|
फाइल तस्वीर

बैतडी : आगामी वैशाखमा हुने स्थानीय तहको निर्वाचनका लागि बैतडीसहित सुदूरपश्चिम प्रदेशका सबै जिल्लाका लागि मुख्य निर्वाचन अधिकृत तोकिएका छन्। यही चैत २९ देखि लागू हुने गरी निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरू नियुक्त गरेको जिल्ला निर्वाचन कार्यालय बैतडीका प्रमुख माधव फुँयालले जानकारी दिए।

आयोगका अनुसार बैतडीमा तिलकबहादुर कार्की, दार्चुलामा कोमलप्रसाद आचार्य, डडेल्धुरामा हरिप्रसाद शर्मा, बझाङमा विष्णुप्रसाद अवस्थी, डोटीमा विदुर काफ्ले, बाजुरामा माधवप्रसाद घिमिरे र अछाममा नवीनकुमार जोशी मुख्य निर्वाचन अधिकृत तोकिएका छन्। कैलालीमा जयानन्द पनेरु र कञ्चनपुरमा मदनबहादुर धामीलाई मुख्य निर्वाचन अधिकृत तोकिएको छ।

आगामी २०७९ वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ७ बमोजिम राजपत्राङ्कित द्वितीय श्रेणीका अधिकृत स्तरका कर्मचारीलाई मिति २०७८ चैत २९ देखि लागू हुने गरी निर्वाचन अधिकृत नियुक्त गरिएको आयोगले जनाएको छ। निर्वाचन सञ्चालन र व्यवस्थापन गर्ने मुख्य जिम्मेवारी निर्वाचन अधिकृतको हुनेछ।

निर्वाचन कार्यक्रमअनुरुप उम्मेदवारको मनोनयन दर्ता, मनोनयन उपर उजुरी लिने, उजुरीउपर छानबिन गर्ने, उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने, निर्वाचन चिह्न दिने, आचारसंहिताको पालना गराउने, मतदानका लागि कर्मचारी खटाउने, मतदान र मतगणना गराउने, आफ्नो क्षेत्रको निर्वाचन विवाद निरुपण गर्ने तथा निर्वाचन परिणाम प्रकाशन गरी आयोगमा प्रतिवेदन बुझाउने निर्वाचन अधिकृतको मुख्य जिम्मेवारी रहेको छ।

यसैबीच जिल्लाका स्थानीय तहका लागि पनि निर्वाचन अधिकृत तोकिएका छन्। डिलाशैनी गाउँपालिकामा भाषा आयोगका उपसचिव लोकबहादुर लोप्चनलाई निर्वाचन अधिकृतमा नियुक्त गरिएको छ भने दोगडाकेदार गाउँपालिकामा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका उपसचिव मानबहादुर घिमिरेलाई नियुक्त गरिएको छ।

पुर्चौंडी नगरपालिकामा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका उपसचिव डिल्लीराम अधिकारीलाई निर्वाचन अधिकृतमा नियुक्त गरिएको छ भने मेलौली नगरपालिकामा जिल्ला अदालत बैतडीका स्रेस्तेदार जनकसिंह बोहरालाई नियुक्त गरिएको छ।

बैतडीका १० वटै स्थानीय तहमा गरेर १ सय २९ मतदानस्थल तोकिएका छन्। १५ दल सहभागी हुने स्थानीय तहको निर्वाचनमा करिब १ लाख ५० हजार मतदाताले मतदान गर्नेछन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.