|

काठमाडौं : सरकारले स्थानीय तहको निर्वाचनको मिति वैशाख ३० घोषणा गरेपछि विभिन्न राजनीतिक दलको गतिविधि बढेको छ। ती दलका नेता तथा कार्यकर्ता मात्रै होइन स्थानीय सरकारको बागडोर सम्हालिरहेकाहरू निर्वाचनलाई केन्द्रमा राखी दौडधुपमा छन्। केही स्थानीय सरकारका प्रमुख तथा उपप्रमुखहरूको कार्यकाल आपसी विवादमै बित्यो।

कार्यकालको सुरूदेखि अन्तिमसम्म प्रमुख र उपप्रमुखबीच विवाद भइरहेको स्थानीय सरकार संघीय सरकारको राजधानी रहेको काठमाडौं महानगरपालिका पनि हो। विवादका कारण चुनावमा अघि सारेका योजनाले पूर्ण रूप लिन पाएन।

प्रमुख र उपप्रमुखबीच विवाद भएका अदालतसम्म पुगे पनि प्रमुख शाक्य भने कार्यपालिकाभित्र भने कुनै विवाद नभएको बताउँछन्। बाहिर विवादित भएका विषयबारे कार्यपालिकामा सहमतिले नै निर्णय भएको उनको दाबी छ। तर‚ कार्यपालिकामा सहमति जनाउने तर बाहिर आएर सञ्चारमाध्यममा प्रोपोगाण्ड गरिएको उनको जिकिर छ।

यता उपमप्रमुख खड्गीले भने आफूलाई  प्रमुखले काम गर्न नदिएको बताउँदै आएकी छन्। यस्तै‚ उनले आफूले सम्पदा जोगाउनका लागि प्रमुखले गरेको निर्णयको विरोध गरेको दाबी गरिन्।

आपसी विवादमै बित्यो पाँच वर्ष

काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य र उपप्रमुख हरिप्रभा खड्गीको पाँचवर्षे कार्यकालमा कामभन्दा बढी विवाद भयो। कार्यकालको सुरूवाती चरणदेखि नै प्रमुख र उपप्रमुखबीच विवाद भएको थियो।​

काठमाडौंको मुटुमा रहेको रानीपोखरी निकै लामो समयसम्म विवादको केन्द्र बन्यो। महानगर प्रमुखले काम गर्ने र उपप्रमुखले ताला लगाउने जस्ता दृश्य देखिरहे। जसका कारण तोकिएको मितिमा काम सम्पन्न हुन सकेन। यद्यपि‚ ढिलै भए पनि पुनर्निर्माण सम्पन्न भएको छ। 

त्यसैगरी टुँडिखेलको दुई माजु मन्दिर व्यापार गर्न दिएको भन्दै उपप्रमुख खड्गीको नेतृत्वमा ताला लगाइएको थियो। महानगरपालिकाको कार्यालय रहेको बागदरबार भवन भत्काएर पुनर्निर्माण गर्ने विषयमा लामो समय विवाद भयो। उक्त विवाद अदालतसम्म पुगेको छ। फैसला बाँकी छ। त्यसैगरी काष्ठमण्डप पुनर्निर्माण पनि अन्तिम चरणमा पुगेपछि मूर्ति प्रतिस्थापनलाई लिएर विवाद भयो। त्यो विवाद पनि अदालत प्रवेश गरेको छ। 

महानगर प्रमुख शाक्यले आकर्षक चुनावी घोषणापत्र बनाएका थिए। उनले कार्यकाल सम्हालेको १०० दिनमा १०१ काम पूरा गर्ने योजना अघि सारेका थिए। तर‚ ती योजनामध्ये अधिकांश योजना १०० दिन त के पाँच वर्ष पूरा हुँदा पनि अँधुरो छ।

यी हुन् अलपत्र योजना 

योजना–१ : ‘ग्रिन एन्ड क्लिन काठमाडौं’अन्तर्गत रुद्राक्षका विरुवा रोप्ने।

योजना–२ : सडक विस्तार गर्न पीडित समुदायसँग वार्ता गरेर समस्या समाधान गर्ने।

योजना–३ : ‘साइकल सिटी महानगर’को कार्ययोजना प्रारम्भ गर्ने। 

योजना–४ : महानगरपालिकालाई भ्रष्टाचारमुक्त र पारदर्शी बनाउन ई–गभर्नेन्स प्रणाली सुरु गर्ने। 

