिहाल्छु। त्यो हेर्नेबित्तिकै ग्राहकहरुको अर्डर आउन सुरु भइहाल्छ’ भट्टचनले भनिन् “परार साल अरिंगालले धुम मच्चायो,अहिले लोकल कुखुरा र अण्डाको अर्डर पुर्‍याउन धौधौ भएको छ।”

यतिका सीप भएकी जाँगरिली भट्टचनको दैनिक कमाइ पनि आकर्षक नहुने कुरै भएन। होटल, रेष्टुरेन्ट, अचार, कुखुरा, अण्डा सबैबाट उनलाई राम्रो आम्दानी हुन्छ। अझ त्यसमाथि सिजन सिजनका स्थानीय परिकार बिक्रीबाट हुने आम्दानी त अलग्गै भयो। सरदर दैनिक रु १० हजारको हाराहारीमा व्यापार हुने गरेको बताउने भट्टचनको सादगीपना देख्दा जोकोहीले यतिधेरै आम्दानी गर्ने महिला होलिन् यी भनेर पत्याउनै सक्दैन।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.