|

म्याग्दी : आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको मिति नजिकिँदै गर्दा जिल्लाका राजनीतिक दलहरु चुनावी अभियान लिएर गाउँ पस्न थालेका छन्।

निर्वाचन आयोगले निर्वाचन कार्यक्रम सार्वजनिक गरेसँगै जिल्लामा चुनावी माहोल थप तातिएको छ। निर्वाचन कार्यक्रम अनुसार वैशाख ११ र १२ गते उम्मेदवारी दर्ताको मिति तोकिएको छ।

जिल्लाको एकमात्र नगरपालिका बेनीको मेयरको उम्मेदवार बन्न काँग्रेस भित्र रस्सकस्सी सुरु भएको छ। आधा दर्जन बढी नेताहरुले मेयरको टिकटका लागि लबिङ थालेको चर्चा छ।

नेताहरुले पार्टी भित्र उम्मेदवारको टिकटका लागि आ–आफ्नो तवरले लविङ थालेका छन्। अघिल्लो निर्वाचनमा मेयरमा झीनो मतअन्तरले जित हासिल गरेको कांग्रेसभित्र यसपटक टिकटका लागि आधादर्जन भन्दा बढी नेताहरु आकांक्षी देखिएका छन्। उम्मेदवारको आकांक्षीहरुमा युवा भन्दा पाका पुस्ता बढी देखिएका छन्।

कांग्रेस जिल्ला समितिको विगतमा विभिन्न पदमा बसेर काम गरिसकेका पाका नेताहरु मेयर पदका लागि आकांक्षी देखिएका छन्। अघिल्लो निर्वाचनमा माओवादी केन्द्रसँग तालमेल गरेर मेयर पद जितेको कांग्रेसले यसपटक भने तालमेल गर्ने वा नगर्ने कुनै निर्णय अहिलेसम्म गरेको छैन।

उम्मेदवारको आकांक्षी नेताहरुले जिल्ला, प्रदेश र केन्द्र सम्मका नेताहरु समक्ष लविङ थालेका छन्। खुला रूपमा उम्मेदवारको आकांक्षी घोषणा नगरेपनि नेताहरुले भित्री रूपमा कार्यकर्ता भेटघाटमा आफू यसपटको मेयर पदका लागि आकांक्षी भएको बताउन थालेका छन्। निर्वाचनमा नेकपा एमालेसँग कडा प्रतिस्पर्धा हुने बेनी नगरमा विश्वासिलो, भरपर्दो र लोकप्रिय नेतालाई अघि सारेमा मात्र जित्न सकिने कांग्रेसले आंकलन गरेको छ।

नेपाली कांग्रेसको जिल्ला समितिमा एक कार्यकाल उपसभापति भएर काम गरिसक्नुभएका माधवप्रसाद रेग्मी, पूर्व सचिव क्या. मीनबहादुर कार्की,महाधिवेशन प्रतिनिधि तथा कानुन व्यवसायी जिरञ्जीवि शर्मा, पुराना नेता नेत्रबहादुर महत, बेनी नगर सभापति रबी कार्की, जिल्ला सचिव तथा युवा नेता भरत रकाल र लामो समय शिक्षक पेशाबाट अवकास लिएर राजनीतिमा लागेका दुर्गाराम सुवेदीको नाम चर्चामा छ।

लामो समय शिक्षण पेशाबाट राजनीतिमा आएका पार्टीका पूर्व उपसभापति रेग्मी नयाँ पुस्तामा लोकप्रिय नभए पनि अनुभवी, भरपर्दो,  जिल्लाका विभिन्न सामाजिक संघसंस्थाको सफल नेतृत्व गर्नुभएको पाको नेताका रूपमा परिचित छन्।

 २०६२÷०६३ को १९ दिने जनआन्दोलनमा जिल्लामा जुझारु रुपमा आन्दोलनको नेतृत्व गरेका रेग्मीको यसपटक मेयर पदका लागि शसक्त दाबी छ। पार्टीको हालै सम्पन्न भएको जिल्ला अधिवेशनमा उपसभापति पदमा पराजित भएता पनि कांग्रेसको पंक्तिभित्र बलियो पकड भएको नेताका रुपमा लिने गरिएको छ। रेग्मीले कार्यकर्ता पंक्तिमा आगमी निर्वाचनमा मेयर पदमा बलियो दावी राखेका काँग्रेस स्रोतले बतायो।

