|

म्याग्दी : म्याग्दीका लेकाली क्षेत्रका वनपाखा रंगीबिरंगी लालीगुराँसले रंगिएका छन्। पाखैभरी ढकमक्क गुराँस फुलेपछि पर्यटक र स्कुल तथा कलेजका विद्यार्थीहरू वनतिर जान थालेका छन्।

राताम्मे फुलेका लालीगुराँस र वनजंगलको हरियालीले प्रकृति मुस्कुराइरहेको जस्तो देखिन थालेको छ। पर्यटक घोडेपानी, पुनहिल, मोहरेडाँडा, फुलबारी, खोप्रा, बयली, मालिका गाउँपालिको सोले, बेनी नगरपालिका–३ भकिम्लीको स्वर्गाश्रम, धवलागिरि गाउँपालिकाको जलजला, देउराली, मंगलाको टोड्के, झाँक्रीपानी, रघुगंगाको रुइसेमा पुग्न थालेका छन्।

नेपालमा पाइने ३२ प्रजातिकामध्ये घोडेपानी क्षेत्रको जंगलमा रातो, सेतो, गुलाबी, चिमालीलगायत नौ प्रकारका गुराँस पाइने अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) ले जनाएको छ। लालीगुराँसको जंगलको प्राकृतिक सौन्दर्यलाई नियाल्दै पर्यटक मक्ख परेको सञ्चारकर्मी सुरेन गुरुङले जानकारी दिए।  घोडेपानीका होटल व्यवसायी टेकसर बुद्धुजाका अनुसार अहिले गुराँससँग रमाउन पर्यटकहरू आउन शुरु गरेका छन्।

घोडेपानीको लालीगुराँसको जंगलको पृष्ठभूमिमा धौलागिरि, अन्नपूर्ण, माछापुच्छ्रे, नीलगिरि हिमालको साथै सूर्योदय अवलोकन गर्न सकिन्छ। अन्नपूर्ण चक्रीय पदमार्गको प्रमुख पर्यटकीय केन्द्र मानिने घोडेपानी क्षेत्रको गुराँसको जंगललाई समेटेर समुदाय स्तरमा अन्नपूर्ण धौलागिरि सामुदायिक पदमार्ग सञ्चालन भएको छ।

घोडेपानीका बासिन्दाले गुराँस बचाउन गुराँसका रूख नकाट्ने नियम बनाएका छन्। जथाभावी रूपमा काठ, दाउराका लागि रूख काट्दा गुराँसको जंगल मासिएपछि यस्तो नियम बनाएका हुन्। एक्यापको सहयोगमा तारबार लगाएर जंगलको घेराउ गरिएको घोडेपानीका बासिन्दासमेत रहेका अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनले बताए।

लालीगुराँसका फूल यहाँको प्राकृतिक वरदान मात्र होइन सुकाएर फूलको पत्र जडीबुटीका रूपमा व्यापार गरी आयआर्जन गर्न सकिने भए पनि यस तर्फको ध्यान जान नसकेको वन तथा वनपैदावर र वातावरणको क्षेत्रमा सक्रिय वन डिभिजन कार्यालय म्याग्दीका प्रमुख चन्द्रमणि सापकोटाले बताए।

जन्डिस, आउँ, खोकी, कलेजो सुन्निएको, मुखको गन्ध हटाउन समेत औषधि हुने लालीगुराँस वातावरणीय तथा पर्यटकीय दृष्टिले समेत महत्त्वपूर्ण मानिएको छ।

म्याग्दीका करिब ८० प्रतिशतभन्दा बढी वनमा यसरी लालीगुराँस फुलेको पाइन्छ। लालीगुराँसको बोटदेखि फूलसम्म विभिन्न औषधि बनाउन प्रयोग हुँदै आएको छ। जिल्लाका विभिन्न स्थानमा लालीगुराँसको जुस बनाउने उद्योग स्थापना गर्ने क्रम बढ्दै गएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.