विश्लेषक भन्छन् : नेपाली राजनीति छुद्र भइसक्यो

|

काठमाडौं : एमसिसी संसदबाट पास गर्नुपर्छ भनेर ओलीजीले संसदमा पेश गर्नुभएको हो। त्यसबेलाको अर्थमन्त्री उहाँकै पार्टीको हुनुहुन्छ। भीम रावल अहिले विरोधमा बोल्दै हुनुहुन्छ। उहाँ त्यसबेला रक्षामन्त्री हुनुहुन्थ्यो। आफू मन्त्री हुनेमा बेलामा पास गर्ने खोज्ने? खिलाफ थियो भने त्यसबेला किन राजीनामा गरेनन्। गल्ती थियो भने। मैले एमसिसी पास गराउन खोज्दा किन टाउको दुख्यो? अरूलाई टाउको दुखेको छैन। उस बेला दिमाग खुस्किएको थियो? थाहा छैन भन्ने ठान्नुहुन्छ यहाँ? तपाईं मन्त्री हुनुहुन्थ्यो अहिले बोल्दा लाज छैन।’ -शेरबहादुर देउवा 

‘पाँचदलीय गठबन्धन अदालतले बनाइदिएको गठबन्धन हो। जनताले हो र गठबन्धन बनाइदिएको? भोटले हो र? यस्तालाई जनताको आँगनमा लगेर पछार्नुपर्छ। अदालतले बनाएको सरकारलाई मुद्दा लड्न जाऊ भन्ने हो, हामी जनताको बीचमा जाने हो। झण्डै २ तिहाइको सरकार ढालेर प्रचण्ड–माधवलाई दशा लाग्यो। सरकार ढालेर गएका बिचराहरू, ढोकाबाहिर कुरेर बस्या'छन्। प्रसाद बाँड्न आउँछन् कि भनेर? कताका जंगेहरू कताका बुंगे भए। अदालत संवैधानिक बाटोबाट कान्लातिर हाम फालेर गए हुन्छ। प्रधानमन्त्री नियुक्त भएको संसदलाई थाहा छैन। प्रधानमन्त्री नियुक्त भयो, शपथ भयो, संसदलाई थाहा छैन। मान्छेहरू कहिलेकाहीँ भन्छन् नि, अलच्छिना पस्यो भनेर। त्यस्तो भयो। पाँचवटा अलच्छिन एकैचोटि पसेपछि के होला?अहिले देशको अर्थतन्त्र डामाडोल छ। ’-ओली 

२०६४ को चुनावमा वाइसिएल आयो भनेपछि विरोधीहरूको सातो जान्थ्यो। जनताले आफ्ना छोराछोरी जसरी माया गर्थे र ढुक्कले माओवादीलाई भोट दिन्थे। अहिले त वाइसिएल पनि खै के हो मुर्झायो। तर अब यो दुई महिना गाउँ गाउँमा भोलेन्टियर खटाउनुस्। गुण्डागर्दी पनि अरूले पो गर्न थाले। अब वाइसिएलले तीनलाई ठेगान लाउनुस्। लड्नका लागि आवश्यक पर्‍यो भने केन्द्रमा भन्नुस्, सहयोग हुन्छ। -प्रचण्ड

आफैँले जन्माएको एमाले विध्वंशकारी बन्यो कस्तो विडम्बना? आफैँले जन्माएको सन्तान रावण भइदियो गर्ने के? अब अरूले गरेनन् राम्रो काम हामीले गर्ने हो। हाम्रो पार्टीको तागतलाई मान्छेहरूले अनुमान गरिरहेका छन्। केपी ओलीसँग टक्कर लिएर अर्को पार्टी बनाउन सक्दैन भन्ने लाग्थ्यो। तर, ओली जेलमा बसेको बेलामा मैले यो पार्टी बनाएको हो। मान्छेले गुण पनि बिर्सिँदा रहेछन्। बूढापाकालाई नेपालमा भत्ताको व्यवस्था कसले गर्‍यो? त्यो बेलाको पार्टी, जसको नेतृत्व माधव नेपालले गरेको कुरा लाप्राकले बिर्सियो कि! २०५१ सालको सरकारमा मनमोहन अधिकारी प्रधानमन्त्री र म उपप्रधानमन्त्री थियौँ। हाम्रै पार्टीले वृद्ध भत्ता दिन थालेको हो, हामीले थालेको कुराको त वास्तै गर्दैनन्। स्याबास! त भन्नुपर्ने हो नि।’ -माधव नेपाल 

केपी ओली दक्षिणपन्थी र अहंकारी व्यक्तिवादी भएर पटकपटक प्रतिनिधिसभा विघटन गरे। त्यसको हामीले तल्लो तहसम्म भण्डाफोर गर्नुपर्छ। ओली अवसरवादतिर लागे। आउने निर्वाचनमा ओलीलाई सबैभन्दा ठूलो कारबाही गर्नुपर्छ। बाकसमा जिरो मत बनाउनतिर लाग्नुपर्छ। ओलीलाई जिरो मतमा झार्नुपर्छ।  चितवन र गोदावरीको कुम्भ मेलाबाट अवसरवादी गुटले कुनै कुराको विश्लेषण गर्न छाडिसक्यो। -झलनाथ खनाल

अझै केपी ओली आउने वैशाख ३० को निर्वाचनमा ६० प्रतिशत स्थानीय तह जित्छु भन्ने घमण्ड गरेका छन्। महाभारतको दुर्योधन र नेपालको राजनेता भनाउँदो केपी ओलीमा केही फरक छैन। जनताले वैशाख ३० गते जवाफ दिनेवाला छन्। -प्रेम आले

