'दलहरूको क्रमसंख्या फेरियो, आँकलन उल्टिन सक्छ'

|

विराटनगर : स्थानीय तह निर्वाचनको मिति नजिकिँदै गर्दा यतिबेला देशैभरको राननीति माहोल तातिन थालेको छ।

दलहरूले निर्वाचन केन्द्रित गतिविधिलाई तीव्रता दिन थालेका छन्। भने उम्मेद्वारको आकांक्षीदेखि विभिन्न दलका नेताहरु आफ्नो निर्वाचन क्षेत्र पुग्न थालेका छन्।

स्थानीय तहको चुनावी परिणाम आफ्नो पकडमा बनाउन नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी),  जनता समाजवादी पार्टी लगायतका दलका नेता तथा कार्यकर्ता यतिबेला निर्वाचन लक्षित कार्यक्रम लिएर गाँउबस्ती पुग्न थालेका छन्।

प्रदेश १ को एक्लो महानगरसँगै राजधानीसमेत रहेको विराटनगर महानगरपालिकामा पनि चुनावी माहोलको सरगर्मीले  छोएको छ।

कांग्रेसको विरासत

निर्वाचन मिति नजिकिँदै गर्दा अब महानगरको नेतृत्व कसले हात पार्ने हो  भन्ने  बहसको विषय बन्न थालेको छ। मजदुर आन्दोलनदेखि नेपाली कांग्रेसको आन्दोलनको जग बसाएको विराटनगर महानगरपालिकामा  कांग्रेसको नेतृत्वको विरासत भत्किने हो या  रहने भन्ने विषय पार्टीभित्र मात्रै नभएर प्रदेशवासीमा नै चासोको विषय बनेको छ।

२०७४ सालमा कांग्रेसले नै नेतृत्वको विरासत थामेको आमागी निर्वाचनमा  त्यो विरासत भत्किन नदिन कांग्रेसभित्रसमेत दुई धार भएको बेला विराटनगरमा कोइराला पक्ष र देउवा पक्षको समेत चासो बढेको छ।

कोइराला समूहको भागमा रहेको २०७४ सालको टिकट अहिलेका मेयर भीम पराजुलीले लिएका थिए। तर, १४औँ महाधिवेशनमा भने पराजुलीले कांग्रेसभित्र आफ्नो गुट परिवर्तन गरेर देउवा समूहबाट पराजुली  नेपाली कांग्रेसको केन्द्रीय सदस्य बनेका थिए।

आफू उभिएको कित्ता  परिवर्तन गरेसँगै पार्टी सत्तानिकट रहेका पराजुली पुनः मेयरमा दोहोरिने इच्छा देखाएका छन्। कांग्रेसभित्र पराजुली मात्र एक्ला मेयरका आकांक्षी भने होइनन्। मोरङ कांग्रेसका उपसभापति समेत रहेका नागेस कोइरालासमेत मेयरका आकांक्षी रहेका छन्। उनी कोइराला  परिवारनिकट रहेकाले  टिकट पाउन सक्ने सम्भावना देखिन्छ।

उपप्रमुख पनि दाबेदार

मेयरको अर्का  दाबेदारमध्ये एक हुन् अहिले कि उपप्रमुख इन्दिरा कार्की। उपप्रमुखहरूले देशभर नै प्रमुखको दाबेदारी गरिरहेको अवस्थामा कार्कीले समेत दाबेदारी गरिरहेका छन्। महिलाले समेत पालिका हाँक्न सक्ने बताउँदै कार्कीले समेत आफ्नो दाबी रहने बताउँदै आएकी छिन्।

यसैगरी विराटनगर उपमहानगरपालिका हुँदाका कार्यकारी अधिकृत समेत रहेका गोपाल रेग्मीको पनि  कांग्रेसबाट मेयरको चर्चा छ। अवकाश प्राप्त कर्मचारी भएकाले राजनीतिक नेतृत्व लिएर विराटनगर महानगरपालिका चलाउने इच्छा रहेको उनले  आफ्नो धारणासमेत व्यक्त गरेका छन्।

एमालेबाट पूर्वमन्त्रीको समेत चर्चा

पछिल्लो समय मेयरको आकांक्षीमा पूर्व सामाजिक विकासमन्त्री जीवन घिमिरेको समेत चर्चा चुलिएको छ। तर, उनले मेयरमा आफ्नो दाबी नरहेको बताएका छन्। प्रदेशसभाको सदस्य बहाल रहेकाले आफूले मेयरमा इच्छा जाहेर नरहेको  धारणा व्यक्त गरेका छन्।

