|

हेटौंडा : कोरोना महामारीले गर्दा सुस्ताएको मकवानपुरको खेलकुद क्षेत्र यतिवेला प्रथम बागमती प्रदेश खेलकुद प्रतियोगिताले पुनः जुर्मुराएको छ।

राष्ट्रिय खेलाडी उत्पादनको थलो रहेको मकवानपुर खेलकुद गतिविधिमा सधैँ सक्रिय रहँदै आएको जिल्ला हो तर कोरोनाले गर्दा पछिल्लो एक वर्षदेखि बन्द अवस्थामा रहेको खेल क्षेत्र सक्रिय बनेसँगै यसका दर्शकको क्रेज पनि बढेको छ।

यतिवेला मकवानपुरमा प्रथम बागमती प्रदेश खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष फुटबल, ब्याटमिन्टन र क्रिकेट भइरहेको छ। सधैँ चौरमा प्रतियोगिता आयोजना गर्दै आएको हेटौंडामा यो वर्ष रंगशाला निर्माण भएपछि फुटबलको क्रेज बढी देखिएको छ। हेटौंडा–५ पिप्ले क्याम्पा रंगशालामा दैनिक फुटबल हेर्नेहरूले प्यारापिट भरिने गरेको छ।

पाँच हजार क्षमता रहेको प्यारापिटमा बालबालिकादेखि वृद्धवृद्धासम्म खेल हेरिरहेको देख्न सकिन्छ। रंगशाला निर्माण भएपछि व्यवस्थित ढंगले खेल हेर्न पाइने भएकाले फुटबलका दर्शकमा खेलको क्रेज बढेको देखिन्छ। पूर्व अन्तरराष्ट्रिय बक्सिङ खेलाडी सुविन घिमिरेले एक वर्षमा नै हेटौंडामा रंगशाला निर्माण गरेका थिए।

२७ गते उद्घाटन भएको रंगशालामा २८ गतेदेखि प्रथम बागमती प्रदेश खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष फुटबल भइरहेको छ। कोरोना संक्रमणदर घट्दै गएपछि जिल्लामा बिस्तारै खेलकुद गतिविधि हुन थालेका छन्। चैतको दोस्रो साताबाट जिल्ला फुटबल संघ मकवानपुरले नकआउट जिल्ला लिग प्रतियोगिता पनि गर्ने तयारी गरेको छ।

प्रतियोगिताअन्तर्गत बुधबार २ वटा खेल भएका छन्। बुधबार भएको पहिलो खेलमा काभ्रेपलाञ्चोकलाई हराउँदै धादिङ सेमिफाइनलमा प्रवेश गरेको छ। काभ्रेपलाञ्चोकलाई १–० गोलले हराउँदै धादिङ सेमिफाइनलमा प्रवेश गरेको हो। धादिङ र काभ्रेपलाञ्चोकबीचको खेल हेर्न बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डे पनि पुगेका थिए।

आफ्नो गृह जिल्लालाई हौसला दिन मुख्यमन्त्री पाण्डे रंगशाला पुगेका थिए। बुधबारको दोस्रो खेलमा मकवानपुर र सिन्धुली भिडेका थिए। 





तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.