गरिबी र चेतनाको कमी मुख्य समस्या

|

हेटौंडा : मकवानपुरको कैलाश गाउँपालिका–४ का सुमन चेपाङ २ वर्षका भए। उनको तौल पनि २ केजी मात्रै छ।

सुमनको गाला ख्याउटे परेको छ। तिघ्राको मासु मुजा परेको छ भने पेट पुक्क परेर ठूलो देखिएको छ। २ वर्षकै उमेरमा उनको शरीरको छाला वृद्ध मानिसको जसरी चाउरिएको छ। उनको उमेर अनुसारको उचाइ पनि छैन।

मकवानपुरको विकट गाउँमा जन्मिएका उनलाई पोषणको कमीको कारण यस्तो समस्या देखिएको हो। स्वास्थ्यकर्मीहरुको अनुसार भन्नुपर्दा उनलाई कुपोषण भएको छ।

विकट गाउँको पनि पिछडिएको र गरिबीको मारमा पिल्सिएको चेपाङ समुदायमा जन्मिएका उनले सरकारले नि:शुल्क रुपमा वितरण गर्ने बालभिटासमेत खान पाएनन्।

बुवा आमाको चौथो सन्तानको रूपमा जन्मिएका उनको दाइ दिदीको अवस्था पनि राम्रो छैन। सरकारले जन्मेको ६ देखि २३ महिनासम्मका बालबालिकालाई नि:शुल्क वितरण गर्दै आएको बालभिटामा समेत उनीहरू कसैको पहुँच पुगेन।

बिहान बेलुकाको दुई छाक खानसमेत मुस्किल पर्ने उनीहरुले शरीरलाई आवश्यक पर्ने अन्य पोषण आफैँ खान सक्ने त कुरै भएन। उनको आमा फेरि अर्को सन्तान जन्माउने तयारीमा छिन्। सुमनको आमाको कोखमा यतिबेला ८ महिनाको बच्चा छ।

 सानै उमेरमा विवाह गर्ने चेपाङ समुदायमा धेरै बच्चा जन्माउने प्रचलन नै छ। त्यहाँका अधिकांश महिलाको बच्चा सुमनको आमाको जस्तै ४ भन्दा धेरै छन्।

बालबालिकालाई छैन पोषण

धेरै बच्चा जन्माउने गरेकाले त्यहाँका चेपाङ समुदायको बालबालिकाले आवश्यक पोषण खान पाउँदैनन्। जसले गर्दा अधिकांश बालबालिका यस्तै विभिन्न  रोगको शिकार बन्ने गरेका छन्।

त्यसमा पनि चेपाङ समुदायमा खाद्यान्नको सधैँ अभाव हुने गरेको छ। विशेषतः मकवानपुरको विकट राक्सिराङ र कैलाश गाउँपालिकामा चेपाङ समुदाय बसोबास गर्ने गर्छन्।

यहाँ बसोबास गर्ने चेपाङ समुदायलाई आफूले उत्पादन गरेको अन्नले मुस्किलले ४ महिनाको गुजारा चल्ने गर्दछ। त्यसपछिका बाँकी समय यहाँका चेपाङ समुदाय भोकमरी र अनिकालको भुमरीमा पिल्सिने गरेका छन्।

उनीहरूको अधिकांश छाक जंगलमा पाइने गिट्ठा भ्याकुर र कन्दमूलले टर्ने गर्छ। प्रत्येक वर्ष भोकमरीमा पिल्सिने चेपाङ समुदायले धेरै सन्तान जन्माउने गर्दा खाद्यान्नको झन् अभाव हुने गरेको छ।

जसले गर्दा त्यहाँका अधिकांश बालबालिकामा कुपोषणजस्तो रोग देखा पर्ने गरेको छ।

जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरको तथ्यांकलाई हेर्दा जिल्लामा कुपोषणको अवस्था डरलाग्दो देखिन्छ।

कार्यालयको अनुसार जिल्लामा जन्मेदेखि ११ महिनासम्मका एक सय ४७ जना र एक वर्षदेखि २३ महिनासम्मका ७६ जना बालबालिका कुपोषित रहेका छन्। यीमध्ये अधिकांश बालबालिका चेपाङ समुदायको नै रहेका छन्।

