|
तस्बिरहरू: रूजन महर्जन

काठमाडौं : पछ्यौरा ओडेर बिहानको ब्रस गरिरहेकी सकम्बरी भुइँमा खसेका शिरीषका फूल जतनले उठाउँदै एउटा टोकरीमा हाल्दै थिइन्। सकम्बरीको ‘शिरीषको फूल’प्रतिको प्रेम म बुझ्न सक्थेँ।

टोकरीमा फूल हालिसकेर उनी के गर्लिन्? त्यहीँ शिरीषको रुखमा अढेस लगाएर एउटा चुरोट पिएर अन्य काम गर्लिन्? पढिरहेको पुस्तक फेरि पल्टाउलिन्? कि केही लेख्लिन्? यसो हेर्दा उनले मुख धुन पनि बाँकीजस्तो देखिन्थ्यो। 

म छिट्टै होसमा आएँ, त्यो फूल कागजको थियो। कतै काटेर‚ कतै जोडेर सिलिङ छुने गरी मिलाएर राखिएको एउटा रूख थियो।  त्यहाँ कुनै बगैँचा थिएन। त्यो त नाटकको सेट थियो, प्रप्सहरू थिए। त्यहाँ सकम्बरी थिइनन्। नाटकमा सकम्बरीको भूमिकामा देखिएकी अभिनेत्री समृद्धि नेपाल थिइन्। जो हिजोको शोमा झरेका फूलहरू (कागजका) टोकरीमा राख्दै थिइन्। साँझको शोमा फेरि झार्नका लागि। 

यतिवेला कीर्तिपुरस्थित थिएटर मलमा नाटक ‘शिरीषको फूल’ मञ्चन भइरहेको छ। नाटक पारिजातद्वारा लिखित उपन्यास ‘शिरीषको फूल’मा आधारित रहेको छ। नेपाली साहित्यमा रूची हुनेका दिमागमा पारिजात भनेपछि शिरीषको फूल, शिरीषको फूल भनेपछि सकम्बरी, सकम्बरी भनेपछि सुयोगवीर एउटा साङ्लोजस्तै जेलिन्छ। साढे पाँच दशकभन्दा अघि प्रकाशित ‘शिरीषको फूल’लाई नेपाली साहित्यमा सर्वाधिक चर्चित उपन्यासमध्ये एक गनिन्छ। उपन्यासकी पात्र सकम्बरीलाई सबैभन्दा रूचाइएकी पात्र मान्न सकिन्छ। 

नेपाली साहित्याकाशमा विशेष स्थान बनाएको उपन्यास र उपन्यासका पात्र यसरी मञ्चमा नाटकको रुपमा प्रस्तुत भएको यो पहिलो पटक हो। जसको परिकल्पनाकार केदार श्रेष्ठ हुन्। निर्देशक अन्जान प्रदीप हुन् भने नाट्य रूपान्तरण चौथो आयामले गरेको हो। पाँचजना युवा रंगकर्मीको समूह चौथो आयामकै अग्रसरतामा यो नाटक सम्भव भएको हो। 

मण्डला थिएटरले सञ्चालन गरेको ड्रामा स्कुलको पहिलो ब्याचका विद्यार्थी अन्जान प्रदीप, समृद्धि नेपाल, शिव परियार, सञ्जय विश्वकर्मा र हाङ ओ हाङ राई मिलेर ‘चौथो आयाम’ नामक समूह बनाएका हुन्। ड्रामा स्कुलको पढाइ सकिएपछि उनीहरूले आफ्नै ठाउँमा गएर केही गर्नुपर्ने थियो। 

‘काठमाडौं मै एउटा नाटक गरौँ‚ त्यसपछि आ-आफ्नो ठाउँ जाउँला भन्ने कुरा भयो। कुन नाटक गर्ने भन्ने चाहिँ तय भइसकेको थिएन‚’ अन्जान भन्छन्, ‘हाम्रो समाजको कथा बोल्ने, मानिसहरूले चिनिराखेको तर नदेखेको पात्र खोज्दै थियौँ। त्यसै बिचमा शिरीषको फूल पढियो। सकम्बरी र सुयोगवीर त हाम्रो दिमागमा थियो नै। शिरीषको फूल पढेपछि त्यसैमा गरौँ भन्ने भयो। अनि नाट्य रुपान्तरणको काम सुरु भयो।’

