|

काठमाडौं : यतिबेला राजधानीको टेकुस्थित कौसी थिएटरमा नाटक 'ढल्केको सालैजो' मञ्चन भइरहेको छ। पहिलो लकडाउनमा आफ्नो वरपर घटेका घटनाहरू जोडेर रंगकर्मी आशान्त शर्माले उक्त नाटक लेखेका हुन्, जसको निर्देशक पनि उनी स्वयं नै हुन्। 

नाटक हेरेका दर्शकबाट शर्माले उत्साहजनक प्रतिक्रिया पाइरहेका छन्। कोरोना कालपछि काम गर्दा एउटा निर्देशक भनेको कस्तो हुनुपर्छ र नाटक कसरी बनाउनुपर्छ भन्ने विषयमा आफ्नो बुझाइ फेरिएको उनी सुनाउँछन्। व्यस्त जिन्दगीलाई व्यवस्थापन गर्दै नाटकको सम्पूर्ण भार पनि सम्हाल्न सकिँदो रहेछ भन्ने कुरा 'ढल्केको सालैजो'बाट अनुभव प्राप्त गरेको उनले सुनाए। लकडाउनको समय र नाटकसँगको सम्बन्धबारे शर्माको अनुभव जस्ताको त्यस्तै :

लकडाउनमा भेटिएका पात्र
२ वर्षअघि कोरोनाको त्रास बढेसँगै सरकारले लकडाउनको घोषणा गर्‍यो। छिटै लकडाउन खुल्ने र पहिलेकै लयमा काम हुने आशामा मलाई गाउँ फर्किन मन लागेन। एक हप्ताका  लागि भनिए पनि  उक्त लकडाउनको समय थपिँदै गयो। एक साताको लागि भनिए पनि दुई साता हुँदै महिनौँ लकडाउन भयो। 

म जस्तै लकडाउनको असर सामान्य होला र सामान्य दैनिकीमा फर्कौंला भनेर राजधानीमै बसेकाहरू विस्तारै गाउँ फर्कन थाले। कोही एक्लै, जहान र सामानसहित राजधानीबाट बाहिरिँदै गरेको समाचार र घटना मैले देखिरहे।

मेरो डेरानजिकै पस्मिनाको व्यापार गर्ने एकजना दाइ परिवारसँगै बस्नुहुन्थ्यो। भेट हुँदा हाइ हेल्लो हुन्थ्यो, सन्चो बिसन्चो सोधिन्थ्यो। काम गर्दै डेराको भाडा तिर्दै छोरी पनि पढाइरहेका थिए। श्रीमान् श्रीमतीको पनि राम्रै थियो। लकडाउन भएपछि श्रीमान् श्रीमतीको झगडा सुनिन थाल्यो। चर्को चर्को स्वरमा झगडा हुने त्यो कोठाबाट अलि दिनमा आवाज नै आउन छोड्यो। झगडा मिलेछ भन्ने भयो। 

पन्ध्र-बीस दिनपछि त्यो घरका घरबेटी भाइ पस्मिना वालाको ताला फोरेको भन्दै मलाई बोलाउन आए। वरपरका मानिसहरू पनि जम्मा भइसकेका रहेछन्। आठ नौ महिनादेखि भाडा तिरेका रहेनछन्। सबै सामान छोडेर ताल्चा लगाएर जहानसित गएछन्। कहाँ गए भन्ने कसैलाई थाहा थिएन। 

लकडाउनले पस्मिनाको व्यापार राम्रो चलेको थिएन, श्रीमतीले पनि सबै जस्तो काम भए पनि गर्छु भनेर खोजिरहेको थियो भन्ने थाहा भयो। लकडाउन सुरु भएपछि यस्ता घटना धेरै सुनेको थिएँ तर आफ्नो नजिकैका आफूसँग बोलिराख्ने मान्छेहरू त्यसरी हराएको घटनाले मेरो दिमागमा हान्यो।

पहिलो लकडाउनपछि सरकारले निषेधाज्ञाको घोषणा गरेको थियो। पानी परिरहेको थियो। म साँझको लागि तरकारी लिन निस्केको थिएँ। एकजना बहिनीले 'माथिको कुरा थाहा पाउनु भो दाइ?' भनेर सोधिन्। मैले छैन भनेँ। म बसेको भन्दा माथिल्लो घरमा एकजना महिलाले आत्महत्या गरेकी रहिछन्। 

पसल गरेर बस्ने। लकडाउनले गर्दा पसल नचलेपछि त्यो बेचेर विदेश जाने तयारीमा थिइन् रे। नजिकका मान्छेले मलाई एकदमै गाह्रो छ, दुई चार दिनभित्र पसल बेचेर हिँडिहाल्नुपर्छ। भनेको सुनेका थिए रे। 

मेरोनजिकै अर्को एउटा मान्छे थियो, जो भाडा तिर्न नसकेर पसल बन्द गरेर बसेको थियो। लकडाउनले हरेक व्यक्तिको दैनिकीमा परिवर्तन ल्याइदिएको थियो। यी दृश्य कुरुप थिए, जसको साक्षी म भए।  यस्ता दृश्यले मलाई नराम्ररी चिमोटिरह्यो। 

कोठामा ताल्चा लगाएर त्यो मान्छे कता गयो? ती आत्महत्या गर्ने महिलाको बाध्यता के थियो होला? त्यही लकडाउनले फेरि ठूला मान्छेहरूलाई किन केही असर नगरेको होला?  मेरो मनमा यस्तै यस्तै प्रश्नहरू खेल्न थाले। देखेका, सुनेका, पढेका र आफैले भोगेका विभिन्न घटना गाँसिएर नाटकको आकार दिएको हुँ।  

