|

हेटौंडा : हेटौंडा अस्पतालको आकस्मिक कक्षमा एक महिला आफ्नो शरीरमा लागेको चोट डाक्टरलाई देखाउँदै दिइन्। ‘ढाडमा बेस्सरी डाम बसेको छ। घुँडामा पनि रगत आइरहेको छ, कुहिना पनि दुखेर मर्नु भएको छ, उनले भनिन्।

उनका आँखा र गाला बेस्सरी सुन्निएका थिए। आँखाको वरिपरि कालो दाग बसेको थियो भने आँखाका नानी राता भएका देखिन्थे। कपाल असरल्ल भएर फिजारिएको थियो। उनको यो अवस्था श्रीमान्‌को कुटाइबाट भएको हो।

यसरी उनले श्रीमान्‌बाट पिटाइ खान थालेको पाँच वर्ष भयो। सानै उमेरमा विवाह गरेकी उनका दुईवटी छोरी छन्। जेठी छोरी १० वर्ष र कान्छी छोरी ५ वर्षका भए। छोरीहरुको आँखासामु उनी दैनिकजसो श्रीमान्‌को पिटाइ खान्छिन्। कति पटक उनी अस्पताल धाइन् त कति पटक अर्धचेत भएर घरमा नै ढलिन्। तर, हालसम्म उनले श्रीमान्‌विरुद्ध प्रहरीकोमा उजुरी दिन सकेकी थिइनन्

 उसो त, उनले आफूलाई श्रीमान्‌ले गर्ने हिंसाको बारेमा माइतीलाई पनि भन्ने गरेकी थिइनन्। १४ वर्षअघि आफूसँग विवाह गरेको श्रीमान्‌ले आफू बसिरहेकै घरमा २ वर्षअघि कान्छी श्रीमती भित्र्याए। उनी रोइन् ,कराइन् तर मादक पदार्थ सेवन गरेर दैनिक उनलाई पिट्ने श्रीमान्‌को मनमा माया पलाएन।

उनले श्रीमान्‌को खुशीका लागि सौतालाई पनि स्वीकार गरिन्। उनीहरु अहिले एउटै घरमा दुई भान्छा गरेर बस्छन्। श्रीमान् कान्छी श्रीमतीसँग बस्छन् भने उनी आफ्ना दुई छोरीसँग बस्छिन्। छोरीहरुको लालनपालन र अन्य खर्चका लागि श्रीमानले सुको दिँदैनन्

 उनी दैनिक मेलापात जाने र कुखुरा पालेर घर धानिरहेकी छिन् तर त्यही गरेर आम्दानी गरेको पैसा पनि माग्दै श्रीमान्‌ले उनलाई पिट्ने गरेका छन्। त्यो दिन पनि यस्तै निहुँमा उनका श्रीमान्‌ले उनलाई बेस्सरी पिटे। धेरै चोट लागेपछि यो खबर उनको माइतीसम्म पुग्यो।

उनका दिदीहरूले उनलाई अस्पताल पुर्‍याए र यो कुरा जिल्ला प्रहरी कार्यालय मकवानपुरसम्म पुग्यो। प्रहरीमा उनले उजुरी दिएपछि श्रीमान्‌लाई प्रहरीले एकदिन जेलमा राख्यो। घरेलु हिंसासँगै बहुविवाह पनि गरेका श्रीमान्‌लाई मुद्दा हाल्न प्रहरीले उनलाई सुझाव दियो तर उनले श्रीमान्‌लाई कारागारमा देख्न नसक्ने भन्दै मिलापत्र गरेर भोलिपल्ट आफैले श्रीमान्‌लाई छुटाएर लगिन्।

‘मलाई जे जस्तो गरेको भए पनि उहाँ मेरो श्रीमान् हो। छोरीहरुको बुवा हो, उहाँलाई कसरी थुनाउन सक्छु?’, उनले भनिन्। उनले श्रीमान्‌ले आफूलाई जस्तो व्यवहार गरे पनि आफूले माया गरेको भन्दै छुटाएर लगिन्।

१५९ वटा उजुरीमा मिलापत्र

यो एउटा प्रतिनिधि पात्र घटना मात्रै हो। जिल्ला प्रहरी कार्यालय मकवानपुरमा दर्ता भएका अधिकांश उजुरी मिलापत्रमा टुंगिने गरेको छ। महिलामाथि हुने विभिन्न प्रकारका घरेलु हिंसाका घटना प्रहरीसम्म पुगे पनि अधिकांश घटनामा मिलापत्र भएर घरमा नै फर्किने गरेको हो।