केही दिनअघि प्रचण्डले केपी ओलीलाई दनक पुगेकै छैन एकातिर भने, अर्कोतिर पुगेर कांग्रेसले निहुँ खोज्यो भने केपी ओलीसँग मिल्न सक्छौँ भने। प्रचण्ड के भन्छन् र के गर्छन् भन्ने टुंगो छैन। उनको प्रवृत्तिलाई छेपारे प्रवृत्ति भनिन्छ। छेपारोले पनि कुरा बुझ्थ्यो भने प्रचण्डदेखि लजाउँथ्यो होला। प्रचण्ड र माधव नेपालले दुईतिहाइ नजिकको सरकार ढालेर देउवाको पाउमा लागेर जनादेश चढाए। अहिले गठबन्धन गरेर आउँछौँ भनिरहेका छन्। हामीलाई पाँचदलीय गठबन्धनले सक्दैनौ कति सक्छौ थपेर आऊ। -शंकर पोखरेल

म केपी ओलीजी पहिलोपटक प्रधानमन्त्री भएको बेला उपप्रधानमन्त्री र रक्षामन्त्री थिएँ, प्रधानमन्त्री ओलीले एमसिसीसँगको सम्झौता संसदमा ल्याएको बेला होइन। अतः मेरो मं.प.मा सहमति रहेको भन्ने कुरै रहेन। यस्तो सार्वजनिक तथ्यको जानकारीसम्म नराखी झुठा बोल्ने प्रमको या त आफ्नै (शेरबहादुर देउवा) ‘दिमाग खुस्केर’ होस हराएको हुनुपर्छ। -भीम रावल

यी माथिका भनाइ पछिल्ला राजनीतिक दलका कार्यक्रममा शीर्ष नेताले राखेकाा हुन्। वैशाख ३० गते हुने निर्वाचनको माहोल बाक्लिँदै जाँदा पछिल्लो समय राजनीतिक दलका शीर्ष नेता पार्टीका कार्यक्रममा एक अर्काप्रति तुच्छ गालीगलौजमा उत्रिनमै केन्द्रित हुने गरेका छन्। 

प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालदेखि साना राजनीति दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) विवेकशील हुँदै नेत्रविक्रम चन्द्र नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नेताहरू एकअर्काप्रति तुच्छ गाली गर्नमै व्यस्त रहने गरेका छन्। 

कम्युनिष्ट एकतापछि ०७४ सालको निर्वाचनमा झण्डै दुई तिहाइ मत प्राप्त गरेको ओली, प्रचण्ड र माधव नेपाल झनै बढी एकअर्कालाई गाली गरिरहेका छन्। जनताको दुई तिहाइ नजिकको जनमतलाई लत्याएर आआफ्नो बाटोमा लागेको कम्युनिष्ट नेताहरू अहिले एक अर्कालाई खुइल्याउनमै केन्द्रित भएका हुन्।

जनताको मतलाई बेवास्ता गरेर दुई पटक प्रतिनिधिसभा विघटन गरेका एमाले अध्यक्ष ओली झन् छुद्र रुपमा प्रस्तुत हुन्छन्। ओलीका पछिल्ला भाषणहरू बालबालिकालाई देखाउनै नमिल्ने खालका हुने जानकारहरू बताउँछन्।

त्यसो त ओलीमात्र नभएर माओवादी अध्यक्ष प्रचण्ड, एमालेबाट विद्रोह गरेर हिँडेर माधव नेपाल र झलनाथ खनालको पनि बोली उस्तै छ। कोभिड महामारीले अर्थतन्त्र तहसनहस भएको छ, जनताको जनजीविका गर्ने मुस्किल गर्ने अवस्था छ तर शीर्ष नेताहरू भने चुनावमा भोट तान्नका लागि जनताप्रति भन्दा एकले अर्काप्रति आगो ओकलेर भोट तान्ने अस्त्रका रुपमा प्रयोग परिरहेका छन्। 

टुटफूटग्रस्त कम्युनिष्टमा मात्रै नभएर कांग्रेसमा पनि यस्तो प्रवृत्ति छ। प्रधानमन्त्रीसमेत रहेका कांग्रेस अध्यक्ष शेरबहादुर देउवाले गत साता नुवाकोटमा एमाले नेता भीम रावलमाथिको टिप्पणीबाट यो प्रस्ट हुन्छ। शीर्ष नेतामात्र नभएर तल्ला तहका नेता कार्यकर्तासमेत निर्वाचनको मुखमा एकअर्काविरुद्ध आक्रोश पोख्‍नमै केन्द्रित छन्। 

त्यसो त नेपाली राजनीति पछिल्लो समय सिद्धान्तबाहिर गएर छुद्र भएकै कारण शीर्ष नेताहरूले समेत यस्तो बोलिरहेको राजनीतिक जानकार श्याम श्रेष्ठ बताउँछन्। उनी भन्छन्, ‘शीर्ष नेताहरूलाई जनताको पक्षमा कुनै वास्ता छैन। राजनीति छुद्र हुँदै गइसक्यो। त्यसैले नेताहरू एकअर्काविरुद्ध गालीगलौजमा उत्रिरहेका छन्। राजनीति सिद्धान्तविहीन भइसक्यो।’

अर्का राजनीतिक विश्लेषक पुरञ्जन आचार्य पनि नेपालको राजनीति स्वार्थकेन्द्रित भएको बताउँछन्। उनी भन्छन्, 'नेपाल भएका सबै राजनीतिक दल स्वार्थकेन्द्रित भइसकेका छन्। निर्वाचनकेन्द्रित भएर मात्रै उनीहरू बोल्छन्। उनीहरूको एकमात्र उद्देश्य भनेको चुनाव जित्नु मात्रै हो। सिद्धान्तविहीन भएपछि जहाँ गएर जे बोल्दा पनि भइहाल्यो नि!’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.