यस्तै, पूर्व सचिव क्या. कार्कीको पनि मेयर पदका लागि दाबी बलियो रहेको छ। विगतमा नारायणसिंह पुनले नेतृत्व गरेको समता पार्टीबाट कांग्रेसको राजनीतिमा आएका कार्की भारतीय सेनाबाट अवकाश लिएर राजनीतिमा सक्रिय हुँदै आएका छन्। बेनी नगरपालिका २ ज्यामरुककोट निवासी कार्की पार्टीको गत जिल्ला अधिवेशनमा उपसभापति पदमा पराजित भएका थिए। उनले भित्री रुपमा कार्यकर्ताहरु माझ आफू नै मेयरको उम्मेदवार हुने बताउँदै आएको बुझिएको छ।

कानुन व्यवसायी तथा महाधिवेशन प्रतिनिधि शर्मा पनि कांग्रेसभित्र बलियो पकड भएको नेताका रुपमा लिने गरिन्छ।

 काँग्रेसको राजनीतिक र सैद्धान्तिक विचारलाई आम कार्यकर्ता माझ पुर्‍याउन सक्ने क्षमता राख्ने शर्मालाई पार्टीभित्र वैचारिक र सैद्धान्तिक लिडरका रुपमा लिने गरिन्छ। बेनी नगरपालिका १० पात्लेखेत निवासी शर्माले काँग्रेसको महाधिवेशन प्रतिनिधिमा लोकप्रिय मत ल्याएका थिए। कट्टर विचारकका रुपमा लिने शर्मालाई विपक्षी दलका कार्यकर्ताहरुको सहानुभूति भने पाउन कठिन छ।

अर्का उम्मेदवारको आकांक्षी बेनी नगरपालिका १ रत्नेचौर निवासी नेत्रबहादुर महत लामो समय नेपाली कांग्रेसको राजनीतिमा लागेपनि जिल्लाको नेतृत्वमा पुग्न सकेका छैनन्।

पार्टी विभाजन हुँदा नेपाली काँग्रेस प्रजातान्त्रिकतर्फ लागेका महतलाई विगतमा शेरबहादुर देउवाको विश्वासिलो पात्रका रुपमा लिने गरिएको भए तापनि पछिल्लो समय देउवाले विश्वास गर्न छाडेको काँग्रेसीहरु बताउँछन्। जिल्ला सभापतिमा खम्बीर गर्बुजा आएसँगै महत ओझेलमा परेको कांग्रेस स्रोतको दाबी छ। काँग्रेसको राजनीतिमा लागेर लाभको पदमा हासिल गर्न नसकेका महतलाई जिल्लामा स्वच्छ छविको नेताको रुपमा लिने गरिन्छ।

पार्टीभित्र आन्तरिक चुनावी प्रतिस्पर्धाबाट नगरको सभापति भएका र व्यावसायिक पृष्ठभूमिबाट राजनीतिमा छलाङ मारेका रविन्द्र कार्की मेयर पदका लागि स्वभाविक रुपमा दाबी रहेको चर्चा छ।

त्यस्तै, कांग्रेसको राजनीतिमा उदायमान युवाको छवि बनाएका जिल्ला सचिव भरत रकाललाई पनि आगामी मेयरको उम्मेदवारका रुपमा लिने गरिएको छ। युवामाँझ लोकप्रिय रकाल केन्द्रमा महामन्त्री गगन थापानिकट मानिन्छन्।

शिक्षक पेशाबाट आवकाश लिएर कांग्रेसको राजनीतिमा सक्रिय दुर्गाराम सुवेदी बेनी नगरपालिका ३ भकिम्ली निवासी हुन्। अन्य केही नेताहरूले पनि आकांक्षा देखाएको बुझिए पनि उनीहरू खुल्न भने चाहेका छैनन्। कांग्रेसको जिल्लामा संस्थापन पक्ष र रामचन्द्र पक्ष दुई खेमा छन्। पालिका अधिवेशनदेखि जिल्ला अधिवेशनसम्म आउँदा संस्थापन पक्ष बलियो देखिएको छ। दुवै पक्षबीच पार्टीभित्र चर्को गुटबन्दी छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.