|

काठमाडौं : वसन्त उत्सवका रुपमा समेत मानाइने रङहरूको पर्वको रूपमा मनाइने फागु पूर्णिमा नेपालमा दुई दिन मनाइन्छ। पहाडी र हिमाली भेगमा फाल्गुण शुक्ल पूर्णिमा र तराई/मधेशमा त्यसको पछिल्लो दिन धूमधामका साथ मनाइन्छ। हिमाल र पहाडमा फागु पर्व भनिने यो चाडलाई तराई/मधेशमा होली भनिन्छ।

एकापसमा रङ र अविर दल्ने तथा पानी छ्यापाछ्याप गरेर यस पर्व हर्षोउल्लासका साथ मनाइन्छ। होली या फागु पर्व झट्ट हेर्दा केवल रङहरूको पर्वजस्तो मात्रै देखिए पनि यहाँ युवायुवतीको प्रेम अर्थात् यौनसँग जोडिन्छ।

धर्म संस्कृतिका जानकार माधवप्रसाद शर्मा यस पर्वलाई श्रृङ्गार रससँग जोड्छन्। ‘अहिलेका पिँढीले यो पर्वको वास्तविक महत्त्व बुझेका छैनन्,’ उनले भने, ‘कतिले धर्मका हिसाबले मात्र बुझेका छन्, कतिले बढी नै आधुनिक भएर ब्याख्या गरिरहेका छन्।’

यो पर्वलाई वसन्त ऋतुको आगमनका रुपमा लिइने शर्मा बताउँछन्। प्रकृतिको यौवनावस्थाका रुपमा वसन्त ऋतु रहेकाले मान्छेलगायत विभिन्न जीवजन्तु र वृक्षको जीवनमा यस ऋतुले नयाँ सुखद तरंग ल्याउछने उनको भनाइ छ। होलिकाको कथाले असत्यमाथि सत्यको विजयको सन्देश दिएको छ भने होलीमै आउने कामदेव र रतीको प्रेम, कृष्ण र राधाको प्रेम तथा भीमसेन र द्रौपतीको प्रेमले यौनका विषयलाई अप्रत्यक्ष रूपमा उजागर शर्मा बताउँछन्। त्यसैले परम्परागत समाजमा यौन शिक्षाका लागि पनि यो पर्वको विशेष महत्त्व रहेको उनको भनाइ छ।

बदलिएको फागु पर्व

पहिलेपहिले फागु या होलीका दिन एक अर्काबीच रङहरू छ्यापेर खेल्ने गरिन्थ्यो। अहिले रङसँगै पानी पनि छ्यापिन्छ। काठमाडौं उपत्यका तथा देशमा मुख्य सहरहरूमा त एक साताअघिदेखि नै चिनेका या नचिनेका मानिसलाई रङ र पानीले हान्ने गर्न थालिएको थियो। प्रशासनले कडाइ गरेपछि त्यसो गर्न छाडिएको छ।

यस पर्वको अवसरमा विभिन्न कार्यक्रम आयोजना गरेका छन्। नाचगान र रङ छ्यापेर मनाइने यस पर्वमा विभिन्न कलाकारहरूले सांगीतिक कार्यक्रमरु गर्ने गरेका छन्। मादक पदार्थ तथा लागु औषध सेवन पनि गर्ने गरेका छन्। यसले विभिन्न दुर्घटना निम्तिने गरेको छ।

फागु पूर्णिमा वा होलीबारे विभिन्न कथाहरू छन्। आसुरी शक्तिकी द्योतक होलिकालाई आगोले भष्म गरी सत्यवादी भक्तप्रह्लादको उद्धारको कथा, भगवान कृष्ण र नग्न अवस्थामा गोपिनीहरूले नुहाउँदाको प्रसंग तथा कामदेव र रतीको प्रेमकथालगायतका कथाहरू यस पर्वसँग जोडिएका छन्। यसैगरी बन्दी बच्चाहरूलाई राक्षस ढुण्डाको पन्जाबाट मुक्ति दिलाएको अवसरमा फागु खेल्न थालिएको प्रसंग पनि धार्मिक ग्रन्थमा उल्लेख छ।

पौराणिक कथाअनुसार प्राचीन समय अथवा सत्य युगमा नास्तिक हिरण्यकशिपु नामक एक जना राक्षसको जन्म भएको थियो। हिराण्यकशिपुलाई भगवान विष्णुले नृसिंह अवतार लिएर मारेका थिए। हिराण्यकशिपुका छोरा भक्त प्रह्लाद थिए। भक्त प्रह्लाद भगवान विष्णुका निकै भक्त थिए। आफ्नै छोरा प्रह्लाद भगवान विष्णुलाई भज्ने गरेको हिराण्यकशिपुलाई मन परेको थिएन।