चौथो आयामका लागि शिरीषको फूल महत्त्वपूर्ण नाटक थियो। पहिलो भएर मात्र होइन‚ शिरीषको फूलको वजनले गर्दा पनि। चौथो आयामलाई ठाउँको व्यवस्था मिलाउने र मार्गदर्शन गर्ने काम रंगकर्मी केदार श्रेष्ठले गरे। जो थिएटर मलका संस्थापक पनि हुन्। 

ड्रामा स्कुलको ब्याच प्रोडक्सन गर्दा आ-आफ्नो भागमा परेको अलिकति रकम सबैले नाटकका लागि छुट्याए। नाटकको रिहर्शलभरी खाने खर्च त्यसैले धान्यो। केही खर्च थिएटर मल कीर्तिपुर रंगमञ्चले नै जुटाइदियो। त्यसरी नाटकको आर्थिक पाटो पनि मिल्यो। उनीहरूले उतै खाए, उतै रिहर्शल गरे, उतै सुते। दुई वर्षदेखि बन्द रहेको नाटकघरले जीवन पायो, अनि नाटक गर्नेहरूका लागि नाटकघर पाउनु पनि त्यस्तै कुरा थियो। 

अन्जान र उनको टिमले झण्डै तीन महिना लगाएर नाटक तयार गर्‍यो। झाडी सफा गरेर थिएटर जाने बाटो बनायो। उनलाई शिरीषको फूलमा नाटक गरेपछि दर्शक बाटो सोध्दै पनि नाटक हेर्न आउँछन् भन्ने थियो। साथै‚ उनमा उपन्यासको भावलाई न्याय गर्न नसकेको आरोप पो लाग्ने हो कि पारिजात र सकम्बरीको चित्त पो दुख्ने हो कि भन्ने डर पनि थियो। रिहर्शलको बेलामा उनले धेरै नराम्रा सपना पनि देखे। कहिले सकम्बरीको ब्लाउज लगाएर आफैं हिँडेको त कहिले नाटक हेर्न आएका बालबालिका अचेत भएर सुतेको। त्यस्ता सपनाले उनलाई धेरै पटक आधा रातमै पनि ब्युँझायो। 

‘नाटक कस्तो हुने हो, कस्तो प्रतिक्रिया आउने हो भनेर डर लागिरहेको थियो। नाटक सुरु हुनुभन्दा अगाडि पनि शिरीषको फूलमा नाटक गर्दाको रिस्कको कुरा भएको थियो‚’ उनी भन्छन्, ‘अहिले पनि क्रिटिकल्ली हेर्ने हो भने धेरै कमी कमजोरी त देखिएलान्। तर‚ हामी चार पाँच जनाले मिलेर देखेको सपना, यहाँसम्म आउँदा ठूलो टिम बन्यो। नाटक यसरी फ्लोरमा आयो। नाटक नै नहेरेका धेरै जना यो नाटक हेर्न आउनुभयो। तीन चार पटक हेर्ने दर्शक पनि हुनुहुन्छ। त्यसले हामीलाई मोटिभेट गरिरहेको छ। अहिले सपना पनि राम्रो देखिरहेको छु।’