स्थानीय तहको निर्वाचनमा जाने सोच नबनाएको बताउँदै उनले आफूले पनि बजारमा चर्चामा आएको सुनेको बताउँछन्।

२०७४ सालको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेले विनोद ढकाललाई उम्मेदवार बनाएको थियो। हालका मेयर भीम पराजुलीका निकट प्रतिस्पर्धीमा ढकाल थिए। योपटक भने ढकालले महानगरको मेयरमा त्यत्रो बिघ्न इच्छा भन्ने नदेखाएको एमाले स्रोत बताउँछ। उनको विकल्पमा एमालेका नगर अध्यक्ष सागर थापाको नाम चर्चामा छ।

अन्य दलमा कसको चर्चा?

उपेन्द्र यादवको गृह नगरले  चिनिने विराटनगरमा जसपाको  पकड राम्रै देखिछ। शक्तिको रूपमा राम्रै  रहेको जसपाले यो पटकको  स्थानीय निर्वाचनमा कसलाई उम्मेदवार बनाउँछ भन्ने विषय चासोमा परेको  छ।

त्यस्तै, मेयरका लागि जसपाबाट हालका प्रदेश स्वास्थ्यमन्त्री जयराम यादवको समेत चर्चा छ।

मेयर पदका लागि मन्त्री यादवले समेत इच्छा देखाएको उनी निकटका एक नेताले बताए।

मन्त्री यादवसँगै उपेन्द्र यादवका छोरा अमरेन्द्र यादव पनि मेयरका रूपमा चर्चामा देखिन्छन्।

नेकपा एकीकृत समाजवादीले भने अहिलेसम्म कसलाई उम्मेदवार बनाउने भन्ने यकिन गरी नसकेको भए पनि विराटनगरका पुराना नेता महेश रेग्मीले मेयरको लागि तयारी थालेको उनी निकटका नेताहरू बताउँछन्।

नेकपा माओवादी केन्द्रबाट मेयरको उम्मेदवारमा नमिना न्यौपाने र भोगेन्द्र यादवको नाम चर्चामा छ। न्यौपाने यसअघि उपमेयरमा पराजित भएकी हुन्। यादवले उम्मेदवारी दर्ता गराए पनि पछि फिर्ता लिएका थिए।

दलहरूको क्रमसंख्या फेरियो

२०७४ सालको स्थानीय तहको निर्वाचनमा विराटनगर महानगरपालिकामा १ लाख १४ हजार ५४२ मतदाता थिए। पछिल्लो संविधान जारी भएपछि भएको पहिलो २०७४ को निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार भीम पराजुली विराटनगर महानगरपालिकाको मेयर बनेका थिए।

उनले २३ हजार ३१ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी एमालेका विनोद ढकालले १७ हजार ३२१ मत प्राप्त गरेका थिए। ढकालपछि तत्कालीन सङ्घीय समाजवादी फोरम नेपालका उम्मेदवार उमेशकुमार यादवले १४ हजार ९५८ मत ल्याएका थिए।

तत्कालीन निर्वाचनमा कांग्रेस, एमाले र फोरम क्रमशः पहिलो दोस्रो र तेस्रो पार्टी थिए। तत्कालीन अवस्थामा प्रतिस्पर्धामा रहेका  तीनैवटा राजनीतिक दलहरूको क्रमसंख्या भने अहिले फेरिएको छ।

एमाले २०७४ सालको निर्वाचनमा सग्लो पार्टी थियो जहाँ केपी ओलीको नेतृत्वको एमालेमा माधव नेपाल र झलनाथ खनालहरू थिए। तर, अहिले पार्टीभित्रको आन्तरिक द्वनद्वका कारण विभाजन भएसँगै  माधव नेपाल र झलनाथ खनालहरुको छुट्टै पार्टी छ।

यता, फोरम भने पार्टीभित्र टुटफुट भए पनि पहिल्यैको जस्तो राजनीतिक श्रेणीमा देखिन्छन्। २०७४ सालको निर्वाचन ताका अशोक राई र उपेन्द्र यादवले सङ्घीय समाजवादीको नेतृत्व गरेका थिए। भने हाल जसपामा भने बाबुराम भट्टराईको समेत इन्ट्री भएको छ। तर, बाबुरामले नेतृत्व गरेको तत्कालीन नयाँ शक्ति नेपालको उपस्थिति भने विराटनगरमा खासै देखिएको छैन।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.