|

पर्सा : मधेश सरकारले पर्साको ठोरीलाई पर्यटकीय क्षेत्र घोषणा गर्ने भएको छ। राजधानी जनकपुरधाम बाहिर ठोरीमा नै मधेश सरकारको मन्त्रिस्तरीय बैठक बसी शुक्रबार पर्साको ठोरीलाई यो प्रदेशकै पहिलो पर्यटकीय क्षेत्र घोषणा गर्न लागिएको हो।

शुक्रबार ठोरीमा मन्त्रिस्तरीय बैठक बस्ने मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउत गद्दीले बताए। त्यही पुगेर मन्त्रिस्तरीय बैठक बसेलगत्तै ठोरीलाई आधिकारिक रूपमा पर्यटन क्षेत्र घोषणा गरिने मुख्यमन्त्री गद्दीका स्वकीय सचिव दीपक यादवले जनाए। पर्साको ‘ठोरी’लाई पर्यटकीय क्षेत्र र पर्साकै ‘भाठा धाम’लाई धार्मिक पर्यटकीय क्षेत्र घोषणा गर्ने कार्यक्रम तय भएको उनको भनाइ छ। भाठा धाममा चाहिँ मन्त्रीहरूको टोली शनिबार पुग्ने उनले बताए। 

जंगल रिसोर्टमा मन्त्रिस्तरीय बैठक 
ठोरी गाउँपालिकाको वडा नम्बर २ जंगल रिसोर्टमा मन्त्रिपरिषद् बैठकका लागि सम्पूर्ण तयारी भइरहेको ठोरी गापाका अध्यक्ष पिएल श्रेष्ठले बताए। पर्यटन क्षेत्र घोषणा आयोजक कमिटीका संयोजक समेत रहेका अध्यक्ष श्रेष्ठले शुक्रबार १२ बजेसम्म मधेश सरकारका मन्त्रीहरू ठोरी आइपुग्ने कार्यक्रम रहेको बताए।

मन्त्रीहरूलाई रहने र बैठक बस्ने व्यवस्था मिलाइ सकिएको उनको भनाइ छ। ‘पर्यटकीय क्षेत्र घोषणा भने मन्त्रिस्तरीय बैठक सकिएलगत्तै २ बजेतिर गर्ने कार्यक्रम छ’, अध्यक्ष श्रेष्ठले भने।

मधेश सरकारको नेतृत्व गरिरहेको जनता समाजवादीका केन्द्रीय सदस्य तथा ठोरीनिवासी टेकबहादुर शाक्यले पनि लामो समयदेखिको आफूहरूको पहल साकार हुन लागेको भनी बिहीबार वीरगन्जमा पत्रकार सम्मेलन गरे।

मधेश सरकारको ठोरीमा बस्न लागेको मन्त्रिस्तरीय बैठक राजधानी जनकपुरधाम बाहिरको दोस्रो बैठक भएको मधेश सरकारका मुख्यमन्त्रीका स्वकीय सचिव यादवले बताए। यसअघि जनकपुरधाम बाहिर सारनाथ वन परियोजनास्थलमा पहिलो बैठक बसेको थियो।

त्यहाँको मन्त्रिस्तरीय बैठकपछि ‘हरित प्रदेश अभियान’का रूपमा सयौं विरुवा एकैपटक रोप्दै रेकर्ड बनाएको थियो। ठोरीले चाहिँ यो प्रदेशकै पहिलो पर्यटकीय क्षेत्र घोषणाको श्रेयको बाजी मार्ने उनको भनाइ छ।

दर्शनीय स्थल 
पर्साको सदरमुकाम वीरगन्जभन्दा सुदूरपश्चिममा रहेको ठोरी गाउँपालिकाभित्र सीतागुफा, सिंगे पर्वत, गोलेडाँडा, राईधारा, सेतो पहाड, रानीवन, सिद्धनाथ मन्दिर क्षेत्र र मगर संस्कृति झल्कने तीनघरे सामुदायिक होमस्टे रहेका छन्।

त्यसैगरी चिसापानी, शिकारीवास र चितवन राष्ट्रिय निकुञ्ज र पर्सा राष्ट्रिय निकुञ्जको बीच जंगलमा थारु समुदाय मात्र बसोवास गर्ने डेढ सय वर्ष पुरानो थारू संस्कृति झल्कने बस्ती, चितवन राष्ट्रिय निकुञ्ज, पर्सा राष्ट्रिय निकुञ्ज र भारतको वाल्मीकि टाइगर टप्स परियोजना गरी तीन राष्ट्रिय निकुञ्जबीचको संगमभूमि रहेको ठोरी गाउँपालिकाका अध्यक्ष श्रेष्ठका स्वकीय सचिव माधव तिम्सिनाले बताए। उनी पर्यटकीय क्षेत्र पहिचान टोलीका सदस्य समेत रहेको गाउँपालिकाले जनाएको छ। 

वार्षिक लाखभन्दा भारतीय आउँछन् 
ठोरीका ती स्थानको अवलोकन र पिकनिकका लागि भारतीय समेत आउने गरेको ठोरीवासीको भनाइ छ। अंग्रेजी नयाँवर्ष, भ्यालेन्टाइन डे र विभिन्न चाडपर्वमा त हजारौं भारतीय ठोरी आइपुग्ने गरेको स्थानीयको भनाइ छ। विभिन्न पर्व र पिकनिक सिजनमा दुईपांग्रे र चारपांग्रे सवारीमा आउने भारतीयको संख्या हजारौं हुने छोटी भन्सार कार्यालय ठोरीले पनि जनाएको छ।

पर्यटकीय स्थल घोषणा नहुँदै पनि लाखभन्दा बढी मानिस पुग्ने ठोरीलाई अब आधिकारिक रूपमै पर्यटकीय स्थलका रूपमा पहिचान कायम गर्न लागिएको ठोरी गाउँपालिकाका अध्यक्ष श्रेष्ठले बताए। यसले आन्तरिक र बाह्य पर्यटक आउने र ठोरीको समृद्धिका लागि राम्रो माध्यम बन्ने ठोरीवासीको अपेक्षा रहेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.