योजना–५ : प्रत्येक युवालाई खेल, शारीरिक व्यायाम, व्यावसायिक तालिम, हस्तकला, ललितकला, प्रविधिलगायत रचनात्मक काममा आवद्ध गराउने कार्यक्रम ल्याउने।

योजना–६ : भित्री शहरका हरेक ५०० मिटरमा र बाहिरी शहरमा आवश्यकताअनुसार पब्लिक सर्भिस सेन्टर बनाउने।

योजना–७ : महानगरका करदाताको सुविधाका लागि बचत स्मार्ट कार्डको व्यवस्था गर्ने।

योजना–८ : ‘घरघरमा अचम्मको सियो र गजबको चुलो’ कार्यक्रम सञ्चालन। 

योजना–९ : वर्षे पानी संकलन गरी भूमिगत जल भण्डारण गर्ने।

योजना–११ : चोभारदेखि हिमाल सिमेन्ट कारखानासम्मको जग्गामा बालमनोरञ्जन, चलचित्रकर्मी र नेपाल उद्योग वाणिज्य महासंघको सहकार्यमा बृहत् प्रदर्शनी केन्द्र निर्माण गर्ने।

योजना–१२ : ‘भोकरहित जनता‚ शोकरहित महानगर’ नारासहित सुपथ मूल्यको प्रमुख फुड पार्लर खोल्ने।

योजना–१३ : काठमाडौंको भित्री शहरका दक्षिणी भेगको ‘क्वःने’को ऐतिहासिक क्षेत्रलाई आवश्यक प्रक्रिया पूरा गरी जीवन्त संग्रहालय (लाइभ म्युजियम) घोषणा गर्ने।

योजना–१४ : महानगरपालिकाको भवन निर्माण गर्ने।

योजना–१५ : छाडा जीवजन्तु तथा फोहोरमैलालगायत समस्या समाधान गर्ने।

योजना–१६ : महानगरभित्रका सबै थोक बजारलाई यातायात सुविधासहित व्यवस्थित गर्ने।

योजना–१७ : काठमाडौं उपत्यकामा मोनोरेल सञ्चालन गर्ने।

प्रमुख शाक्यले १०० दिने योजनामा राखिएको यी कार्यक्रमहरू आफ्ना कारणले नभई अन्य निकायको अवरोधका कारण पूरा हुन नसकेको दाबी गरेका छन्।

आफ्नो कार्यकालभरि प्रायः निष्क्रिय झै रहेका प्रमुख शाक्यले निर्वाचनको घोषणापछि भने सक्रियता बढाएका छन्। यसयता उनले पहिले नै सञ्चालनमा आइसकेको पूर्वाधारको उद्‌घाटनदेखि काम पूरा भइनसकेको पूर्वाधारको पनि उद्‌घाटन गर्न भ्याएका छन्।

फागुन २७ मा वडा नम्बर ५ मा रहेको कोटा गुठी भवनको उद्घाटन गरे। फागुन २९ मा पुनर्निर्माण गरिएको श्री वटु लँमधि अजिमा (भद्रकाली) द्यः छेँ उद्घाटन गरेका थिए।

चैत महिनाको सुरूमा प्रमुख शाक्य मीनभवन सेवा सदन (किरियापुत्री भवन) उद्घाटन गर्न पुगे। चैत २ मा वडा नम्बर १ मा पर्ने कमलपोखरीको उद्घाटन गरे। जबकि पोखरीको पुनर्निर्माण भइसकेको छैन।

यस्तै‚ चैत ५ गते वडा नम्बर २८ बागबजारमा रहेको बुद्ध विहार उद्घाटन गरे। सोही दिन बल्खुस्थित वडा नम्बर १४ को वडा कार्यालय भवन उद्घाटन गर्न पुगे।

पछिल्लो समय उनी कुनै न कुनै योजनाको उद्घाटन तथा शिलान्यासमा व्यस्त छन्। यसलाई लिएर विरोध तथा आलोचना भइरहेको छ। तर‚ प्रमुख शाक्य भने यसलाई नियमित प्रक्रिया भएको  बताउँछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.