'दर्ता भएजति सबै दल मिलेर आएपनि एमाले लड्छ र जित्छ'

|
फाइल फोटो

काठमाडौं : नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफूहरु सरकारबाट बाहिरिएपछि देश चरम आर्थिक संकटमा फसेको बताएका छन्। 

पार्टीको उद्योग व्यवसायी विशेष जिल्ला कमिटीको अधिवेशनमा बोल्दै अध्यक्ष ओलीले पूँजी पलायन हुँदा पनि सरकार गम्भीर नभएको बताए। 

‘हामी सरकारमा हुँदा पैसा पुग्छ। पुल, सडक, झोलुङ्गे पुल बनाउन पैसा पुग्छ। यत्रो धेरै पुनर्निर्माणको काम भए, पैसा पुग्छ।' ओलीले भने, 'हामीले सरकार छोड्यौँ जादु गरेजस्तो पैसै छैन। बैंकमा पनि पैसा छैन,  उद्योगी व्यवसायीसँग पनि पैसा छैन । यो खालको स्थिति कसरी बन्छ, छक्क लाग्दो छ। हामीले आयोजना थप्दै जाँदा भइराख्या थियो, अहिले थुप्रै योजना कटौती गर्दा पनि पैसा छैन।’

पूँजी पलायनका कारण खोज्ने सरकारले उदासिनता देखाएको उनको भनाइ छ। उनले पैसा भएर विकास नहुने भन्दै विकास गरेपछि पैसा ल्याउन पनि तर्क गरे।

चुनावी प्रसङ्गबारे बोल्दै अध्यक्ष ओलीले कांग्रेसले एमालेसँग एक्लै भिड्न आँट नगरेको बताए।

‘मलाई सन्तोष लागेको छ, एमालेसँग एक्लै भिड्ने आँट कसैले गरेको छैन’, ओलीले भने, ‘अरु त त्यस्तै हो नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा समेत केन्द्रमा बसेर हेर्दा एमालेका बलिया पाखुरा देखेर छक्क पर्नुभएको छ।’

देउवाले तालमेल गर्न हुन्न भन्ने नेताहरुलाई समेत एमालेसँग नसकिने भएकाले गठबन्धन गर्नुपर्ने बताएको ओलीको भनाइ थियो। उनले एमाले एक्लै चुनाव लड्न सक्षम रहेको भन्दै थपे, पाँच दल मात्रै होइन, दर्ता भएजति सबै एकमुष्ट भएर आए पनि एमाले लड्छ र जित्छ।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.