एक-अर्कालाई दोषारोपण गरेर आफ्नै डम्फु बजाउन व्यस्त नेता कार्यकर्ता

|

म्याग्दी : आफ्नै लयमा बगिरहेका म्याग्दी नदी र कालीगण्डकी  शान्त छन्। तर, निर्वाचनको मिति नजिकिँदै गर्दा तातेको राजनीतिक माहोलले म्याग्दीका राजनीतिक दल र तिनका नेताहरूलाई पसिना छुटाउन सुरु गरेको छ।

पाँच वर्षसम्म जनचाहनाभन्दा आफ्नै गुटगत स्वार्थ र व्यक्तिगत चाहनामा केन्द्रित भएका राजनीतिक दलका नेताहरू आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन नजिकिँदै जान थालेपछि बल्ल जनता र कार्यकर्तालाई सम्झन थालेका छन्।

राजनीतिक दलहरूका भेला र प्रशिक्षण कार्यक्रम देख्दा र नेताहरूका कुरा सुन्दा अझै पनि उनीहरूमा चेत खुलेको पाइँदैन।

विगतमा भएका आफ्ना कमीकमजोरीलाई गम्भीर रुपमा समिक्षा गर्दै भावी रणनीति बनाउनु पर्नेमा यहाँका राजनीतिक दलहरू एकअर्कालाई हिलो छ्यापाछ्याप गर्न र आफ्नै डम्फू बजाउन व्यस्त देखिएका छन्।

बाहिरबाहिर गठबन्धन बनाएर चुनावमा जान अनिच्छुक देखिएका यहाँका दलहरूलाई भित्रभित्र भने एक्लै निर्वाचनमा जाँदा पनि जितिन्छ भन्ने एक रत्ति विश्वास छैन।

बाहिरबाहिर हुँदैन भनेपनि भित्रभित्र चुनावी गठबन्धन बनाएर निर्वाचनमा जान यहाँका दलहरूले तयारी सुरु गरेको र अनौपचारिक रुपमा छलफलसमेत भएको बुझिएको छ।

पाँचवटा गाउँपालिका र एक नगरपालिकासहित जिल्लामा ६ वटा स्थानीय तह छन्। सत्ता गठबन्धनमा सहभागी दुई ठूला दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले जिल्लामा चुनावी तालमेलका विषयमा अहिलेसम्म औपचारिक रूपमा छलफल गरेका छैनन्। दुवै दलका नेताहरू तालमेल गरेर जाने कुरामा अनिच्छुक देखिन्छन्।

नेकपा एमालेको अवस्था पनि त्यस्तै छ। अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) र पाँच दलीय गठबन्धनबाट बनेको सरकारको उछित्तो काढ्नमा नै अधिकांश समय खर्चिने नेकपा एमालेले बाहिर बाहिर चुनावी तालमेलको चर्को विरोध गरे जिल्लामा कांग्रेसको बढ्दो प्रभाव र नेकपा विभाजन पछि उत्पन्न तिक्तताले एमालेलाई भित्रभित्रै पिरोलेको देखिन्छ।

नेकपा विभाजनले ल्याएको तिक्ततापूर्ण सम्बन्धका कारण जिल्लामा अहिले नै  माओवादीसँग चुनावी तालमेल हुने संभावना कमै देखिए पनि नेकपा एमालेले विभिन्न विकल्पहरू खोजिरहेको बुझिएको छ। एमालेले अघिल्लो निर्वाचनमा दुईवटा मात्र स्थानीय तह जितेको थियो।

अघिल्लो निर्वाचनमा नेकपा एमालेले धवलागिरि र मंगला गाउँपालिका र नेपाली कांग्रेसले बेनी नगरपालिकाको प्रमुखसहित मालिका,रघुगंगा र अन्नपूर्णमा विजय प्राप्त गरेको थियो। त्यसैगरी माओवादी केन्द्रले ७ वटा वडामा आफ्ना प्रतिनिधिलाई विजयी गराएको थियो।

अघिल्लो निर्वाचनमा जित हासिल गरेका पालिका अर्को दलको हातमा जान नदिन कांग्रेसले कसरत गरेको छ भने एमालेले आफूले जितेका पालिकालाई सुरक्षित गरेर थप पालिका जित्ने योजनामा छ।

यता, माओवादी केन्द्रले सत्ता गठबन्धनलाई स्थानीय तहको निर्वाचनसम्म लगेर आफू जिल्लामा दोस्रो शक्ति हुने दाउमा छ। यद्यपि, आधिकारिक रूपमा सत्ता गठवन्धनको औपचारिक बैठक नबसेको भए पनि नेकपा माओवादी भने चुनावी तालमेलकै पक्षमा रहेको बुझिएको छ।

