असारदेखि आवेदन भरेको १५ दिनमै ट्रायल दिन पाइने

|

काठमाडौं : यातायात व्यवस्था विभागले सन् २०२४ को डिसेम्बर सम्मको भिजिट समय  पाएका सेवाग्राहीलाई आगामी जेठ भित्रमा (सवारीचालक अनुमतिपत्र) को ट्रायल दिने व्यवस्था गर्ने याेजना बनाएकाे छ।

शुक्रबार विभागका महानिर्देशक नमराज घिमिरेले पत्रकार सम्मेलन गरी सबै पुरानो प्रतीक्षा सूचीका सेवाग्राहीलाई जेठभित्र सेवा दिने जानकारी दिएका हुन्।

महानिर्देशक घिमिरेका अनुसार हालसम्म करिब पाँच लाख ७० हजार व्यक्ति ट्रायलको प्रतीक्षामा छन्। ‘यी सबै पुरानो सेवाग्राहीलाई ट्रायलको व्यवस्था गर्ने गरी री-सेडुल गरिसकिएको छ । आगामी जेठभित्र सबै काम  सकाएर असारबाट नयाँलाई आवेदन भरेको १५ दिनमै ट्रायल परीक्षा दिन पाउने व्यवस्था गर्दैछौँ,’उनले एक वर्षको कार्यप्रगति सुनाउँदै भने।

उनका अनुसार यसका लागि हरेक कार्यालयहरूको ट्रायलका काम छुट्टाछुट्टै री-सेडुल गराइएको छ। उनले भने,‘एउटा कार्यालयको आवश्यकताअनुसार १५ दिनसम्मका परीक्षार्थीहरूलाई एकै दिनमा बोलाएर जेठसम्ममा परीक्षा गराइसक्ने छाैँ।’

विभागले पुरानो काम कारबाही टुंग्याउन भन्दै चैत १ गतेदेखि नयाँ आवेदन दिने प्रणाली बन्द गरेकाे छ। यी बन्द गरिएकाे सेवा जेठ १ गतेबाट खुल्ने उनले बताए। ‘असार १ गतेबाट आवेदकले परीक्षा पनि दिन पाउँछन्। अनलाइनबाटै कुन कार्यालयमा कति सिट खाली छ भनी हेर्ने व्यवस्था गराउँछौँ, देशभर सिट छैन भने भोलि मात्र भर्न पाउँछ,’उनले भने।

स्मार्ट कार्ड छाप्‍न कति बाँकी?

विभागका महानिर्देशक घिमिरेले आफू महानिर्देशकमा नियुक्ति भएपछि स्मार्ट लाइसेन्सका लागि १४ लाख कार्ड प्राप्त गरी गत पुस १३ गतेबाट दैनिक ६ हजारको दरमा कार्ड छपाइ गरिरहेको जानकारी दिए।

‘विदेश जानु पर्नेहरूका लागि एक हप्तामा इमर्जेन्सी कार्ड प्रिन्ट दिने व्यवस्था गरेको छु,’उनले भने,‘अब सन् २०२१ को हाल सम्मको २ लाख ८ हजार र सन् २०२२ को हालसम्म एक लाख गरी कुल  तीन लाख कार्ड प्रिन्ट हुन बाँकी छ।’ उनले यी बाँकी सबै कार्ड आगामी वैशाखभरिमा प्रिन्ट गरिसक्ने बताए। 

उनले नाम टुंगो लागिसकेका ६ वटा प्रदेशमा गत मंसिर १ गतेबाट नयाँ दर्ता हुने सवारीमा,फागुन १ गतेदेखि नामसारी गरिने सवारीमा र आगामी जेठ १ गतेदेखि नवीकरण गर्न सवारीमा इम्बोस्ड नम्बरप्लेट जडान गर्ने निर्णय भएको बताए। 

वैज्ञानिक भाडा समायोजन 

पछिल्लो समय पेट्रोलियम पदार्थ लगायतमा मूल्यवृद्धि भएपछि पुनः भाडा समायोजन गर्ने विभागको तयारी छ। ‘९ वर्षदेखि भाडा समायोजन नभएको गुनासो यातायात व्यवसायीबाट आयो, म आएपछि वैज्ञानिक भाडादर समायोजन प्रणाली विकास गरी गत असारमा भाडा समायोजन भयाे, अहिले फेरि पेट्रोलियम पदार्थको मूल्यवृद्धिले भाडा समायोजन गर्न माग आएको छ,’उनले भने।

उनका अनुसार अब नयाँ भाडा समायोजन प्रणालीको व्यवस्था गरिनेछ। ‘यसरी पटक–पटक भाडा समायोजन माग समायोजन गर्नभन्दा पेट्रोलियम पदार्थ,अन्य पाटपुर्जाको मूल्यवृद्धिको आधारमा स्वचालित प्रणाली विकास गरी सहमतिको लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा पेश गरेका छौँ,’उनले भने।

लाइसेन्सको होम डेलिभरी 

विभागले लाइसेन्स हेन्ड डेलिभरी (व्यक्तिकै हातमा दिने)व्यवस्था गर्न लागेको छ। ‘सफ्टवेयर प्रयोग गरेर अहिले दराजलगायत अनलाइनले जसरी सेवा दिइरहेका छन्,त्यसैगरी हेन्ड डेलिभरीबाट सेवा दिने भनी मन्त्रालयमा पेश गरेको छु,’उनले भने। यो व्यवस्था पास भएपछि अर्को वर्षबाट यी सेवा लागू गर्ने उनको भनाइ छ। यस्तो सेवा गर्दा लाइसेन्स वालाले नै ल्याइदिए बापतकाे सबै चार्ज तिर्नुपर्ने छ। 

देशभरिका सडकहरूमा अधिक भारबहन गरेका निर्माण सामग्री ढुवानी गर्ने साधनहरू निर्वाध चलेकाे बताउँदै उनले यसलाई पनि व्यवस्था गर्ने योजना बनाएकाे बताए। ‘चितवनको आँपटारी र महोत्तरीको बर्दिबासमा तौल पुल स्थापना गरी सञ्चालन भइरहेको छ,भारबहन निर्देशिका संशोधन गरी निजी क्षेत्रबाट समेत तौल पुल सञ्चालन तथा स्थापना गर्न पाउने व्यवस्था गरी, अरू चार ठाउँमा पनि तौल पुल बनिरहेको छ,’उनले भने।

उनले  प्रत्येक प्रदेशमा अनिवार्य रूपमा एउटा सवारी परीक्षण केन्द्र बनाउन पहल गरेको पनि पत्रकार सम्मेलनमा जानकारी दिए। उनले सवारी चालक अनुमति पत्र छपाइको दीर्घकालीन प्रभावकारी व्यवस्थापन गर्न निजी क्षेत्रलाई दिनुपर्ने पनि सुझाव दिए।

उनले भने,‘प्राविधिक समस्याले भनेजस्तो कार्ड छपाइ गर्न सकिएको छैन,यो सबै काम कि त निजीलाई जिम्मा दिने वा विभाग आफैँले थप पूर्वाधार निर्माण गरेर सेवा बढाउनुपर्छ भन्ने मेराे भनाइ छ।’ 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.