त्यसैले उसले प्रह्लादलाई मार्न धेरै योजना बनाएका थिए। एक योजना अनुसार हिरण्यकशिपुले छोरालाई अग्निकुण्डमा हालेर मार्न आफ्नी बहिनी होलिका (जसलाई अग्निले पनि डढाउन नसक्ने वरदान पाएकी थिइन्)लाई जिम्मा दिएका थिए। दाजुको आदेशानुसार होलिका प्रह्लादलाई काखमा लिएर अग्निमा बस्दा आगोले धर्मको साथ दिएकाले होलिका जलेर नष्ट भइन्। तर‚ प्रह्लादलाई केही भएन। होलिका दहनकै खुसियाली मनाउन आपसमा रङ र अबिर छरेर होली पर्व मनाउने परम्परा चलेको धार्मिक मान्यता छ।

अर्को प्रसंगअनुसार द्वापर युगमा श्रीकृष्णलाई मार्ने उद्देश्यले दुध खुवाउन गएकी कंशकी सेना पुतना नामकी राक्षसनीलाई उल्टै कृष्णले मारिदिनुभएकाले त्यसको शवलाई ब्रजवासीहरूले यसै दिन जलाएर आपसमा रङ र अबिर छरी खुशियाली मनाएकाले त्यसैको सम्झनामा अद्यावधिक चीरदाह गरी होली खेल्ने परम्परा चलेको भनाइ छ।

होली हिन्दुहरूको अत्यन्त प्राचीन पर्व हो। इतिहासकारहरूका अनुसार यस पर्वको प्रचलन आर्यहरूमा पनि थियो। यस पर्वको वर्णन अनेक पुरातन धार्मिक पुस्तकहरूमा पाइन्छ। नारद पुराण र भविष्य पुराण जस्तो प्राचीन हस्तलिपि र ग्रन्थहरूमा पनि यस पर्वको उल्लेख छ। भारतमा पर्ने विंध्यक्षेत्रको रामगढ भन्ने स्थानमा ईसा भन्दा ३०० वर्ष पुरानो एउटा अभिलेखमा पनि यसको उल्लेख छ। संस्कृत साहित्यमा वसन्त ऋतु र वसन्तोत्सव अनेक कविहरूको प्रिय विषय थियो।

यस पर्वमा चीर ठड्याउने परम्परा सम्बन्धमा एक लोककथनअनुसार एक पटक यमुना नदीमा एक समूह गोपिनीहरू निवस्त्र नुहाइरहेका थिए। त्यसै बेला भगवान श्रीकृष्णले ती गोपिनीहरूको सबै लुगा नदीको किनारमा एउटा रुखको हाँगामा झुण्ड्याइ आफू अर्का हाँगामा बसी बाँसुरी बजाउन थाले। गोपिनीहरूले आफ्ना लुगा पाउन धेरै बिन्तीभाउ गर्दा पनि कृष्णले लुगा झारिदिएनन्। बरु उनले भने ‘निवस्त्र नुहाएकोमा प्रायश्चित गरेमात्र लुगाहरू दिनेछु।’ त्यसअनुसार गोपिनीहरूले श्री कृष्णलाई अर्घ जल चढाएर प्रायश्चित गरेका थिए। त्यसपछि कृष्णले रुखको हाँगाबाट लुगा झारिदिए।

काठमाडैंमा चीर

काठमाडौंको वसन्तपुरमा विधिपूर्वक चीर ठड्याइएसँगै काठमाडौं उपत्यकामा फागु पर्व सुरु हुन्छ। हनुमानढोका दरबारको गद्दी बैठकको दक्षिणतर्फ तीनतले चीर ठड्याइन्छ। भक्तपुरको बाँसघारीबाट ल्याइएको बाँस तथा गुहेश्वरीबाट ल्याइएको मयल रूखको हाँगालाई फागुन शुक्ल अष्टमीको बिहान विशेष पूजा गरी ठड्याइने गरिन्छ।

रङ्गीचङ्गी कपडाहरू झुन्ड्याइएको टुप्पोमा मयलको रूखको हाँगा बाँधिएको अग्लो बाँसको चीर ठड्याइन्छ। चीरलाई परिक्रमा गर्दै त्यहाँ एकापसमा अबिर छ्यापी हर्ष र उल्लासका साथ होली खेल्न सुरु हुन्छ। उक्त अवसरमा स्थानीयवासी तथा नेपाली सेनाको सहभागितामा गुर्जुको पल्टनले सलामीसमेत दिने गर्दछ।

त्यसै अवसरमा हनुमानढोका दरवार परिसर तथा हनुमानढोका दरबारभित्रको मोहनकाली चोक र दाखचोकमा पनि रङ्गीविरङ्गी कपडाका टुक्राहरू झुण्ड्याइएको मयलको रुखको हाँगा गाढेर पूजा पनि गरिने चलन छ। साथै, मोहनकाली चोकमा काठ निर्मित हातमा मुरली लिएका श्रीकृष्णको मूर्ति र नौवटा विभिन्न मुद्राका गोपीका मूर्तिहरू सजाई अविर छर्केर पूजा गरिन्छ।