माओवादी केन्द्रले आफूलाई कुन दलसँग मिल्दा बढी फाइदा हुन्छ, त्यही दलसँग गठबन्धन गर्ने जस्तो देखिएको छ। स्थानीयस्तरका कार्यकर्ताहरू बाम गठबन्धनका पक्षमा देखिएका छन्। मिल्नसक्ने स्थानमा माओवादी,एमाले र नेकपा एकीकृत समाजवादीबीच गठबन्धन बनाएर जान सकिने भन्दै केही नेताहरूले स्थानीयस्तरमा छलफल पनि गरेका छन्।

नेकपा एमालेका स्थानीयस्तरका नेताहरूले माओवादीसँग गठबन्धन गरेर निर्वाचनमा जान अनौपचारिक रुपमा छलफल गरिरहेको एमाले म्याग्दीका एक नेताले बताएका छन्।

सत्ता गठबन्धनमा आबद्ध दलहरूका बीच चुनावी तालमेलका विषयमा पार्टी केन्द्रले अहिलेसम्म कुनै निर्देशन नगरेको नेपाली कांग्रेसका जिल्ला उपसभापति केबी भण्डारीले बताए।

‘जिल्लाका नेताहरू गठबन्धन नगर्ने पक्षमा छौं। कुनै कुनै वडामा त्यहाँको अवस्था अनुसार कुनै दलसँग तालमेल होला तर समग्र जिल्लाभर गठबन्धन हुने संभावना अहिलेसम्म देखिँदैन। केन्द्रमा पनि गठबन्धन गर्ने विषयमा नेताहरूका फरक फरक विचार आएका छन्’, उपसभापति भण्डारीले भने।

नेकपा एमालेबाट विभाजन भई बनेको नेकपा एकीकृत समाजवादी भने माओवादीसँग चुनावी तालमेल गरेर जाने पक्षमा देखिएको छ।

निर्वाचन निकै पेचिलो हुने संकेत

प्रजातान्त्रिक पद्दतिमा निर्वाचन स्वाभाविक प्रक्रिया मानिए पनि यसपटकको स्थानीय तह निर्वाचन म्याग्दीमा भने निकै पेचिलो हुने देखिएको छ।

पछिल्लो समय जनतामा देखिएको राजनीतिक दलहरू प्रतिको वितृष्णा, दलका नेताहरूमा नसुध्रिएको प्रवृति, नेता र जनप्रतिनिधिहरूका विगतका क्रियाकलापले गर्दा राजनीतिक आस्थाकै आधारमा अब जनताले भोट दिन्छन् भन्ने कुरामा यहाँका नेता,कार्यकर्ताहरू नै विश्वस्त छैनन्।

निर्वाचनको बेला पैसाको छेलोखेलो हुने जिल्लामा पर्छ म्याग्दी। यहाँको चुनावमा  ८० प्रतिशत मत राजनीतिक आस्था र सांगठनिक प्रभावका कारण खस्ने गर्छ भने २० प्रतिशत चुनावभन्दा दुई÷तीन दिन अघि हुने आर्थिक लेनदेन,व्यक्तिगत,जातीय वा टोल गत प्रलोभन र भोज भतेरले प्रभावित हुने गर्दछ।

सोही मत नै चुनाव जिताउन वा हराउन निर्णायक हुने गरेको यहाँको यथार्थता रहेको पाइएको छ।

मजबुत सांगठनिक संरचना, प्रतिबद्ध  कार्यकार्ता, जनताले महसुस गर्ने लोकप्रियता, विकास निर्माण तथा जनसेवाप्रतिको प्रतिवद्धता र विगतका क्रियाकलापलाई आधार मानेर हेर्ने हो भने म्याग्दीका कुनै पनि दललाई हरियो झण्डा देखाउन सकिने अवस्था नरहेको यहाँको राजनीतिलाई बुझेका व्यक्तिहरू सुनाउँछन्।

यस अर्थमा पनि माथि उल्लेख गरिएको २० प्रतिशत मत जसले आफ्नो पोल्टामा पार्छ निर्वाचन उसैले जित्ने आधार देखिन्छ। तर, यसपटक त्यो मत प्राप्त गर्न पनि दलहरूलाई त्यति सजिलो छैन। गाउँगाउँमा निगरानी गर्ने स्वतन्त्र युवाहरूको समूह पनि देखिँदै जान थालेको छ।

त्यसैगरी, पढेलेखेका, देश विदेशमा पुगेका र त्यहाँको राजनीतिलाई बुझेका केही सशक्त युवाहरू पनि स्वतन्त्र उम्मेदवारको रुपमा निर्वाचनमा जाने तयारी गरिरहेका छन्। उनीहरूको उपस्थिति पनि यहाँका परम्परावादी राजनीतिक दलहरूलाई फलामको च्यूरा सावित हुने लक्षणहरू देखिँदै जान थालेका छन्।

