घरघर पुग्दै कांग्रेस

|

डडेल्धुरा : निर्वाचन नजिकिएसँगै प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृहजिल्लामा राजनीतिक माहोल तात्दै गएको छ। दुई नगरपालिका र पाँच गाउँपालिका गरी सातवटा स्थानीय तह रहेको जिल्लामा चुनावी सरगर्मी बढेको हो।

सत्तामा रहेको नेपाली कांग्रेसले अहिले चुवानी अभियान तीव्र बनाएको छ। डडेल्धुरा कांग्रेसले पनि ‘घर–घर जाऊँ, कांग्रेस जिताऊँ’ अभियान जिल्लाका सातवटै स्थानीय तहमा सञ्चालन गरिरहेको छ। 

दुईवटा नगरपालिकामध्ये परशुराममा सुदूरपश्चिम प्रदेशसभा सदस्य एवं कांग्रेस प्रमुख सचेतक गोविन्दराज बोहरा र अमरगढी नगरपालिकाका लागि वर्तमान जिल्ला सभापति एवं परशुराम नगरप्रमुख भीमबहादुर साउद प्रतिनिधि तोकिएका छन्।

यस्तै भागेश्वर गाउँपालिकामा जिल्ला कार्य समिति उपाध्यक्ष लक्ष्मीप्रसाद अवस्थी, अजयमेरू गाउँपालिकामा जिल्ला कार्यसमिति सचिव हेमराज चटौत, नवदुर्गा गाउँपालिकामा सचिव शेरबहादुर भण्डारी, गन्यापधुरा गाउँपालिकामा जिल्ला कार्य समिति उपसभापति डिल्लीराज जोशी र आलिताल गाउँपालिकामा पूर्वसभापति रघुवर भट्ट प्रतिनिधि तोकिएको नेपाली कांग्रेस डडेल्धुराले जनाएको छ। 

अभियान सफल पार्न जिल्ला कार्यसमिति, महाधिवेशन प्रतिनिधि, महासमिति सदस्य तथा प्रदेशसभा क्षेत्रीय समितिबाट डडेल्धुराका ५२ वटै वडामा प्रतिनिधिहरू खटाइएको छ। ‘घर–घर जाऊँ, कांग्रेस जिताऊँ’ अभियान चैत २९ गतेसम्म सञ्चालन गरिने पार्टी सभापति साउदले जानकारी दिए।

उनका अनुसार अभियानका क्रममा कांग्रेसले अन्य पार्टीका कार्यकर्तालाई पनि आफ्नो पार्टीमा प्रवेश गराइरहेको छ। सभालाई सम्बोधन गर्ने कांग्रेस नेताहरूले कम्युनिस्ट नेतृत्वको सरकारमा भ्रष्टाचार मात्रै मौलाएका आरोप लगाउँदै आइरहेका छन्।

एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार भएका वेला भ्रष्टाचार मात्रै मौलाएको सुदूरपश्चिम प्रदेशका कांग्रेस प्रमुख सचेतक गोविन्दराज बोहराको आरोप छ। उनले तीन वर्षमा ओली सरकारका वेला सरकारी ढुकुटी स्वाहा पारेको बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.