लिङ्ग र योनी जुधाउने भक्तपुर

भक्तपुरमा चीर स्वायगू अर्थात् लिङ्ग घुमाएपछि फागु पर्व सुरूवात भएको मानिन्छ। जगतप्रकाश मल्लको समयमा बनेको दत्तात्रय मन्दिरसँगै रहेको भैरब मन्दिरमा रहेको लिङ्गको आकृति भएको काठ र रातो कपडाको कपडाको योनी जुधाएर होलीको सुरूवात गरिन्छ। काठबाट बनेको दुई हात लामो लिङ्ग करिब ३० इन्च मोटाई रहनुपर्ने मान्यता छ।

चिर स्वायगू अर्थात् लिङ्ग झुण्ड्याइएपछि यहाँका नेवार समुदाय भीमसेन मन्दिरमा गई गुठी भोज खाने गर्दछन्। फाल्गुण शुक्ल पूर्णिमाका दिन रङ खेलेपछि साँझ तलेजुभित्र कृष्णलाई खटमा राखी १६ प्रकारको रोटी, कपास, गलाबको फूल, अत्तर र अमुखसहित पूजा गरेपछि नगर परिक्रमा गरिन्छ। त्यसबेला बाटोमा रहेको देवी देवतामा तेलमा मुछेको अबिरको डल्लाले छरी साँझ दत्तात्रय मन्दिर पुर्‍याउने चलन छ।

साँझपख दत्तात्रय मन्दिरअगाडिको भीमसेनको मन्दिरबाट लिङ्ग निकाली एक व्यक्तिले बोकेर ब्रह्मायणी मन्दिरस्थित खोलामा लगेर पखाली पुनः मन्दिरमा राखिन्छ। मन्दिरबाट खोलासम्म लिङ्ग बोकेर लैजानेको छोरा जन्मन्छ भन्ने विश्वासका कारण लिङ्ग बोक्न प्रतिष्पर्धा नै हुने गरेको छ।

ठमेलको महाविहार

काठमाडौंको ठमेलस्थित विक्रमशील महाविहारमा रहेको चकँ द्य (चक्रमणशीलको मूर्ति)लाई राति त्यसै महाविहारसँगैको टुँ (इनार) चोकमा नौ पटक ओहोरदोहोर गराउने परम्परा छ। नेपाल भाषामा यसलाई ‘गुह्रु न्यायेकेगु’ भनिन्छ। त्यसो गर्नुअघि मूर्तिलाई बाजागाजाका साथ ठमेल परिक्रमा गराइन्छ।

सिंहसार्थ बाह भनिने त्यस मानवाकृत रातो चकँ द्यको मूर्तिलाई बाजागाजासहित जात्रा गर्दै ठमेलबाट ज्याठा, असन, इन्द्रचोक हुँदै हनुमानढोका पुर्‍याई त्यहाँबाट मरुसत्तल, प्याफल, नरदेवी, टेंगल, बाँगेमुढा, थँहिटी, क्वबहाल हुँदै विक्रमशील महाविहार पुर्‍याउने परम्परा छ। चकँ द्य जात्राका क्रममा बोधिसत्व महामञ्जुश्री यहाँ आई विक्रमशील महाविहारमा बस्दा आफैंले लेखेको भनिने ‘प्रज्ञापारमिता’ नामका ठूल्ठूला चार ठेली ग्रन्थ पनि सँगै बोकेर नगर परिक्रमा गराउने परम्परा थियो। तर‚ केही वर्षयता ‘ठ्यासफु’का रूपमा रहेको प्रत्येक पाना कालो पृष्ठभूमिमा सुन र चाँदीको मसीले रञ्जना लिपिमा लेखिएको ग्रन्थका पृष्ठहरू च्यातिने र हराउने डरले परिक्रमा गराउन छाडेको छ।

काठमाडौंमा चकँ द्य जात्रा

व्यापारीहरूको नेतृत्व गर्दै ल्हासामा व्यापार गर्न गएका सिंहसार्थ वाह स्वदेश फर्कने क्रममा सँगै आएका सबै व्यापारीहरू मारिएका र उनी मात्र बाँचेर सकुशल आफ्नो घर फर्केको खुशियालीमा सिन्दुर जात्रा गरी होली खेलिएदेखि गर्ने परम्परा चलेको लोककथन पनि छ।

ऋतुराज वसन्तको पुनरागमनमा प्रकृति नै हराभरा भई सर्वत्र रमणीय देखिन थालेको वातावरणमा आठ दिनसम्म एकापसमा मैत्री एवं सद्भावपूर्वक खेलिने यस राष्ट्रिय पर्वमा भाङ, घोट्टा पिउने तथा ख्याली, टप्पा, वसन्त राग गाउँदै नाच्दै रमाइलो गरिन्छ। युवायुवतीहरूले यस पर्वलाई आफूले मन पराएका व्यक्तिलाई उक्त कुरा नाचगानको माध्यमबाट प्रकट गर्ने अवसरको रुपमा पनि लिने गर्दछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.