उम्मेदवारका लागि आकांक्षीको लर्को

स्थानीय तहको निर्वाचन नजिकिएसँगै उम्मेदवारका आकांक्षीहरू खुल्न थालेका छन्। यहाँका सबै राजनीतिक दलहरूलाई पालिका प्रमुखदेखि वडा सदस्यसम्मका उम्मेदवारहरूको छनोट गर्न हम्मेहम्मे पर्ने देखिएको छ।

उम्मेदवार छनोटका लागि विभिन्न दलहरूले टोल भेला सुरु गरि सकेका छन्। वडामा रहेका विभिन्न टोलहरूबाट आआफ्नो पार्टीका उम्मेदवार छनोट गर्न राय सल्लाह मागेजस्तो गरिए पनि अन्तिममा जिल्लाका केही नेताहरूको मिलोमतोमा उम्मेदवार छनोट गरिने परम्पराको यसपटक ब्रेक हुने लक्षण देखिएका छन्।

बन्द कोठाभित्र केही नेताहरू बसेर गरिने उम्मेदवार छनोट प्रक्रिया यस पटक भने सजिलो नहुने देखिएको छ। कतिपय युवाहरूले यदी विगतको व्यवहार दोहोराएमा बागी उम्मेदवारी दिने चेतावनी समेत पार्टीहरूलाई दिएका छन्।

 कांग्रेसको भेला र कार्यकर्ता प्रशिक्षण

 निर्वाचनलाई लक्षित गरेर म्याग्दीका राजनीतिक दलहरूले कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा तीव्रता दिएका छन्।

यसैक्रममा शनिबार  नेपाली कांग्रेस , नेकपा एमालेले छुट्टाछुट्टै जिल्लास्तरीय अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम गरेका छन्।

सदरमुकाम बेनीमा एकमहिने अभियानअन्तर्गत आयोजित प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै नेपाली कांग्रेस गण्डकी प्रदेश कार्यसमितिका सभापति शुक्रराज शर्माले कम्युनिष्टले अघिल्लो चुनावमा विकास,आर्थिक सम्बृद्धिको नारा बाँडेर जनतालाई भोट मागी बिचमा लगेर सरकार अलपत्र पारेको बताए।

उनले यसपटक नेपाली कांग्रेसले पहुँच र शक्तिको आधारमा भन्दा लोकप्रियताको आधारमा उम्मेदवार छनोट गरिने बताए। उनले विभिन्न पदमा उम्मेदवारका आकांक्षीहरू नेताका घरमा धाइरहनु नपर्ने बताउँदै जनता माझबाट छनोट भएर आउन निर्देशनसमेत दिए।

कम्युनिष्ट पार्टीको तर्फबाट प्रधानमन्त्री भएका सबैले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)लाई अगाडि बढाए पनि अहिलेको सरकारमाथि भ्रम छरेको भन्दै ‘घर घर जाऔं, कांग्रेस जिताऔँ’ अभियानमा गाउँगाउँमा गएर एमसिसीबारेको भ्रमलाई चिर्दै जनतालाई बुझाउनुपर्ने बताए।

गठबन्धनलाई चुनावमा हराइदिने एमालेको चेतावनी

त्यसैगरी, नेकपा एमाले म्याग्दीले पनि शनिबार बेनीमा अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ।

कार्यक्रममा नेकपा एमाले केन्द्रीय सदस्य एवं म्याग्दी जिल्ला इन्चार्ज भूपेन्द्रबहादुर थापाले आसन्न स्थानीय तहको निर्वाचनमा एमालेले जित्ने दाबी गरे।

उनले अहिले अदालतबाट बनेको वर्तमान देउवा नेतृत्वको सरकारले जनविरोधी कामहरू गरेको आरोप लगाउँदै एमालेले पाँच दलीय गठबन्धनलाई चुनावबाट पराजित बनाएर देखाइदिने चेतावनीसमेत दिए।

प्रतिनिधिसभा सदस्यसमेत रहेका केन्द्रीय सदस्य थापाले आफ्नो कार्यकालमा म्याग्दीलाई हिमाली जिल्लाको सूचीमा सूचीकृत गर्नुका साथै विभिन्न स्थानमा विद्यालयलगायत भवनहरू तथा झोलुङ्गे र मोटरेबल पुल निर्माण, सडक विस्तार तथा स्तरोन्नतिसहित थुप्रै कामहरू गरेको बताए।

 कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एमालेका जिल्ला उपाध्यक्ष बालकृष्ण सुवेदी, सचिव सुरत केसी. र राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय उपाध्यक्ष एवं गण्डकी प्रदेश इन्चार्ज सन्तोष रावलले एमालेले देश विकास र जनमुखी काम गरेको बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.