|

म्याग्दी  ः आज चैत ७ गते।  सशस्त्र युद्ध गरेको नेकपा माओवादीले म्याग्दीको  सदरमुकाम बेनी आक्रमण गरेको १८ वर्ष पूरा भएको छ।

२०६० साल चैत ७ गते राति ११ बजेदेखि भोलिपल्ट १०:४५ बजेसम्म माओवादीले आक्रमण गर्दा रणभूिमा परिणत भएको बेनीबजार अहिले भने त्यही विभत्स दृश्य सम्झाउँदै ध्वंस पछि निर्माण गरिएका भौतिक संरचनाहरुको आवरणमा मुसुक्क मुस्कुराइरहेको छ।

आक्रमणमा १६ जना सर्वसाधारण, ३८ जना सुरक्षाकर्मी र ४२ जना माओवादी  गरी ९६ जनाले ज्यान गुमाएका थिए।  सदरमुकाम बेनीबजार र आसपासका क्षेत्रमा प्राप्त भएका शबहरुका आधारमा ९६ जना भनिएको भएता पनि जिल्लाका बिभिन्न ठाउँहरुमा गरी करिब चार सयको ज्यान गएको अनुमान थियो।

आक्रमणपछि बेनीबजारमा शबहरु छरपस्ट थिए। रगतको आहाल बनेको थियो। र, घाइतेहरूका चित्कारले बेनीबजार स्तब्ध थियो। घरहरु जलिरहेका थिए। जिल्ला प्रशासन, प्रहरी, जिविस, म्याग्दी पुस्तकालय, वन, अदालत लगायतका भवनमा आगो बलिरहेको थियो। कैयौं संरचना ध्वस्त भएका थिए। तत्कालीन प्रमुख जिल्ला अधिकारी सागरमणि पराजुली, डिएसपी रणबहादुर चन्द लगायतलाई माओवादीले चैत ८ गते अपहरण गरी लगेका थिए।

८ गते बेलुकीसम्म पनि बजार सुनसान थियो। मान्छेहरु घरबाट बाहिर निस्कन सकिरहेका थिएनन्। आकाशमा हेलिकोप्टर घुम्दा मानिसहरु त्रसित हुन्थे। हुन्थे आशावादी पनि। बेनी बजारबासीले यस्तो अवस्था भोगेको १८ वर्ष पुगेको छ।

हरायो बेनी बजारको मौलिकता

१८ वर्षको अवधिमा कालीगण्डकी र म्याग्दी नदीमा धेरै पानी बगेको छ। तर काली र म्याग्दीको काखमा रहेको बेनी बजार भने मन भरी पीडाको सागर छल्काउँदै अनुहारमा मुस्कान देखाउनु बाहेक केही परिवर्तन भएन्। 

देशमा व्यवस्था परिवर्तन भएको छ। तर, जनताको अवस्थामा भने खासै परिवर्तन आउन सकेको छैन । आक्रमणमा ध्वस्त संरचना, आक्रमणमा मारिएका आफन्त, घाइते र सो आक्रमणबाट प्रभावित सबैको जीवनमा धेरै परिवर्तनहरु भइसक्नुपर्ने हो। तर घाउ चहराइरहेको छ।

आक्रमणमा ध्वस्त भौतिक संरचनाका पुनर्निर्माण गरिए पनि मान्छेका पीडा र सपना भने उस्तै छन्। अलपत्र छन्। छरपस्ट छन्। र, छन् आक्रामक र अभिशप्त पनि। माओवादी आक्रमणबाट ध्वस्त भौतिक संरचना फेरिए पनि बेनीबजारको मौलिकता गुमेको छ। सुन्दरता हराएको छ।

आफन्त गुमाएका परिवार र  घाइतेको अवस्था उस्तै 

 आक्रमणमा ज्यान गुमाएका परिवारको अबस्था अहिलेसम्म पनि दयनीय छ । घाइते बेनीका कृष्णप्रसाद श्रेष्ठ र दिननाथ रेग्मीले अझैसम्म पनि बेनी आक्रमणको त्यो त्रासलाई बिर्सन सकेका छैनन्।

माओवादी २०६२/०६३ पछि पटकपटक सत्तामा पुग्यो। केही नेता नव धनाढ्य पनि भए। सत्ताको उपभोगमा मस्त रहे। तर अधिकांश लडाकु खाडी मुलुक गए कोही नेपालमा नै दयनीय जीवन बिताइरहेका छन्। अधिकांश तत्कालीन लडाकुहरुको अबस्था दयनीय छ।