शहरमा गाउँको सालैजोको याद
राजधानी पसेपछि म आफैँले धेरै सम्झने धुन हो सालैजो। हामी पहिले पहिले जुन सालैजो गाउने चलन थियो त्यो अहिले छैन। म आफैँ पनि रोधीमा बसेको छु, सालैजो गाएको छु।

एक्लै हुँदा पनि गाइन्थ्यो, दोहोरी पनि गाइन्थ्यो। त्यो धुन अहिले सुनिँदैन। काठमाडौं आएपछि म आफैले ती सालैजो भाकाहरू खुबै याद गरिरहेको पन हुन्छु। मान्छे भेला भएर कुरा गर्ने, रोधि बस्ने ठाउँ भइदिए भन्ने लाग्छ। तर, यहाँ त्यस्तो ठाउँ छैन। यहाँ सबैलाई हतार छ। 

त्यसपछि त्यही सालैजोलाई धागो बनाएर, त्यसमा विभिन्न घटना उनेर मैले नाटक 'ढल्केको सालैजो' तयार गरेँ।

नाटकबाट भन्न खोजेको त्यस्तो ठूलो कुरा केही पनि होइन। मान्छे भएपछि मान्छे जस्तो भएर बाँचौँ। जनावर जस्तो भएर बाँच्न थाल्यौँ भने एउटा जनावरलाई तह लगाउन अर्को जनावर आउँछ भन्न मात्र खोजेको हो।

कोरोना कालको व्यक्तिगत अनुभव
कोरोनाका कारण भएको लकडाउनले असर गरेका मानिसहरूको कथा टिप्दै गर्दा मेरो आफ्नै अवस्था पनि असजिलो थियो। कोरोनाको कहर सकिएला, फेरि काममा फर्किएला भनेर बस्दा बस्दै अलिअलि भएको बचत सबै सकियो।

हुनेवाला काम कोरोनाले गर्दा ठप्प भयो। छोराहरूको पढाइको खर्च बढ्दै थियो। चारपाँच वटा फिल्ममा काम लगभग पक्का भइसकेको थियो। केही समय नाटक नगरेर फिल्ममा मात्रै केन्द्रित हुने सोचमा थिएँ। धेरै भए एक डेढ महिना होला भनेको लकडाउन पाँच/६ महिना हुँदा पनि सकिएन। खर्च बढेको बढ्यै थियो, आम्दानी शून्य।

धन्न केही साथीले 'इन्डोर' काम दिए। कसैले नाटक ट्रान्सलेट गरिदिनु भने, कसैले पछि नाटक खेल्नुपर्छ भनेर आर्थिक सहयोग गरे। एउटा नाटक ट्रान्सलेट गरेँ, यो नाटक लेखेँ अनि एउटा फिल्म लेखेँ। त्यसैले गर्दा धानियो। नत्र त म टुटिसकेको थिएँ।'

नाटक गत वर्ष चैतमै मञ्चन गर्ने तयारीमा थिएँ। तर, कोरोना कालकै कथा समेटिएको यो नाटकलाई फेरि अर्को भेरियन्टको कोरोना भाइरसले असर गर्‍यो। देशमा दोस्रो लकडाउन भयो। नाटकघर फेरि बन्द भए। ढल्केको सालैजो कोरोनाको दोस्रो भेरियन्टको चेपुवामा पर्‍यो। 

कोरोना कालपछि
पछिल्लो दुई वर्षमा अनपेक्षित घटना देखेँ, भोगेँ। जसले गर्दा मेरो  काम गर्ने शैलीमा पनि परिवर्तन आयो। पहिले नाटक भनेपछि कलाकारबाट गम्भीरता र अनुशासनको अपेक्षा गर्ने स्वभाव नै फेरियो। 

पहिले काम गर्दा आफ्नो ध्यान पनि नाटकमा मात्र हुन्थ्यो। कलाकार साथीहरूलाई पनि यसमा मात्रै ध्यान देउ भनेर काम गरिन्थ्यो। समयले म जस्तै अरूलाई पनि छिन् भिन्न पारेको छ। अनि सबैले धेरै कुराहरू सम्हाल्नु छ। अहिले काम गर्दा नाटकलाई लिएर आफूभित्र भएको कडापन हराएर गएको छ। सबैतिर सम्हाल्दै नाटक गर्नुपर्छ भन्ने लागेको छ। 

नाटकको रिहर्सलका बेलामा समयमा नआउँदा, डायलग याद नहुँदा 'किन ढिला? किन याद नगरेको?' भनेर कडा आवाजमै भन्थेँ, अहिले भन्दिनँ। हरेकका आफ्ना बाध्यता हुन सक्छन् भन्ने कुरा बोध हुन थालेको छ। हरेकका समस्या र खुशी साटासाट गर्ने आफ्ना पनि सुनाउँदा मन हलुका हुने रहेछ। त्यसरी काम गर्दा रमाइलो पनि हुँदो रहेछ, काममा एउटा सकारात्मक ऊर्जा आउँदो रहेछ।

जीवन लगाम लगाएको घोडा होइन भन्ने कुरा लकडाउनले सिकायो। अनि त्यसको असर काममा पनि देखिँदो रहेछ। कलाकारहरूले पनि सबैतिर सम्हाल्दै, मिलाउँदै आफ्नो तर्फबाट गर्नुपर्ने काम गरिरहेका छन्।

अलिकति सही तरिकाले व्यवस्थापन गर्ने हो भने यसरी पनि नाटक बनाउन सकिँदो रहेछ भन्ने लागेको छ। ममा त्यही व्यवस्थापकीय कमजोरी थियो कि भन्ने महशुस हुन्छ।'

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.