डा. बालाकृष्ण अधिकारी त्रिभुवन विश्वविद्यालयमा मानविकी तथा सामाजिक शास्त्र विभागका उप-प्राध्यापक हुन्। कला, साहित्य, समाज र भाषामा केन्द्रित रहेर उनका विचार, समीक्षाहरू अखबारका पानामा समेटिन्छन्।
उनका नेपाली साहित्यको इतिहास लेखन : सर्वेक्षण र विश्लेषण (२०६६), नेपाली साहित्यको काल विभाजन : ऐतिहासिक विश्लेषण (२०६९), संस्कृत साहित्यशास्त्रको प्रायोगिक स्वरूप (२०६९), नेपाली साहित्यको इतिहास लेखनका आधार (२०७६), मार्क्सवाद र साहित्येतिहास दर्शन (२०७७), साहित्यको इतिहास (२०७७, सहलेखन) प्रकाशन भइसकेका छन्।
कविता, निबन्ध, कथा, समालोचना, साहित्येतिहास आदिमा कलम चलाउने अधिकारी वर्तमान समयमा भने दर्शनमा केन्द्रित पुस्तक पढिरहेको बताउँछन्। पुस्तक लेखकका ज्ञान र चेतनाको उपज मान्ने अधिकारीसँग थाहाखबरकर्मी राजु पौडेलले पुस्तकवार्ताका लागि कुराकानी गरेका छन्।
पुस्तक लिएर जाने, तर नफर्काउने समस्याबारे यदाकदा सामाजिक सञ्जालमा सुनाइरहनेको कमी छैन। तर, चोरेको कुरा सुन्न पाइँदैन। रमाइलो कुराबाट सुरू गरेँ है, कहिल्यै पुस्तक चोर्नुभएको छ?
चोरेको छु। पुस्तक चोरेर पैसा कमाएको भने छैन।
अहिले पढिरहेको पुस्तक?
हाल मैले नारायण ढकालको ‘प्रेतकल्प’ पुन: पढिरहेको छु। एरिक हब्सबामको हिस्ट्री, पोलिटिक्स एन्ड कल्चर पढिरहेको छु। स्टिफेन हकिङ्सकोसमयको इतिहास र शोभाकान्ति लामिछानेको क्वान्टम सिद्धान्त पनि मेरो पठन यात्रामै छन्।
कुनै युवाले मैले पढ्नै पर्ने पुस्तक भनिदिनुस् न भनेर आग्रह गरेको खण्डमा फ्याट्टै दिमागमा आउने पुस्तक?
माथि लेखिएका पुस्तक पनि मेरो पठनसूची अन्तर्गतका हुन्। यिनमा मोहन वैद्य किरणको हिमाली दर्शन‚ आर्थर मारविकको इतिहासका स्वरूप‚ चार्ल्स डार्बिनको जातिहरूको उत्पति‚ मैनेजर पाण्डेयको साहित्य और इतिहास दृष्टि आदि कृतिहरू पठनीय छन्। मैले पठनीय मानेका कृति मेरो अध्ययनको विषय क्षेत्रसँग सम्बद्ध छन्।
नेपालमा पुस्तकको प्रकाशनले तीव्रता पाए पनि पाठकमा दिगो असर भने कमैले दिएका छन् भन्ने सुनिन्छ। पुस्तकले दिगो असर पाठकमा पर्न नसक्नुमा को कति जिम्मेवार छ?
अध्ययन र अनुसन्धानको गहन प्रक्रिया नपुगेका नेपाली समाज, चेतना र वस्तुस्थितिलाई पक्रिन नसकेका र ज्ञानको नयाँ तथा मौलिक क्षितिजमा गहिरो दक्खल राख्ने पुस्तक लेखनको अभाव र मुख्यत: पठन संस्कृतिको अभाव नेपालमा छँदैछ।
धेरै पल्ट पढेको किताब?
गणनाका दृष्टिले 'शिरीषको फूल' मैले धेरै पल्ट पढेको किताब हो।
मन परेको पुस्तक अन्यले पनि पढिदिए हुने भन्ने लोभ लाग्छ। पुस्तक उपहारको फण्डामा तपाईंको अनुभव?
म पुस्तक उपहार दिने र लिने कुरामा विश्वास गर्दिनँ। पुस्तक उपहार दिएर र लिएर त्यसको सार्थकता रहन सक्दैन भन्ने मलाई लाग्छ। तथापि‚ आफ्नै पुस्तकहरू नै मैले धेरै पल्ट उपहार दिएको छु।
पुस्तक समीक्षाहरूले पनि पत्रिकाका पाना र अनलाइन पोर्टल भरिएका हुन्छन्। कस्तो लाग्छ?
पढ्छु‚ राम्रै लाग्छ। पुस्तक समीक्षा पाठक वा समीक्षकले पुस्तक पठनबाट ग्रहण गरेको प्रभावका आधारमा लेखिएका हुन्छन्।
नेपालमा कतिपय सन्दर्भमा प्रायोजित किसिमले पुस्तक समीक्षा लेखिएको देखिन्छ। यस्तो प्रायोजनले पुस्तकको बजार राम्रो होला तर यसले दीर्घकालीन रूपमा प्राज्ञिक असर गरिरहन्छ। बजार र प्रचारका आधारमा पुस्तकको गुणस्तरीयता निर्धारण गर्ने गलत परिपाटी बस्छ।
यहाँसँग भएको दुर्लभ पुस्तक?
