|

काठमाडौं : पाकिस्तान, अफगानिस्तान र भारत हुँदै नेपाल आएका चिनियाँ विदेशमन्त्री वाङको भ्रमणलाई लिएर राजनीतिक तथा कूटनीतिक क्षेत्रमा विभिन्न टीका टिप्पणी भइरहेको छ।

तीनदिने भ्रमणका लागि शुक्रबार नेपाल आएका वाङको भ्रमणलाई चीनका लागि पूर्व नेपाली राजदूत डा. महेश मास्के चिनियाँ मित्रता र प्रतिबद्धताको माध्यमका रूपमा  लिन्छन्। ‘वाङ यी चीनको मित्रता र प्रतिबद्धता व्यक्त गर्न नेपाल आउनुभएको हो’, उनले भने, ‘घटनाक्रम जसरी विकसित भए पनि चीनप्रतिको मित्रता र प्रतिबद्धताबारे आश्वस्त गरोस् भन्ने सन्देश भ्रमणले दिएको छ।’

पूर्व परराष्ट्रमन्त्री रमेशनाथ पाण्डेले भ्रमण हुनेबित्तिकै टिप्पणी गरिहाल्न हतार हुने बताउँछन्। ‘भर्खरै त आउनुभएको छ, भेटघाट र छलफल नभई टिप्पणी गर्न मिल्दैन’, उनले भने।

परराष्ट्र मन्त्रालयले दुई देशबीचको मित्रताका लागि भएको स्पष्ट पारेको छ। मन्त्रालयकी प्रवक्ता सेवा लम्साल सम्बन्ध स्थापित गरी सम्भावनाका क्षेत्रलाई मूर्त रूप दिन वाङको भ्रमण फलदायी हुने बताउँछिन्।

‘द्विपक्षीय सम्बन्ध मजबुत गराउने, सम्भावनालाई मूर्तरूप दिने र केही एमओयु गर्ने तयारी छ’, लम्सालले भनिन्। नेपालले चीनसँग विगतमा थुप्रै द्विपक्षीय सम्झौता र सहमति पत्रमा हस्ताक्षर गरेको छ। बेल्ट एन्ड रोड अवधारणा (बीआरआई) फ्रेमवर्कभित्र र त्यसबाहिर पनि सहकार्यका सम्झौता भएका थिए। फ्रेमवर्क सम्झौता भएको पाँच वर्षमा नेपाल र चीनबाट उच्चस्तरीय भ्रमण आदानप्रदान भए पनि तिनको व्यावहारिक कार्यान्वयन हुन सकेको छैन।

वाङको भ्रमणमा यी विषयले अझै छलफल गरी प्राथमिकता पाउने आशा गरिएको छ। चीनलाई आश्वस्त बनाउने यो एउटा राम्रो अवसर भएको मास्के बताउँछन्। एमसिसी संसद्‌बाट पास भएपछि चिनियाँ विदेशीमन्त्री वाङको नेपाल भ्रमणलाई अनेक कोणबाट विश्लेषण गरिएको छ। नेपालको असंलग्न परराष्ट्र नीतिमा केही परिवर्तन आउने त होइन भन्ने पनि सुनिएको छ। यद्यपि सरकार, परराष्ट्र मामिलाका जानकार भने यो भ्रमणलाई चिनियाँ मित्रता र प्रतिबद्धताको माध्यमका रूपमा लिनुपर्ने बताउँछन्। 

भेटवार्ता शनिबारबाट

वाङको उच्चस्तरीय भेटवार्ता भने शनिबार मात्रै सुरु हुनेछ। उनले शनिबार बिहान १० बजे परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग द्विपक्षीय भेटवार्ता गर्नेछन्। त्यसक्रममा नेपाल र चीनबीच घाँस निर्यातलगायत पारस्परिक सहयोग अभिवृद्धिसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर हुने कार्यक्रम छ।

प्रधानमन्त्री शेरबहादुर देउवासँग बालुवाटारमा शिष्टाचार भेट गरेपछि प्रधानमन्त्री र विदेशमन्त्री वाङको उपस्थितिमा पोखरा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थल समापन समारोहको श्रव्यदृश्यका माध्यमबाट निरीक्षण गर्ने कार्यक्रम छ। शनिबार साँझ परराष्ट्रमन्त्री खड्काले  चिनियाँ समकक्षीको सम्मानमा रात्रिभोज आयोजना गर्नेछन्।

भ्रमणका क्रममा उनले पर्सि राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ। पर्सि नै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटेपछि वाङ आइतबार दिउँसो ३ बजे स्वदेश फर्कनेछन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.