अन्याेलमा परीक्षार्थी

|

काठमाडौं : लोकसेवा आयोगबाट विज्ञापन गरिएका परीक्षादेखि नतिजा प्रकाशन तीन वर्षयता नियमित हुन सकेको छैन। सर्वोच्च अदालतमा मुद्दा परेका कारण परीक्षा समयमा हुन नसकेको हो। 

आयोगको परीक्षा सञ्चालन शाखाका उपसचिव एकनारायण शर्माका अनुसार आयोगअन्तर्गतका परीक्षा २०७६ बाट नियमित हुन सकेको छैन। २०७६।७७ को राजपत्र अंकित तृतीय श्रेणी खरिदार अप्राविधिक नतिजा प्रकाशन रोकिएको छ। ०७७।७८ को त्यही तहको दोस्रो चरणको परीक्षा रोकिएको छ। 

त्यस्तै राजपत्र अंकित प्रथम श्रेणी नायब सुब्बाको ०७६।७७ को अन्तवार्ता स्थगित छ भने ०७७।७८ को दोस्रो चरणको परीक्षा रोकिएको उनले जानकारी दिए। 
०७७।७८ राजपत्र तृतीया श्रेणी शाखा अधिकृत दोस्रो चरणको परीक्षा बाँकी छ,’उनले भने, ‘०७८।७९ को प्राविधिक शाखा अधिकृतको राजपत्र द्वितीय श्रेणी मेकानिकल इन्जिनियरको परीक्षा बाँकी छ।’

उनले यी सबै परीक्षाहरू सर्वोच्च अदालतमा मुद्दा परेकाले रोकिएको बताए। ‘उच्च अदालत पाटनको आदेशले ०७८।७९ को प्राविधिक नायब सुब्बा सो सरहको परीक्षा रोकिएको छ’, उनले भने। 

किन पर्छ मुद्दा ?

आयोगको परीक्षा सञ्चालन शाखाका उपसचिव शर्माका अनुसार  समायोजनको माग राखेर मुद्दा पर्ने गरेको छ। ‘थारू क्लष्टरको मुद्दा ९९ प्रतिशत समस्या समाधान भएको छ, अब रोकिँदैन,अरूको त्यही समायोजनको माग राखेर मुद्दा पर्ने गरेको छ’, उनले भने।

रोकिएको परीक्षा कहिले सञ्चालन हुन्छ भन्ने प्रश्नमा उनले भने, ‘हामीले भनेर निर्णय गर्ने होइन,अब अदालतले कहिले निर्णय गर्छ, त्यही आधारमा मात्र हुन्छ,सकेसम्म छिट्टै निर्णय भए राम्रो हुन्थ्यो।’ 

नियमित परीक्षा नहुँदा परीक्षार्थीसँगै आयोग मर्कामा

आयोगकै परीक्षा तालिकाको सेडुल अनुसार परीक्षा भएको भई हालसम्म केही परीक्षा,अन्तर्वार्ता नरोकिने परीक्षा सञ्चालन शाखाका उपसचिव शर्माले बताए। नियमित परीक्षा नहुँदा आयोगमा समेत असर पुगेको उनको भनाइ छ।

‘पहिलाको परीक्षा सेडुल अनुसार भएको भए सबै क्लियर हुन्थ्यो तर तीन वर्षदेखि नहुँदा नियुक्ति गर्ने निकाय कुन परीक्षा भयो?, कुन पद के भन्ने छुट्याउनै गाह्रो भएको छ’, उनले भने।

आयोगका प्रवक्ता तोयनारायण सुवेदीका अनुसार विभिन्न तहको करिब पाँच सय पदको नियुक्ति रोकिएको छ। परीक्षा रोकिँदा परीक्षार्थीमा धेरै अन्योलता छाएको उनले बताए।

‘परीक्षार्थी कहिले परीक्षा हुन्छ भन्दै सोध्छन् तर हाम्रो परीक्षा सञ्चालन गर्ने बाटो नै छैन’, उनले भने। उनका अनुसार लामो समयसम्म परीक्षा रोकिँदा आवेदकहरूलाई चिन्ता थपिएको छ। परीक्षाको तयारी गरेका कतिपयमा निरास छाएको छ। 

यसो भन्छ अदालत

सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेल अधिकांश विज्ञापनविरुद्ध परेको मुद्दा फैसला भए पनि यसको पूर्णपाठ नआएकाले लाेकसेवाआयोगकाे परीक्षा गराउने बाटो नखुलेको बताउँछन्। ‘नासु र खरिदार पदको विज्ञापनमा समायोजन नभएको भनी मुद्दा परेको छ, केहीको फैसला भए पनि यसकाे पूर्णपाठ आएकाे छैन, पूर्णपाठ आएपछि परीक्षा गराउने बाटाे खुल्छ, कुनै विज्ञापनविरुद्धकाे मुद्दा पेशी तोकिएको छ’, उनले भने।

आयोगका अनुसार चैत महिनाभित्र प्राविधिक खरदारको विज्ञापन खोल्ने तयारी छ। खरिदारको खोटाङ, दिपायल लगायत १४ आयोगको कार्यालयले विज्ञापन गर्छ भने नायव सुब्बाको ७ वटै प्रदेशबाट विज्ञापन हुने गर्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.