७ महिनामै १३ सयभन्दा बढी शिक्षकले दिए राजीनामा

|

काठमाडौं : स्थानीय तहको निर्वाचन नजिकिँदै छ। अब चुनाव आउन ५१ दिन मात्र बाँकी छ। आगामी वैशाख ३० गते एकै चरणमा सबै स्थानीय तहको निर्वाचन हुँदै छ। निर्वाचन नजिकिँदै गर्दा यतिखेर राजनीतिक पार्टीका नेताहरू गाउँ–गाउँमा पस्न थालेका छन् भोटका लागि।

यता, सामुदायिक विद्यालयका शिक्षकसमेत धमाधम राजीनामा दिँदै छन् राजनीतिमा उत्रनकै लागि। राष्ट्रिय शिक्षक किताबखानाका कामु उपमहानिर्देशक रामराज खकुरेलका अनुसार साउनदेखि फागुनसम्म नै १ हजार ३ सय ३९ जना शिक्षकले राजीनामा दिएका छन्।

यी सबै शिक्षकले सेवा अवधि पूरा नहुँदै राजीनामा दिएको जानकारी उनले दिए। अघिल्लो वर्ष ७ सय ९६ जनाले मात्र राजीनामा दिएका थिए। ‘अघिल्लो वर्षको तथ्यांकलाई मात्र हेर्ने हो भने ८ महिना नपुग्दै यति धेरैले राजीनामा दिएका छन्, स्थानीय तहको निर्वाचन भएकाले अधिकांशले राजीनामा दिएका छन्,’ उनले भने।

अहिले दैनिक अवकाशप्राप्त, समय अवधि नपुगे पनि छाड्नेलगायत गरि दैनिक ३० जनाको राजीनामा फाइल किताबखानामा आउने गरेको उनले बताए। ‘सरकारले शिक्षक पेशा छाड्न चाहनेलाई छुट पनि दिएको छ, सेवा अवधि सकिन लागेकालाई एकमुष्ट सेवा सुविधा दिने गरेको छ, यसकारण पनि राजीनामा दिएका छन्,’ उनले राजीनामाका कारणहरू बताए। उनका अनुसार देशभरि करिब १ लाख शिक्षक छन्।

यसअघि नै विभिन्न राजनीतिक पार्टीको महाधिवेशन शुरु भएसँगै अधिकांश सामुदायिक विद्यालयका शिक्षक पार्टीमा क्रियाशील बनेका थिए। सामाजिक सञ्जालमा समेत यसको चर्को आलोचना भयो। सोही कारण उच्च अदालत पाटनले दलको राजनीतिमा लाग्ने शिक्षकहरूलाई कारबाही गर्न आदेश पनि जारी गर्‍याे।

अदालतले गत मंसिर १९ गते निवेदक अजित भण्डारी र विपक्षी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबार, काठमाडौंसमेत भएको उत्प्रेषणको रिट निवेदनमा त्यस्तो आदेश दिएको हो।

त्यसपछि शिक्षा तथा मानव स्रोत विकास केन्द्रले ती आदेश कार्यान्वयन गर्न गत मंसिर २३ गते सबै शिक्षा विकास तथा समन्वय इकाइ र स्थानीय तह निकायलाई निर्देशन दिएको थियो।

​त्यसलगत्तै शिक्षकहरूको राजीनामा दिने संख्या बढेको किताबखानाको भनाइ छ। राजनीतिक दलसम्बन्धी ऐन २०७३, निजामती सेवा ऐन, शिक्षा ऐनमा सरकारी सेवामा संलग्न हुने कर्मचारीसम्बन्धी विभिन्न ऐनमा सार्वजनिक दलमा बहाल रहेका व्यक्तिले राजनीतिमा भाग लिन नपाइने प्रावधान छ। तर पनि उनीहरूले भाग लिएका छन्।

शिक्षक महासंघ भन्छ : राजनीति गर्ने/नगर्ने स्वेच्छा

नेपाल शिक्षक महासंघकी अध्यक्ष कमला तुलाधर स्थानीय तहको निर्वाचन नजिकिएकाले राजीनामा दिने संख्या बढेको बताउँछिन्। ‘स्थानीय तहको निर्वाचन आउँदै छ, त्यसमा सहभागी हुन, कोही पार्टीले टिकट दिए उम्मेदवार उठ्न राजीनामा दिएका छन्,’ उनले भनिन्, ‘राजनीति गर्ने/नगर्ने त्यो आफ्नो स्वेच्छाले हो, राजीनामा दिएर राजनीति गर्नेका लागि ठिकै हो।’

पार्टीले दबाब दिएकाले पनि शिक्षक राजीनामा दिएका हुनसक्ने उनको अनुमान छ। ‘सरुवाको विषयमा कोही गाउँमा पढाउने शिक्षक शहरमा सरुवा गर्छन्, कतिपय शिक्षिकाको परिवारसँगै बस्ने मन भएको हुन्छ, यस्ता कारणले धेरै महिला शिक्षिकाले राजीनामा दिने गरेका छन्,’ उनले भनिन्।

उनका अनुसार ६० वर्षसम्म शिक्षकले शिक्षण गर्न पाउँछन्। ‘कोही पढाउँदा पढाउँदा दिक्क मानेका पनि होला, राजनीतिमा भविष्य देखेकाले पनि शिक्षक राजीनामा दिएको होलान्,’ उनले भने।

यसो भन्छन् शिक्षाविद्

शिक्षाविद् प्रा.डा. सुरेशराज शर्मा शिक्षकहरूको खुल्लमखुल्ला विद्यालयभित्र राजनीति गर्दा पठनपाठन नै बिग्रेको भन्दै राजनीति गर्न चाहने शिक्षक राजीनामा नै दिनु राम्रो भएको बताउँछन्।

उनले भने, ‘शिक्षक भनेको विद्यार्थीहरूलाई नयाँ ज्ञानका कुरा सिकाउने हो, राजनीति गराउने होइन, राजनीति गर्ने मन भए शिक्षकबाट राजीनामा दिएर गर्दा हुन्छ।’ अर्का शिक्षाविद् प्रा.डा. विनयकुमार कुसियत पनि यदि शिक्षक साँच्चै राजनीतिमा भविष्य देखे शिक्षण पेशा छाडेर गर्दा हुने बताउँछन्।

‘विद्यालय शान्ति क्षेत्र हो, जहाँ पढ्न पाउने बालबालिकाको अधिकार छ, राजनीति गरेर उनीहरूको भविष्य बिगार्न पाइँदैन, राजनीति गर्ने भए शिक्षण पेशा छाड्नुपर्छ, उसको सट्टामा अर्कोले पढाइहाल्छ,’ उनले भने। विद्यालय राजनीतिक अखडा बनाउन नहुने तर्क उनी गर्छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.