दुर्लभ पुस्तक पनि सार्वजनिक गर्ने विषय हो र!
रोजाइमा कुन विधा?
लेखनका दृष्टिले कविता, निबन्ध, कथा, समालोचना, साहित्येतिहास आदि। पठनका दृष्टिले अचेल म दर्शनमा केन्द्रित छु।
नेपालमा अनुसन्धानात्मक लेखन र अध्ययन कस्तो भेट्नुहुन्छ?
प्रारम्भिक स्तरबाट सामान्य माथि उक्लिँदै छ। अनुसन्धान भनेको संस्कृतिको उपज हो। नेपालमा सुदृढ अनुसन्धान संस्कृति स्थापित भइसकेको छैन।
अनुसन्धान विश्वविद्यालयका तह पार गर्न र बढुवा खानका लागि मात्र सीमित छ। जबसम्म अनुसन्धान संस्कृतिका रूपमा यसको विकास हुन सक्दैन तबसम्म यसको विकासयात्रा सन्तोषजनक स्थितिमा पुग्दैन। तथापि‚ विश्वविद्यालयको प्रयोजनका लागि भएका कामहरूको प्रशंसा गर्नैपर्छ।
उमेरअनुसार पढ्ने पुस्तकमा आउने फेरबदल सामान्य पनि हो। बाल्यकाल‚ किशोर र युवा अवस्थामा कुन कुन ‘जनरा’का पुस्तकले आकर्षित गरे?
हामी गाउँघरमा कुटो‚ कोदालो गरेर हुर्के‚ बढेका र पढेका मान्छे हौँ। बाल्यकालमा विद्यालयका पाठ्यपुस्तक नै हाम्रा लागि सबै थोक थिए। माध्यमिक तहमा पुगेर किनेका दुई नयाँ पुस्तक डिक्स्नरी र एस्से कलेक्सन हुन्।
माध्यमिक तह पढ्दै गर्दा साहित्य र ज्ञानका लागि छुट्टै पुस्तक पढ्न हामीले पाएनौँ। आइए पढ्दै गर्दा केही साथीहरूबाट उमेरजन्य विशेषता मिल्ने खालका पुस्तक पढियो।
स्नातक र स्नातकोत्तर तह पढ्दा पनि पाठ्यक्रममा समावेश भएका पुस्तक नै पढियो। एमफिल र विद्यावारिधिका क्रममा अधिकांशत: आफ्नो विषयअनुसार इतिहास‚ दर्शन र साहित्यको इतिहास दर्शनसँग सम्बद्ध पुस्तकहरू पढियो। समग्रमा मलाई इतिहास दर्शन र साहित्येतिहास दर्शनसँग सम्बद्ध पुस्तकले बढी आकर्षित गरे।
पुस्तक छनोट कसरी गर्नुहुन्छ, यसका सीमाहरू के के हुन्?
बजारीया हल्लाका आधारमा पुस्तक छनोट नगर्नु, आफूलाई आवश्यक नपर्ने जस्तो लागेका पुस्तक नकिन्नु, नाम चलेको लेखकै भए पनि मन नपर्ने विचार र शैली भएका पुस्तक छनोटमा नपार्नु, सामाजिक धरातल बिर्सेर स्वैरकल्पनामा हराउने लेखकका पुस्तक नपढ्नु, लेखक बन्नकै लागि भनेर बलजफ्ती लेखिएका पुस्तक छनोट नगर्नु, पैसा दिएर लेखाइएका पुस्तक छनोट नगर्नु आदि। पुस्तक छनोटमा सीमै सीमा भएको मान्छे हुँ म।
आखिर पुस्तक के हो अथवा के होइन?
पुस्तक लेखकका ज्ञान र चेतनाको उपज हो। पुस्तक तपाईँ हाम्रा लागि जादुको छडी होइन।
पुस्तक पढ्दै जाँदा यो पुस्तक मैले लेख्न पाएको भए भनेर लोभ लाग्ने अवस्था सिर्जना पनि हुन्छ। तपाईंको हकमा पनि कुनै पुस्तक छ?
छ नि। मलाई जुन पुस्तक पढ्यो त्यस्तो मैले लेख्न पाएको भए भन्ने लागिरहन्छ। पारिजातको शिरीषको फूल‚ विश्वेश्वरप्रसाद कोइरालाको सुम्निमा‚ सरल सहयात्रीको शिखरको ढुंगा पढिरहँदा मलाई त्यो आफूले लेख्न पाएको भए भन्ने लागिरह्यो। अहिले प्रेतकल्प पढिरहँदा मलाई त्यस्तै लागिरहेको छ।
विद्यार्थीले पढ्नैपर्ने पुस्तक?
विद्यार्थी कालमा पाठ्यक्रममा समावेश गरिएका सबै पुस्तक पढ्नैपर्छ। तिनै पुस्तकले नै विद्यार्थीलाई जीवनका अनेक आयाम र जीविकाका मोड अनुकूलका पुस्तक पढ्नुपर्ने आवश्यकताको बोध गराउँछ। पुस्तक बाटो देखाउने संकेत मात्र हो। पुस्तकले मष्तिष्कलाई व्यवस्थित गर्न सघाउ पुर्याउँछन्। तर‚ पुस्तकलाई नै जीवन ठान्नु हुँदैन। पुस्तक जीवनको आधार हो, स्वयं जीवन होइन।
तपाईंको ईमेल गोप्य राखिनेछ ।