निर्देशकलाई जत्तिकै प्रेसर समृद्धिलाई पनि थियो। जो नाटकमा सकम्बरीको भूमिकामा देखिँदै थिइन्। चर्चाको हिसाबले सकम्बरी शिरीषको फूल जत्तिकै चर्चित पात्र हो। जसको चित्र हरेक पाठकले आफ्नो मष्तिष्कमा आ-आफ्नै कलम र आ-आफ्नै रङले बनाएका थिए। नाटक हेर्न आउने अधिकांश दर्शक सकम्बरीलाई नै हेर्न आउनेवाला थिए। आफूले बनाएको सकम्बरीको चित्र र नाटकमा देखिएकी सकम्बरीलाई दाँज्नेवाला थिए। ड्रामा स्कुलबाट निस्केपछि पहिलो नाटकमै उनले एउटा चुनौतीपूर्ण पात्र निर्वाह गर्दै थिइन्। नाटक मञ्चन भइसकेपछि भने धेरै हदसम्म डर हटेको छ।

‘दर्शकबाट प्रतिक्रिया राम्रो आइरहेको छ‚’ उनी भन्छिन्, ‘केही दर्शकले तिमी अझै राम्रो गर्न सक्छौ भनेर ठाउँहरू पनि देखाउनुहुन्छ। केहीले एकदमै राम्रो लाग्यो पनि भनिरहनुभएको छ।’

उपन्यासको अडियो सुनेको भए पनि उनी किताब भने यसमा नाटक गर्ने तय भइसकेपछि मात्र पढेकी थिइन्। यस्तोमा कम समयमा सकम्बरीलाई बुझ्न र आफूले बुझेको सकम्बरी अभिनयमार्फत दर्शकसम्म पुर्‍याउनु पक्कै चुनौतीपूर्ण काम थियो। यसबीचमा उनले सकम्बरीलाई लिएर अन्य साथीहरूको बुझाइ सुनिन्। ठ्याक्कै सकम्बरी जस्तो नभए पनि सकम्बरीसँग केही गुण मेल खाने व्यक्तिहरू को हुन सक्छन् भनेर खोजिन्। उनीहरूबारे पढिन्, अन्तरवार्ता हेरिन्। 

‘मैले बरीमा फेमिनाइन देख्छु। फेरि फेमिनिनिटीभित्र बोल्डनेस पनि देख्छु। मैले जस्तो बरी देखेँ‚ ठ्याक्कै त्यस्तै देखाउन सकेको छैन कि जस्तो भने हुन्छ‚’ समृद्धि भन्छिन्‚ ‘तर, हरेक पटक मेरो प्रयास चाहिँ आफूले देखेको बरीलाई देखाउने हुन्छ।’ साथै‚ बरीलाई जति बुझ्यो उति बुझ्न बाँकी छ जस्तो लाग्ने पनि उनले बताइन्।

त्यस्तै‚ नाटकको अर्को मुख्य पात्र सुयोगवीरको भूमिकामा देखिएका सञ्जय विश्वकर्मा पनि सुयोगवीरको भूमिका आफूलाई दिएपछि सुरुमा गाह्रो लागेको बताउँछन्। सुयोगवीर र आफूमा उमेरको त ठूलो अन्तर थियो नै साथै सुयोगवीरको मनस्थिति बुझ्न उनलाई गाह्रो भयो।

‘सुयोगवीर आफूलाई लिएर गर्व पनि गर्थ्यो, फेरि आफैंलाई घृणा पनि गर्थ्यो‚’ सञ्जय भन्छन्‚ ‘फिजिकल मुभमेन्ट त त्यो उमेरका अरु मानिसहरूलाई हेरेर पनि गर्न सकिन्थ्यो तर उसको रहस्यमयी मानसिक स्थिति कसरी देखाउने भन्ने चाहिँ मेरो लागि च्यालेन्जिङ थियो।’

शिरीषको फूल मञ्चन भएपछि धेरै नयाँ दर्शकले कीर्तिपुरमा रहेको थिएटर मलको ठेगाना थाहा पाएका छन्। साथै‚ नेपाली रंगमञ्चले पनि धेरै नयाँ दर्शक पाएको छ। गत फागुन २७ गतेदेखि मञ्चन सुरु भएको नाटक चैत १२ गतेसम्म हरेक साँझ साढे ४ बजे र अतिरिक्त शो शनिबार दिउँसो २ बजे पनि मञ्चन हुनेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.