बेनी आक्रमणलाई ‘एउटा नमिठो सपना र सम्झन नचाहने क्षण’को रुपमा लिन्छन् बेनी आक्रमणका प्रत्यक्षदर्शी र तत्कालिन नेपाल टेलिभिजनका म्याग्दी संवाददाता अमर बानियाँ।  बेनी आक्रमणको भिडियो खिचेर नेपाल टेलिभिजनमा प्रसारण गरेका बानियाँलाई त्यतिबेलाको ‘विभत्स दृश्य’ले अहिले पनि झस्काइरहन्छ। 

जीवनमा यति ठूलो घटना र विभत्स रुप देख्नुपर्ला भनेर कल्पना पनि नगरेको बताउने बानियाँले बेनी आक्रमणको १८ वर्षपछि पनि घटनाबाट पीडित भएकाका व्यथा कम नभएको र सपना पनि तुहिएको अनुभव सुनाए।

त्यसैगरी पत्रकार घनश्याम खड्काको बुझाइ पनि यस्तै छ। ‘बेनी आक्रमणको रात पाहुना बनेर आफन्तकोमा बसेका खड्काले आक्रमणपछिको यतिका वर्षसम्म पनि मानिसहरुको पीडा कम नभएको र आक्रमणकारीहरूको सपना पनि पीडितका लागि झुठो साबित भएको बताए।

बेनी आक्रमणको १८ बर्ष बित्दा पनि आक्रमणमा परी घाइते भएका झलक गैरे, बाबियाचौरका दलबहादुर गुरुङ, गंगा बुढाथोकी, मोहन बानियाँ, अनिल फगामी, चित्रबहादुर पुन, सोमबहादुर बिकका आश्रितहरुका अबस्थामा भने कुनै परिवर्तन आउन सकेको छैन।  आफन्त गुमाएको पीडा राज्यले दिने राहतले कुनै अबस्थामा पनि पूर्ति गर्न नसक्ने बताउने उनीहरुको अबस्था ज्यूँका त्यूँ छ।

त्यसैगरी पुलाचौरका फौदबहादुर दर्जी, सूर्य दर्जी, ठेगाने दर्जी, खम्बे दर्जी र सुन्ते दर्जीका परिवारको दैनिकी बैदेशिक रोजगारीबाट प्राप्त रकमले धानिएको छ। दर्जी परिवारको गुजारा अझैसम्म पनि अरुको ज्याला मजदुरी गरेर चलेको छ।

लडाकुलाई नसालु पदार्थ सेवन 

राष्ट्रिय मानवअधिकार आयोगले गरेको अध्ययनमा माओवादीले बेनी आक्रमण गर्दा युद्ध अपराधको अन्तर्राष्ट्रिय नियमविपरीत नसालु पदार्थ सेवन गराएर कार्यकर्तालाई युद्धमा सामेल गराएको पाइएको छ।

आयोगले करिब ५ वर्ष समय लगाएर गरेको अनुसन्धान अनुसार युद्ध मोर्चामा रहेका लडाकुलाई उत्तेजनामा आउने नसालु पदार्थ सुई (सिरिन्ज) मार्फत सेवन गराइएको उल्लेख गरिएको छ। जेनेभा महासन्धिले युद्धका बेला सर्वसाधारणलाई निसाना बनाउन र कुनै पनि युद्धमा औषधि प्रयोग गर्न बर्जित गरेको छ।

युद्ध संग्रहालय बनाउने योजना अलपत्र

१८ वर्षअघि भएको विस्तृत शान्ति सम्झौता भएर रोकिएको तत्कालीन नेकपा माओवादीको शसस्त्र विद्रोहको स्मरणमा युद्ध संग्रहालय बनाउने बेनी नगरपालिकाको योजना अलपत्र परेको छ।

७ चैत, २०६० मा बेनीमा तत्कालीन विद्रोही माओवादी र सरकार पक्षबीच दोहोरो भिडन्तको साक्षी बनेको विद्युतको खम्बा लगायतका सामग्री संकलन गरेर संग्रहालय बनाउने नगरको योजना दुई वर्षसम्म घोषणामै सिमित छ।