जिल्ला प्रहरी कार्यालय मकवानपुरमा रहेको महिला,बालबालिका तथा ज्येष्ठ नागरिक केन्द्रको प्रमुख चूडाकुमारी खड्काले प्रहरीकोमा दैनिक यस्तो हिंसाको घटना आउने गरेको भन्दै अधिकांश घटनामा मिलापत्र हुने गरेको बताइन्।

यस्तो घटनामा श्रीमान्‌लाई एक दिनभन्दा बढी थुन्ने अधिकार प्रहरीलाई पनि नभएकाले बाध्य भएर मिलापत्र गराउनुपर्ने अवस्था समेत रहेको उनी बताउँछिन्। उनका अनुसार चालू आर्थिक वर्ष २०७८।०७९ को हालसम्म २४६ वटा उजुरी परेका छन्। जसमा १५९ वटा उजुरी मिलापत्रमा टुंगिएको तथ्यांक छ।

तीमध्ये ३१ वटा मुद्दा अदालतसम्म पुगेका छन्। बाँकी ५६ वटा मुद्दा प्रक्रियामै छन्। चालू आवमा सबैभन्दा बढी मानसिक यातनासम्बन्धी घरेलु हिंसाको उजुरी परेको छ। मानसिक यातनासम्बन्धी १९० वटा उजुरी परेकोमा १२७ वटामा मिलापत्र भएको केन्द्रकी प्रमुख प्रहरी निरीक्षक खड्काले जानकारी दिइन्।

२३ वटा मुद्दा मात्रै अदालतमा पुगेका छन्। घरमा खान र लगाउन नदिने, घरबाटै निकाल्ने, समयमै नागरिकता र विवाह दर्ता नगर्नेलगायतका कारण मानसिक तनावमा परेको भन्दै ९० प्रतिशत महिलाले उजुरी दिने गरेको खड्काले बताइन्। शारीरिक कुटपिटसम्बन्धी ३७ वटा उजुरी दर्ता भएकोमा २१ वटामा मिलापत्र भएको केन्द्रकी प्रमुख खड्काले बताएकी छन्। शारीरिक कुटपिटसम्बन्धी २१ वटा उजुरीमा मिलापत्र हुँदा छवटा मुद्दा मात्रै अदालती प्रक्रियामा पुगेको उनको भनाइ छ।

१० वटा उजुरीमाथि भने आवश्यक प्रक्रिया शुरु भएको खड्काले बताइन्। लालनपालन नगर्ने, बेवास्ता गर्ने, औषधि उपचार नगर्ने, घरमा बस्न नदिने र आयआर्जन हुने काम गर्न नदिने आर्थिक सम्बन्धी १९ वटा उजुरी परेका छन्। तीमध्ये ११ वटामा मिलापत्र भएको महिला तथा बालबालिका सेवा केन्द्रको तथ्यांकमा उल्लेख छ। आर्थिक सम्बन्धी दुईवटा मुद्दा मात्रै अदालतमा पुगेको जनाइएको छ। उजुरी दिने महिलाहरूकै कारण मिलापत्र हुने गरेको माइती नेपाल मकवानपुरकी संयोजक माया लामा बताउँछिन्।

अधिकांश महिला घरेलु हिंसा सहेर बस्न बाध्य भएको उनले बताइन्। ‘महिलाहरू आफूमा आत्मनिर्भर नहुनु, घरपरिवार र समाजबाट सहयोग नहुनु लगायतका विभिन्न कारणले घरेलु हिंसाका घटना मिलापत्रमा टुंगिने गरेको छ। महिलाहरू आत्मनिर्भर नभएसम्म समस्या रहिरहने देखिन्छ’, लामाले भनिन्। वर्षौंसम्म हिंसा सहेका महिलाहरू सहनै नसक्ने अवस्थामा मात्रै प्रहरीसम्म पुग्ने गरेको उनको भनाइ छ।

त्यसरी प्रहरीकोमा पुगेका महिलाहरू पनि आफूमाथि भएको हिंसालाई मुद्दाको रूपमा अगाडि बढाउन नचाहने गरेको लामा बताउँछिन्। ‘महिलाहरू जस्तोसुकै हिंसा भोग्नुपरे पनि भोलिपल्टै आएर उजुरी फिर्ता गर्दै आफ्ना श्रीमान्‌लाई छुटाएर लैजाने गर्छन्,  उनले भनिन्, ‘घरेलु हिंसाका पीडकलाई २४ घण्टाभन्दा बढी थुनामा राख्न नमिल्ने कानुनी प्रावधान रहेको र ३० दिनभित्र मिलापत्र गर्ने व्यवस्थाले थप समस्या बनाएको छ।’

मकवानपुरका दशवटै स्थानीय तहको न्यायिक समितिमा परेका घरेलु हिंसासम्बन्धी उजुरीसमेत मिलापत्रमै टुंगिने गरेको देखिन्छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.