|

म्याग्दी : आज मार्च २२ अर्थात् विश्व पानी दिवस। संयुक्त राष्ट्रसङ्घको आयोजनामा सन् १९९२ मा ब्राजिलको रियो द जेनेरियोमा भएको पर्यावरण र विकाससम्बन्धी महासभाले विश्व पानी दिवसको घोषणा गरेको हो।

सन् १९९२ मा एजेण्डा २१ मा समाहित गरिएको पानी दिवसको रुपरेखा आत्मसात गर्दै सन् १९९३ देखि मार्च २२ तारिखका दिन विश्वभर यो दिवस मनाउन थालिएको थियो।

केही वर्षयता नेपालमा तीव्र रुपमा सडक विस्तार र डोजरको प्रयोग अत्यधिक भइरहेको छ। यसका कारण ग्रामीण क्षेत्रमा रहेका वन जंगल,सीमसार र चिस्यानयुक्त ठाउँको विनाश भएपछि पानीका मुहान र स्रोत सुक्दै जान थालेका छन्।

पृथ्वी, जल, तेज, वायु र आकाशलाई पञ्च तत्व भनिन्छ। पञ्च तत्वमध्येको एक पानी सबै जीव र वनस्पतिका लागि अत्यन्त महत्वपूर्ण मानिन्छ। पानीविना मानवको मात्र होइन कुनै प्राणीको अस्तित्व रहँदैन।

नेपाल जलस्रोतको दोस्रो धनी देश भएर पनि विगत केही वर्षयता देशका शहरी क्षेत्रमा मात्रै होइन ग्रामीण भेगमासमेत खानेपानीको समस्या उत्पन्न भैरहेको छ।

पानीका मुहानहरू सुक्दै गएका छन्। चिस्यान रहिरहने ठाउँहरू डोजर संस्कृतिका शिकार बनेका छन्। सिमसार क्षेत्रहरू सुख्खा ठाउँमा परिणत हुँदैछन्। ग्रामीण जीवनको अभिन्न अङ्गका रुपमा रहेका पँधेरा र ढुङ्गेधारा गाउँघरबाटै लोप हुन थालेका छन्।

बढ्दो शहरीकरण र संरक्षण अभावमा सांस्कृतिक र ऐतिहासिक महत्व बोकेका यस्ता पँधेरा र ढुङ्गेधारा हराउँदै जान थालेका हुन्।

बढ्दो जनसङ्ख्या र अव्यवस्थित बस्ती विकासले परम्परागत प्रविधि र कलात्मक शैलीमा निर्मित पँधेरा र ढुङ्गेधारा भत्काइनुका साथै संरक्षण र जीर्णोद्धार नहुँदा पुरिएपछि अहिले गाउँघरमा यी सम्पदा लोप हुँदै गएको ज्यामरुककोटका ७२ वर्षीय डिलबहादुर थापाले बताए।

अव्यवस्थित रुपमा खनिएका मोटरबाटो र पाइपमार्फत घरघरमा पानी पुर्‍याउने होडबाजीमा कतिपय जल सम्पदा पुरिएका बेनी नगरपालिकाका इन्जिनियर विमलरञ्जन कार्कीको तर्क छ। म्याग्दीका ग्रामीण भेगमा रहेका कैयौं पँधेरा र ढुङ्गेधारा लोप भइसकेका र भावी पुस्ताले यस्ता परम्परागत मौलिक सम्पदा देख्न नपाउने भएकाले ढुङ्गेधारा संरक्षण गर्न स्थानीय तहहरूले नै सक्रिय हुनुपर्ने म्याग्दीको इतिहास र संस्कृतिका अध्येता कृष्णबहादुर बानियाँको बुझाइ छ।

दुई दशक अघिसम्म ग्रामीण महिलाका लागि पानी पँधेरो नै दुःखसुख साट्ने र पीर व्यथा कहने एकमात्र माध्यम हुने गरेको थियो। पँधेरा र ढुङ्गेधारा केवल पानीका स्रोतहरू मात्र नभएर नेपाली ग्रामीण सभ्यता र संस्कृतिका स्रोतहरू पनि भएका पण्डित नीलकण्ठ शर्माले बताए।

‘पँधेरा र ढुङ्गेधारा भएको ठाउँमा जलदेवताको पूजा गर्ने गरिन्थ्यो, जलदेवताको पूजा गर्ने, गाउँभरिका मानिसहरू भेला भएर दुःखसुख साट्ने, रमाइलो गर्ने, खीर पकाएर चढाउने र प्रसादको रुपमा खाने गरिन्थ्यो’, उहिलेका कुरा सम्झदै बगरफाँटका ८४ वर्षीय बेदप्रसाद शर्माले भने।

गाउँघरमा डोजर लगाएर बाटो खन्ने चलन शुरु भएसँगै ग्रामीण मौलिक सम्पदाहरूको विनाश हुने क्रम पनि शुरु भएको वन तथा वातावरण क्षेत्रमा सक्रिय वन डिभिजन कार्यालय म्याग्दीका प्रमुख चन्द्रमणि सापकोटाले बताए। ‘ग्रामीण जीवन पद्धतिका परम्परागत सम्पदाहरू पँधेरो, ढुङ्गेधारा, चौतारी, पोखरी, कुवा, पाटी, पौवाजस्ता नेपाली ग्रामीण परिवेशका अमूल्य सम्पदाहरूको संरक्षणमा ध्यानै दिएनन्’, उनले भने।

म्याग्दीका स्थानीय तहका केही जनप्रतिनिधिले मौलिक सम्पदाको संरक्षण गर्न अभियान नै चलाएका छन्। बेनी नगरपालिका-६ का अध्यक्ष कृष्णबहादुर बानियाँले आफ्नो वडाभित्रका विभिन्न ठाउँका पँधेरा, चौतारी, पोखरी, पाटी, पौवाको संरक्षणका लागि अभियान नै सञ्चालन गरेका छन्। सम्भव भएसम्म वडाको बजेट प्रयोग गर्ने र सम्भव नभए आफ्नै निजी खर्चमा समेत चौतारा, पोखरी, पँधेराको पुनःनिर्माण गरेर सन्ततिका लागि सुरक्षित राख्ने प्रयास गरेको उनले बताए।

बेनी नगरपालिका–६ का अध्यक्ष बानियाँजस्तै सबै स्थानीय तहका जनप्रतिनिधिले मौलिक सम्पदाको संरक्षणमा चासो राख्ने र त्यस्ता सम्पदालाई महत्व दिने हो भने ग्रामीण जीवनका अजस्र स्रोत बनेका रैथाने सीप, स्रोत, साधन, प्रविधि र सम्पदा आगामी पुस्ताका लागि आफ्नो सभ्यता, संस्कृति र पितापुर्खाको जीवनपद्धति हेर्ने आँखिझ्याल साबित हुने स्थानीय बुद्धिजीवी  बताउँछन्।

‘आज विश्व पानी दिवस मनाइरहँदा पानीका स्रोतहरूको संरक्षण कसरी गर्ने भन्ने कुरामा पनि छलफल चलाउनु आवश्यक छ', बुद्ध एकेडेमी बगरफाँटका सामाजिक शिक्षक धनवीर थापाले भने, ‘औपचारिक रुपमा दिवस मात्र मनाएर हुँदैन, बढ्दै गएको खानेपानीको समस्या समाधानका उपाय निकाल्न सक्ने हो भनेमात्र दिवस मनाउनुको औचित्य रहन्छ, नत्र भने देखावटी र कर्मकाण्डी मात्रै हुन्छ।’

तस्वीर : क्षेत्रबहादुर भण्डारी

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.