२०७५ माघमा बेनी नगर कार्यपालिकाको बैठकले बेनी नगरपालिका–२ खबराको लभ्लीहिलमा युद्ध संग्रहालय बनाउने निर्णय गरेको थियो । नगरपालिकाको आर्थिक वर्ष २०७६/०७७ र २०७७/०७८ को नीति तथा कार्यक्रममा युद्ध संग्रहालय बनाउने योजना समावेश छ । तर बजेटको ब्यवस्थापन नभएकाले कार्यान्वयन हुन नसकेको बेनी–२ का वडा अध्यक्ष हिराबहादुर थापाले बताए।

‘पिपलडाडा सामुदायिक वनको छेउमा ५ रोपनी जग्गा ब्यवस्थापन गर्ने समुदायसँग सहमति पनि भएको हो,’ उनले भने, ‘बजेट नै नभएपछि कार्यान्वयन हुन सकेन।’ लभ्लीहिलको नामले चिनिएको खबरास्थित मायालुडाँडा र बेनी बजारको पर्यटन विकाससँगै बेनी आक्रमणका साक्षी बनेका सामग्रीहरु संरक्षण गर्ने उद्देश्यले सग्रहालय बनाउने योजना अघि सारिएको थियो।

आक्रमणको साक्षी विजुलीको पोल पनि बेनी ल्याउन सकिएन

बेनी आक्रमणमा परेर छिया–छिया भएको पोल, बंकर लगायतका क्षतिग्रस्त सामग्रीहरु संग्रहालयमा संकलन र संरक्षण गर्ने योजना भएपनि कार्यान्वयनमा चासो देखाएका छैनन्। बेनी नगर कार्यपालिकाका प्रवक्ता रामकृष्ण बराइली भने वनले जग्गा उपलब्ध गराउन अवरोध गरेकाले ठाउँ नपाएर संग्रहालय बनाउन नसकिएको बताउँछन्।

बेनीको मंगलाघाटस्थित कर्मचारी आवास क्षेत्रमा रहेको बिजुलीको खम्बा २०६७ सम्म त्यही थियो।  प्वाइन्ट टू–टू, एसएलआर, एसएमजी, एम–१६, थ्रीनटथ्रीलगायतका हतियारको सँयौ गोली लागेर प्वालै प्वाल भएको यो खम्बा हाल काठमाडौं स्थित मदन पुरस्कार पुस्तकालय परिसरमा राखिएको छ।

संस्थाका अध्यक्ष कनकमणि दिक्षितले विद्युत् प्राधिकरणसित लेखापढी गरी शोधभर्ना खम्बा उपलब्ध गराएर ललितपुरको पाटनढोकामा लगेको बताएका छन्। 
बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठले पोल, बंकर लगायत क्षतिग्रस्त सम्पत्तिलाई संरक्षण गर्न संग्रहालय बनाउने योजना बनाइएको बताए।

‘पोल र बेनी आक्रमणका साक्षी बनेका अन्य सामग्री संकलन र संरक्षण गर्न संग्रहालय बनाउन लभ्लिहिल परिसरमा जग्गा उपलब्ध गराउने निर्णय पनि भएको छ,’ नगरप्रमुख श्रेष्ठले भने ‘कोरोनाले ओझेलमा पारेको यो योजना कार्यान्वयन गर्न पहल गर्छाै।’

संग्रहालय विद्यार्थी, पूर्वलडाकू–सिपाही, उनका परिवारजन, आम नागरिक, पर्यटकसहित नेपालले बिताएको एक दशकको द्वन्द्वकालको स्मरण गर्ने ठाउँ बन्ने उनको भनाइ छ। बेनीको यस खम्बाबाहेक देशभरबाटै द्वन्द्वकालका सामग्री संकलन गरेर आकर्षक र शिक्षाप्रद हिसाबले प्रदर्शन गर्नुपर्ने धौलागिरी पर्यटन परिषद्का सचिव घनश्याम खड्काले बताए।

म्याग्दीस्थित जेसीज, लायन्स क्लब, राजनीतिक दल र विभिन्न संघ संस्थाले काठमाडौंमा लगिएको पोल फिर्ता ल्याउन दवाव दिदै आएका छन्। दश वर्षसम्म चलेको जनयुद्धमा म्याग्दीका करिब एक सय जनाले ज्यान गुमाएका थिए भने अर्बौको  भौतिक संरचनाको क्षति भएको थियो।

तस्वीर : ठाकुर आचार्य

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.