प्रदेशभर करिब २६ सय बालबालिका कुपोषित

प्रदेश स्वास्थ्य निर्देशनालयको अनुसार बागमती प्रदेशभरिमा दुई हजार पाँच सय ९५ बालबालिका कुपोषित छन्। निर्देशनालयका तथ्यांक अधिकृत इन्द्रमणि भण्डारीले प्रदेशको १३ वटा जिल्लाका दुईहजार हजार पाँच सय ९५ बालबालिका कुपोषणबाट ग्रसित रहेको बताए।

तीमध्ये ९५५ बालबालिका गम्भीर खालको कुपोषणको शिकार भएको जनाइएको छ। उनको अनुसार प्रदेशभरमा अन्य जिल्लाको तुलनामा ललितपुरमा कुपोषित हुने ११ महिनासम्मका बालबालिकाको संख्या सर्वाधिक छ।

ललितपुरमा सात सय ४ जना बालबालिका कुपोषणबाट ग्रस्त रहेको उनको भनाइ छ। भण्डारीले चितवनमा दुईसय सय ७ र धादिङमा एक सय ९७ बालबालिकालाई कुपोषण भएको बताए।

यसैगरी, कुपोषित हुने एक वर्षदेखि २३ महिनासम्मका बालबालिकाको संख्या धादिङमा दुई सय ७५ र चितवनमा दुई सय २० छ।

प्रदेशभरमा कुपोषित हुने बालबालिकाको संख्या सबैभन्दा कम रसुवामा रहेको छ। त्यहाँ ११ महिनासम्मका दुई जना र एक वर्षदेखि २३ महिनासम्मका ६ जना मात्रै कुपोषित रहेको प्रदेश स्वास्थ्य निर्देशनालय हेटौंडाले जनाएको छ।

गरिबी र चेतनाको कमी मुख्‍य समस्या

खाद्य असुरक्षा, गरिबी र चेतनास्तर कमजोर भएका गाउँबस्तीका अधिकांश बालबालिकाहरू कुपोषणले ग्रसित भेटिएको भण्डारीको भनाइ छ।

कुपोषणबाट बालबालिकालाई मुक्त गर्नका लागि निर्देशनालय, स्वास्थ्य कार्यालयलगायतले विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको भए पनि खासै उपलब्धिमूलक भएको छैन।

बालबालिकालाई कुपोषण हुनै नदिन सरकारले स्थानीय तहबाटै बालभिटा वितरण गरिरहेको छ। तर, कतिपय अभिभावकलाई यसबारे जानकारी नै छैन।

कतिपयले लगेर पनि पनि खुवाउँदैनन्। बालबालिकाले खान नरुचाउने गरेको भन्दै अभिभावकले पनि बालभिटा खुवाउन चासो नदिने गरेका छन्। कैलाश गाउँपालिकाको कार्यवाहक अध्यक्ष सुकुमाया थिङ गाउँपालिकामा बालभिटा खाने बालबालिकाको संख्या अत्यन्त कम भएको बताउँछिन्।

सधैँ खानाको अभावमा रहने कैलाशका बालबालिकाले बालभिटा पनि नखाँदा कुपोषण रोगले ग्रस्त बनाएको उनको भनाइ छ। उनले सरकारले उपलब्ध गराएको बालभिटा खपत नहुँदा कतिपय अवस्थामा नष्टसमेत गर्नुपरेको सुनाइन्।

अभियानमा अभिभावकको बेवास्ता

जन्मेको ६ महिनादेखि दुई वर्षमुनिका बालबालिकालाई कुपोषण र श्वासप्रश्वासको समस्याबाट बचाउन, स्वास्थ्यलाई फुर्तिलो बनाउन बालभिटा खुवाउने गरिन्छ।

पोषण तथा एकीकृत बालरोग व्यवस्थापन अन्तर्गतको बालभिटा कार्यक्रमअनुसार प्रत्येक स्थानीय तहले बालभिटा निःशुल्क रूपमा उपलब्ध गराउँछन्। बच्चा जन्मेको ६ महिनादेखि ११ महिनासम्म, १२ महिनादेखि १७ महिनासम्म र १८ महिनादेखि २३ महिनासम्मलाई हुने गरी स्थानीय तहले ३ पटक बालभिटा वितरण गर्ने गरेको छ।

तर, मकवापुरका स्थानीय तहहरूको तथ्यांकअनुसार पहिलोपटक बालभिटा लैजाने अभिभावकको तुलनामा दोस्रो र तेस्रोपटक लिन आउनेको संख्या निकै कम छ। बागमती प्रदेशको अन्य जिल्लालाई हेर्ने हो भने पनि अवस्था उस्तै देखिन्छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.